भरतपुर, २६ मंसिर ।
पछिल्ला वर्षहरूमा आमाको दूधलाई प्रतिस्थापन गर्ने खालका खाद्यवस्तु (बालसूत्र)को उपभोगको दर बढ्दै जान थालेको देखिएको छ । शिशुको वृद्धि तथा विकासका लागि आमाको दूध नै सर्वाेत्तम हुने भएपनि शहरी क्षेत्रमा बच्चाहरूलाई पाउडर दूध लगायतका खाद्यवस्तु खुवाउने बानी सामान्य जस्तै हुन थालेको हो । अभिभावकहरूमा आफ्ना बालबच्चालाई बोतलबाट पाउडर दूध खुवाउने प्रवृत्ति बढिरहँदा स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने शिशुको वृद्धि र विकासलाई लिएर चिन्ता व्यक्त गर्न थालेका हुन् ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) ऐन, २०४९ ले उत्पादक तथा वितरकले त्यस्ता उत्पादित वस्तुको कुनै पनि माध्यमबाट विज्ञापन एवं प्रवद्र्धन गर्न नहुने व्यवस्था गरेको छ । दूधदानी र मुन्टो बाहेक अन्य उत्पादनको भाँडोमा त्यसको बनावट, सञ्चय गर्दा पालना गर्नुपर्ने शर्त, ब्याच संख्या, उत्पादन मिति, जस्ता जानकारी उल्लेख गरिएको लेबल अनिवार्य रूपमा टाँसेको हुनुपर्ने प्रावधान पनि ऐनमा रहेको छ । उत्पादित वस्तुको लेबलसँगै आमाको दूध नै बच्चाका लागि सर्वाेत्तम हो भन्ने सन्देश छापिएको हुनुपर्ने पनि ऐनले प्रष्ट पारेको छ । पाउडर दूध शिशिबाट नभई कचौरा र चम्चाबाट खुवाउँदा सुरक्षित हुन्छ भन्ने कुरा पनि वस्तुको प्याकेजिङमा उल्लेख गरिएको हुनुपर्ने व्यवस्था ऐनले गरेको छ ।
यस्तै स्वास्थ्य हेरचाह गर्ने निकाय (अस्पताल, बालगृह लगायत संस्था) तथा स्वास्थ्य कार्यकर्ताले स्तनपानको प्रारम्भ वा विस्तारलाई रोक्ने, कसैलाई उत्पादनको नमूना दिने तथा उत्पादित वस्तुको प्रवद्र्धन गर्ने खालका कार्य नहुने पनि ऐनमा स्पष्ट पारिएको छ । ऐनमा उल्लेख गरिएका प्रावधानको विपरीत कार्य गर्ने उत्पादक, वितरक, स्वास्थ्य कार्यकर्ता वा अन्य कुनै व्यक्तिलाई कसूरको प्रकृति हेरी जरीवाना, कैद वा दुवै माथि यद्यपि ऐनको कार्यान्यवन पक्ष फितलो हुँदा अस्पतालहरू जस्तो जिम्मेवार निकायहरूमा समेत आमाको दूधलाई प्रतिस्थापन गर्ने खालका वस्तुको उपभोगलाई रोक्न सकिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०११ मा गरेको राष्ट्रिय जनसांख्यिकीय स्वास्थ्य सर्वेक्षण अनुसार त्यस बेला देशभर एक महिनाभन्दा कम उमेरका शिशुका संख्याको ०.८ प्रतिशतलाई फर्मुला दूध खुवाइएको थियो । ६ देखि ८ महिनाका शिशुको २.३ प्रतिशत जनसंख्यालाई पाउडर दूध खुवाइने गरेको तथ्य उक्त सर्वेक्षणले देखाएको थियो । सन् २०१६ मा मध्य नेपालको सन्दर्भमा गरिएको सोही खालको सर्वेक्षणले भने एक महिनाभन्दा कम उमेर समूहका शिशुको १.७ प्रतिशतलाई फर्मुला दूध खुवाइने गरेको जनाएको छ । सर्वेक्षणका अनुसार ६ देखि ८ महिना उमेर समूहका शिशुहरूको करिब १३.७ प्रतिशतलाई फर्मुला दूध खुवाइने गरेको छ । यो तथ्यले पनि शिशुहरूमा फर्मुला दूधको उपभोग बढ्दै गएको देखाएको छ ।
भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्ष (२०७८/७९) को पहिलो चार महिनामा मात्रै आयात गरिएका त्यस्ता खाद्यवस्तुको परिमाण २ लाख ४० हजार ११५ किलोग्राम रहेको छ । कोरोना महामारीको पहिलो लहर चलिरहँदा ताका अन्तर्राष्ट्रिय नाका बन्द गरिएका थिए । त्यसको प्रभावले पनि आर्थिक वर्ष २०७६/७६ मा फर्मुला दूधको आयातमा केही कमी आएको देखिएको छ । उक्त आ.व.मा ३३ हजार ८ सय ३८ किलोग्राम फर्मुला दूध आयात भएको तथ्याङ्क भन्सार विभागसँग छ । महामारीको अवस्था सामान्यतर्फ फर्किएसँगै गत आर्थिक वर्षमा फर्मुला दूधको आयात एकै पटक करिब २२०० प्रतिशतभन्दा बढी दरले बढेको देखिन आएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै ७ लाख ९८ हजार ९९८ किलोग्राम बालसूत्र आयात भएको छ ।
“शिशुका लागि आमाको दूध जस्तो राम्रो खाने कुरा अरु हुन सक्दैन । कानूनमा पनि स्तनपानलाई नै प्रवर्द्धन गर्ने कुरा लेखिएको छ”, जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए, “तर ऐनको पालना हुन भने सकेको छैन ।” कतिपय अवस्थामा सुत्केरी आमाको स्वास्थ्य अवस्थाका कारण पनि स्तनपान सुरु नगरी पाउडरको दूध खुवाउने बाध्यता आउने गरेको उनले सुनाए । “बच्चालाई आमाको पेटबाट शल्यक्रिया गरी निकालिएको अवस्थामा लगत्तै दूध चुसाउन अफ्ठेरो हुने हुँदा पनि पाउडर दूधको भर पर्नुपरेको छ”, तिवारी थप्छन्, “आधुनिक जीवनशैली तथा खानपानका कारण सुत्केरी हुँदा आमाहरूलाई कठिनाइँ हुने गरेको छ । परिवारमा स्तनपान गराइरहेकी अर्की महिला भए नवजात शिशुलाई दूध पुग्न सक्ला । नत्र पाउडर दूध पिलाउनु नै बाध्यता हुन्छ ।”
भरतपुर अस्पतालका प्रवक्ता डा. युवानिधि बसौला पाउडर दूधको उपभोग गर्नेको जमात बढेको स्वीकार्छन् । “नियमअनुसार हेर्ने हो भने मातृ–शिशुमैत्री घोषणा गरिएका अस्पतालहरूमा शिशुलाई पाउडर दूध पिलाउनै पाइँदैन । तर कानूनको प्रभावकारी पालना देखिँदैन”, डा. बसौलाले बताए ।
शिशुलाई छ महिनासम्म आमाको दूध बाहेक अरु केही पनि खुवाउन नपर्ने हुन्छ । तर उक्त अवधिसम्म स्तनपान मात्रै गराउने आमाहरूको संख्या बिस्तारै घट्दै जाने गरेको उनले बताए । “जिल्लामा स्तनपानको पछिल्लो दर हेर्दा हरेक १०० जना शिशुमा ५५–६० जनाले छ महिनासम्म आमाकै दूध पिउन पाएको देखिन्छ । बाँकीका हकमा भने छ महिनाअघि नै आमाको दूध छुटाउने अथवा पाउडर दूध/पूरक खाने कुरा खुवाइने गरेको देखिएको छ”, उनले भने ।
शिशु जन्मिएको पहिलो घण्टामै आमाको दूध चुसाउनुपर्ने हुन्छ । तर जटिल तथा असामान्य रूपमा जन्मिएको बच्चालाई सीधै आमाको दूध चुसाउन समस्या रहेको डा. बसौलाले बताए । “कतिपय अवस्थामा आमाको पेटको शल्यक्रिया गरी बच्चा निकालिएको हुन्छ । बच्चा वा आमालाई सघन उपचार कक्षमा राखिएको बेला स्तनपान गराउन त्यति सम्भव पनि देखिँदैन”, उनले अगाडि थपे, ”त्यस्तो बेलामा बच्चालाई आमाको दूध चुसाउन कम्तीमा ४ घण्टा लाग्न सक्छ ।”
स्तनपानका फाइदा हुँदाहुँदै पनि पाउडर दूधको प्रयोग बढ्नुले एकातिर परिवारको आर्थिक भार बढाइदिएको छ भने अर्काेतिर बच्चाको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परिरहेको छ । “पाउडर दूध जस्ता खानेकुराले बच्चाको भोक मेट्न मद्दत गरेपनि तिनले रोगप्रतिरोधी क्षमता बढाउने काम भने गर्दैनन् । त्यसले गर्दा बच्चा पटकपटक बिरामी पर्ने वा कुपोषित हुने जोखिम बढेर जान्छ”, डा. बसौलाले थपे, “फेरि पाउडर दूध पचाउन समस्या हुने हुँदा बच्चालाई पखालाको समस्या पनि देखिन सक्छ । पाउडर दूधमा मिसाइने पानीमा संक्रमण भएमा पनि बच्चाको पाचन क्रियामा नकारात्मक असर पर्छ ।” स्तनपानले पाठेघर तथा स्तनमा हुने क्यान्सरको रोकथाम गर्न पनि मद्दत पुग्ने डा. बसौलाले बताए । “स्तनपान गराउँदा सुन्दरता बिग्रिन्छ भन्ने भ्रम पनि छ । त्यस्ता भ्रममा विश्वास गर्नु हुँदैन । स्तनपान बच्चा र आमा दुवैका लागि फाइदाकर छ”, उनले भने ।
बिक्री वितरणको अनुगमन गर्नेछौं : मन्त्रालय
फर्मुला दूधको उपभोप बढ्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई त्यस्ता वस्तुको बिक्री तथा वितरणलाई नियमन गर्न नसकेको आरोप लाग्ने गरेको छ । “स्तनपानको दर घटिरहँदा चिन्तामा छौं । स्तनपान प्रवद्र्धनका लागि अस्पतालहरूलाई मातृशिशु मैत्री अस्पताल बनाइ अघि बढ्ने तयारी गरेका छौं”, शिशुलक्षित पोषण कार्यक्रमका प्रमुख केदार पराजुलीले भने । उनका अनुसार हाल देशभर विभिन्न १५ अस्पताललाई मातृशिशु मैत्री अस्पताल घोषणा गरिएको छ ।
ती अस्पतालहरूमा जन्मिएका बच्चाहरूलाई फर्मुला दूध खुवाउन मनाही गरिएको छ । मातृशिशु मैत्री अस्पतालमा शिशुुको वृद्धि र विकासलाई नजिकबाट नियालेर पोषणका बारेमा सल्लाह सुझाव दिइने गरेको पराजुलीले बताए । “बच्चाको उचाइ र तौल नापेर अनुपात मिलेको छ/छैन त्यो विषय हेरिन्छ । सोही अनुसार बच्चालाई केके कुरा खुवाउने परामर्श दिने गरिन्छ”, उनले भने । निकट भविष्यमा भरतपुर अस्पताललाई पनि मातृशिशु मैत्री अस्पतालमा रूपान्तरण गर्ने तयारी रहेको उनको भनाइ थियो । हाललाई भने देशभरका स्थानीय तहहरूमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐनको कार्यान्वयनमा जोड दिइने उनले बताए । “पाउडर दूधको बिक्री वितरण नियमानुसार नै भइरहेको छ कि छैन भन्ने अनुगमन गर्न जरुरी देखिएको छ । त्यसले पाउडर दूधको थप उपभोग गर्ने कार्यलाई निरुत्साहित गर्नेछ”, उनले भने ।