भरतपुर, २५ मंसिर ।
मानव सेवा आश्रम चितवनको भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आइतबारदेखि सुरु हुँदैछ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महायज्ञको तयारी पूरा भएको जानकारी गराइएको छ ।
समाजसेवी तथा जग्गादाता स्वर्गीय भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि बिहान ११ बजे नारायणी किनारबाट कलश यात्रासहित नगर परिक्रमा गरिने छ । महायज्ञमा विहान साढे सात बजेदेखि पाठपूजा सुरु हुनेछ । हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म कथा प्रवचन, ४ः३० बजे प्रसाद ग्रहण र बेलुका ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन हुने कार्यतालिका रहेको छ ।
महायज्ञ सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आश्रमका संस्थापक रामजी अधिकारीले बताए । महायज्ञलाई सफल बनाउन धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तिहरु, राष्ट्रसेवक र विद्यार्थीहरुको पनि उल्लेखनीय सहभागिता हुने विश्वास गरिएको छ । महायज्ञमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेललगायत उपस्थित हुनेछन् ।
उक्त महायज्ञमा १० करोडसम्म आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । संकलन भएको रकम भवन निर्माणमा प्रयोग गरिने र बाँकी रहेको रकम अक्षयकोषमा जम्मा गरिने अधिकारीले बताए ।
महायज्ञ सफल बनाउन संरक्षण समिति, सल्लाहकार समिति, पदेन सदस्य सहितको मूल आयोजक समिति निर्माण गरिएको छ । आश्रमको सेवामा समर्पित अभियन्ताहरुको समूहबाट सचिवालय सदस्य गठन गरिएको छ । भरतपुरका २९ वटै वडा अन्तर्गत रहेका टोल बिकास संस्थामार्फत घरघरमा निमन्त्रणा पठाइएको छ ।
निर्माणाधीन भवनलाई पूर्णता दिएर आश्रमलाई हालको भाडाको घरबाट आफ्नै घरमा स्थानान्तरण गरिनेछ । भवन निर्माणका लागि भरतपुर ३ बेलचोकका स्वर्गीय समाजसेवी भगवानदास श्रेष्ठले ६ कठ्ठा र उनका दाजु प्रेमकुमार श्रेष्ठले २ गरी ८ कठ्ठा जग्गा दान गरेका थिए । सोही जग्गामा आश्रमको भवन निर्माण हुँदैछ ।
आश्रममा हाल ६५ जना आश्रित रहेका छन् । आश्रमले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेको छ । जसमध्ये २८६ जनाको पारिवारिक पुनर्मिलन भएको छ । यस्तै ५२ जनाको सामुदायिक पुनस्र्थापना तथा १९२ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट गएका छन् । हालसम्म आश्रमको संरक्षणमा रहँदा ९३ जनाको निधन भएको छ ।