पूर्वी नेपालको एक परिचित धार्मिक पर्यटकीय क्षेत्र हो पाथीभरा । नेपालकै दोस्रो र विश्वकै तेस्रो अग्लो हिमश्रृंखला कञ्चनजंघाको काखमा रहेको सुन्दर पाथीभरा क्षेत्रको चुचुरोमा पाथीभरा मन्दिर छ । मनले चिताएको पूरा गरिदिने विश्वास गरिने यो मन्दिर पुग्न सजिलो छैन ।
समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिर पुग्न पहिले झापा पुग्नुपर्छ । चारआलीबाट मेची राजमार्ग समातेर जिप चढी इलाम, पाँचथर हुँदै ताप्लेजुङको फुङलिङ पुग्नुपर्छ । उच्च पहाडी राजमार्ग साँघुरो र घुमाउरो छ । चारआलीबाट २७० किलोमिटर दूरीलाई जिपले छिटोमा पनि ८ घण्टा लगाउँछ । फुङलिङबाट अझै पहाडतिर लागेपछि ९ किलोमिटरमा सुकेटार विमानस्थल आउँछ । त्यहाँसम्म पीचबाटो नै छ । तर, विमानस्थल कटेपछि कच्ची बाटो आउँछ । त्यसपछि १३ किलोमिटर अप्ठ्यारो कच्ची सडक पार गरेपछि आउने काफ्लेपाटी नै गाडी पुग्ने अन्तिम बिन्दु हो ।
त्यसपछि ढुंगा छापिएको ठाडै उकालो बाटो सुरु हुन्छ । त्यहाँबाट मन्दिरको दूरी उति लामो त छैन । तर, जसै उचाइ बढ्दै जान्छ, पैदलयात्रुको सास फुल्छ । उचाइको समस्याले गर्दा हावामा अक्सिजन कम हुन्छ । सास फेर्न गाह्रो हुन्छ । सास फेर्न गाह्रो भएपछि पाइला चाल्न अप्ठ्यारो हुन्छ ।
काफ्लेपाटीलाई सानो फेदी पनि भनिन्छ । पैदलयात्राका लागि त्यसलाई पहिलो आधार शिविर मान्दा हुन्छ । त्यसपछिको दुई किलोमिटरमा गुराँसे डाँडा हुँदै ठूलो फेदी पुगिन्छ । यसलाई दोस्रो र मुख्य आधार शिविर भन्दिए हुन्छ । किनकि, योभन्दा माथि बस्ने, खाने ठाउँ छैन । बस्ने खाने ठाउँ मात्रै होइन, मन्दिर पुग्दासम्म पानी पनि पाइँदैन । त्यही भएरै ठूलो फेदीको अन्तिम होटलको आँगनतिर मन्दिर व्यवस्थापनले नै ठूलो बोर्डमा लेखेको छ–‘योभन्दा माथि पानी पाइँदैन, कृपयाँ यहाँबाटै बोकेर जानुहोला ।’
पानी नै नपाउने ठाउँमा मान्छे कसरी हिँड्ने होला ? यसै त उकालो बाटो, अझै ढुंगा छापेको सिँढी ! मान्छे धेरै नै गल्छन् । बिहान उज्यालो नहुँदै उकालो लाग्ने तीर्थालुलाई सघाउन त्यहाँ क्रियाशील छ–‘लोकल ट्याक्सी’ ।
हालै हामी त्यहाँ पुगेका थियौँ । गुराँसे डाँडाको अभिषेक होटलबाट बिहानै साढे ३ बजे हामीले यात्रा सुरु ग¥यौँ । ५/७ मिनेट हिँडेपछि नै हाम्रो सास फुल्न थाल्यो । अँध्यारोमै स¥याकसुरुक गर्दै हातमा नाम्लो जस्तै कपडाको फित्ता बोकका युवाहरू देखिए । भने–‘लौ है लोकल ट्याक्सी आयो ।’
‘के हो यो भनेको ?’, मैले सोधेँ ।
‘हामी मान्छे बोक्न आएको, यसैलाई यहाँ लोकल ट्याक्सी भनिन्छ’, एउटाले भने, ‘तपाईंहरूलाई गाह्रो परेको छ भने भन्नुस् ।’
हामीले पर्दैन भन्यौँ ।
पर्दैन त भन्यौँ । तर, हाम्रो पिछा छोडेनन् । अलि माथिसम्मै सँगै हिँडे । जसै उकालो लाग्ने मान्छेहरू बढ्न थाले, नाम्लो जस्तो फित्ता बोक्नेहरू पनि बढ्दै गए । तिनीहरूले काठमाडौँमा ट्याक्सीचालकले लगाउनेजस्तै पहेँलो ज्याकेट लगाएका थिए । ज्याकेटको रङचाहिँ पछि उज्यालो भएपछि थाहा पाएको । ज्याकेटमा ‘तीर्थयात्री सहयोगी’ लेखिएको रहेछ ।
अझै केहीबेर हामी उनीहरूको बुइ चढ्न नमानेपछि तिनीहरू हराए । सायद अरू कसैको पिछा गर्न गए ।
केहीबेरपछि बुइमा एकजना महिला बोकेका युवा हाम्रो पछाडि आइपुगे । मलाई अनौठो लाग्यो । त्यस्तै ज्याकेट लगाएका मान्छेले, उस्तै फित्तामा ती महिला बोकेका थिए । मलाई गफ गर्न मन लाग्यो ।
‘अहो ! गाह्रो भएको होला है ?’, मैले सोधेँ ।
‘गाह्रो त छ । तर, ठीकै छ’, बोक्ने युवाले भने ।
यसरी मान्छे बोकेको बदलामा उनीहरूले पैसा लिँदा रहेछन्, किलोको हिसाबले । काफ्लेपाटीबाट मन्दिर पु¥याएको किलोको एक सय । फर्काएको पनि उस्तै दरमा । अर्थात ५० किलोको मान्छे बोकेर लगे ५ हजार र फर्काएको पनि ५ हजार नै ।
गफ गर्दै जाँदा थाहा भयो, ती महिला ५५ किलो थिइन् । उनको कबुल थियो ५ हजार ५ सय रुपैयाँको । हामी सामान्य झोला बोकेर हिँड्न नसकेको बेला ती युवा ५५ किलो भारी बोकेर पनि फटाफट हिँडिरहेका थिए ।
ती युवा थिए– विपन बुढाथोकी । उमेर ३० वर्ष । २ वर्षदेखि मान्छे बोक्दै छन् विपन ।
‘कमाइ त निकै राम्रो हुँदो रहेछ है ?’, मैले सोधेँ ।
‘दुःख पनि बेसरी छ नि सर ।’
दुःख नहुने त कामै के छ र ?’, उनले भने ।
विपन साउदी अरब गएका रहेछन् । बिदामा घर फिरेको त्यही बेला कोरोना महामारी सुरु भयो । विदेर फिर्न सकेनन् । ३ वर्ष पुगेको छोरो र श्रीमती पाल्नुपर्ने दायित्व थियो । काम गर्नै प¥यो । त्यसैबेला पाथीभरा पुग्नेहरूलाई बोक्न पाइन्छ रे, कमाइ राम्रो हुन्छ रे भन्ने थाहा पाए । अनि गइवरी बुझे ।
मान्छे बोक्न अनुमति लिनुपर्ने रहेछ । पाथीभरा क्षेत्र विकास समितिले लाइसेन्स दिँदो रहेछ ।
अनौठो लाग्यो, मान्छे बोक्नलाई पनि लाइसेन्स ? उनले भने–‘हो लाइसेन्स लिनै पर्छ ।’
‘अनि कसरी पाइन्छ लाइसेन्स ?’
‘मुख्यकुरा बलियो हुनुप¥यो’, उनले भने, ‘इमानदार हुनुप¥यो, यात्रुको जिम्मेवारी लिनुप¥यो ।’
इमानदार र जिम्मेवार कसरी थाहा पाउने ? त्यसको छनोट क्षेत्र विकास समितिले गर्छ । स्थानीय हुनुप¥यो । हेर्दा बलिष्ठ हुनुप¥यो । इमानबारे कोही न कोही जानकार हुनुप¥यो ।
विपनले लाइसेन्स लिए । क्षेत्र विकास समितिलाई नागरिकता बुझाए । यात्रुलाई सजिलो गरी मन्दिर पु¥याउँछु भनी कबुल गरे । अनि बोक्न थाले मान्छे ।
विपनले १२० किलोको मान्छे पनि बोके रे । एक्लैले चाहिँ होइन । ‘४ जना मिलेर बोकेको’, उनले भने, ‘साह्रै न गाह्रो गरेर लग्यौँ ।’ त्यति ठूलो मान्छे बोक्दा १२ हजार आएको थियो । ४ जनाले ३–३ हजार बाँडे ।
‘एक खेपमै यति धेरै पैसा आउँदो रहेछ है ?’, मैले सोधेँ–‘मासिक कमाइ त धेरै हुने रहेछ नि !’
उनले भने–‘हिसाबमा धेरै देखिन्छ सर, सधैँ मान्छे पाइँदैन नि ! कहिले काहिँ त रित्तै फर्किनुपर्छ ।’
विपन बिहान ३ बजेतिर उठ्छन् । अब यात्रु हिँड्न थाले भनेपछि बाटोमा आइपुग्छन् । यस्सो विचार गर्छन् । मान्छे बुझ्छन् । गाह्रो भएको छ कि अनुमान गर्छन् । फटाफट हिँडेकाको पछि लाग्दै लाग्दैनन् । जो खुइय ! गर्दैछ, उसैलाई पछ्याउँछन् । जिस्काउँछन्–‘ल लोकल ट्याक्सी आयो है, चढ्नुहोस् ।’ सुरुमै चढ्न मान्दैनन् । अति गाह्रो भएपछि मात्रै सहमत हुन्छन् ।
‘कहिले त तल्लो फेदीबाट पछि लाग्दा लाग्दै मन्दिर पुगिन्छ, तैपनि बुइ चढ्न मान्दैनन्’, उनले भने–‘अनि रित्तै घर फर्किनुपर्छ ।’ त्यस्तो बेला साह्रै नमज्जा लाग्छ विपनलाई । ‘यो पनि व्यवसाय जस्तै हो’, उनले भने–‘मान्छे पछ्यायो, चढ्न माने बोक्यो, नमाने चुपचाप फर्कियो ।’
मान्छे बोक्न सजिलो छैन । ठाडै उकालो, ढुंगाको सिँढी चढ्न रित्तै पनि गाह्रो छ । मान्छे बोकेर जतनले हिँड्न सजिलो हुने कुरै भएन । ‘खुट्टा दुखेर रातभर सुत्न गाह्रो हुन्छ’, उनले भने–‘एकदिन बोकेपछि अर्को दिन आराम गर्नुपर्छ ।’
पाथीभरा क्षेत्रमा करिब ५ सय जनाले लोकल ट्याक्सी चलाउने लाइसेन्स लिएका छन् । तर, सबै क्रियाशील छैनन् । अलि दिन बोक्छन् । त्यसपछि गाह्रो लाग्छ । कोही विदेश जान्छन्, कोही अरू काममा लाग्छन् । विपनलाई पनि कहिले काहिँ फेरि विदेश जाउँ कि झैँ लाग्छ । काम गाह्रो लाग्छ । तर, मन्दिर पु¥याउनु त धर्मको कुरा हो नि भन्ने पनि लाग्छ । ‘पैसै कमाउनु छ भने धर्म गरेरै कमाउन ठीक’, उनले भने–‘यो काम पनि ठीकै छ ।’
हाम्रो गति अझै कम हुँदै गएको थियो । विपनको गति उस्तै थियो । हामीसँग उनले दूरी बढाउँदै गए । हिँड्दा हिँड्दै उनी त भारी पु¥याएर पनि फर्किए । मन्दिरको केही मुनि भेटिएका उनले फेरि प्रस्ताव गरे–‘चढ्ने भए चढ्नु है, सस्तोमा बोकिदिउँला ।’ हामी अडानमै थियौँ कि हिँडेरै पुग्छौँ ।’ उनी तलतिर झरे, हामी माथि लाग्यौँ ।
योबीचमा विपनजस्तै मान्छे बोक्नेहरू दर्जनौँ देखिए । अनेक कामना बोकेर पाथीभरालाई गन्तव्य बनाउनेहरू लोकल ट्याक्सीको सहाराले अघि बढिरहेका थिए ।
मन्दिरबाट फर्किएर होटल आएपछि खाना खायौँ । अझै हिँडेर आधा झर्नु थियो । थाकेका हामीलाई आफ्नो झोला बोक्न पनि गाह्रो भयो । फेरि आइपुगे टुप्लुक्कै उही विपन ।
‘झोला बोकिदिने हो ?’, विपनलाई सोध्यौँ ।
‘कतिवटा छ ?’
‘४ वटा ।’
‘कति दिने हो ?’, उनले सोधे ।
‘कति लिने हो ?’, मैले सोधेँ ।
जम्मा ५ सयमै ४ वटा झोला बोक्ने प्रस्ताव उनले गरे । हामी सुरुक्कै मान्यौँ । उनले करापकुरुप पारे । सजिलै बोके, सजिलै झरे । उनले सजिलो गरी झोला बोकिदिएपछि हाम्रो झराइ झन् सजिलो भयो । काफ्ले पाटी आएपछि उनले आफैँले गाडी खोजिदिए । झोला गाडीमा हालिदिए । हिँड्नेबेला हँसिलो मुहार बनाएर उनले बिदा गरे ।