भरतपुर, २४ मंसिर ।
अर्किड स्कुलमा कक्षा १० मा पढिरहेकी वर्षा रानी पौडेलले पाउलो कोएलोको लोकप्रिय पुस्तक `द अल्केमिस्ट´ अघिल्लो वर्ष नै पढेकी हुन् । बिहीबार विद्यालयमा आयोजित पुस्तक समीक्षा कार्यक्रममा सहभागी पौडेलले पुस्तक पढेर जानेको कुरा साथीहरूलाई सुनाइन् । विद्यालय प्राङ्गणमा गरिएको समीक्षा कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी थिए । `मानिसले कुनै पनि काम गर्ने चाहना राख्यो भने उसलाई ब्रह्माण्डले पनि सहयोग गर्दछ र ऊ आफ्नो अभियानमा सफल हुन्छ´ पौडेलले भनिन्- `द अल्केमिस्ट उपन्यासमा यही कुरालाई उठान गरिएको छ ।´
वर्षापछि कक्षा ८ मा पढ्ने अर्का विद्यार्थी विश्वास जोशीले पनि पुस्तक पढेर पुस्तकका बारेमा आफूले सिकेको कुरा साथीहरूलाई सुनाए । ब्राजिलियन लेखक पाउलो कोएलोको यो पुस्तक पढेर आफूमा सकारात्मक चिन्तन र काम गर्ने जाँगर आएको सुनाए ।
विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने शिक्षक हरि सापकोटाले संयोजन गरेको यो समीक्षा चरणलाई कक्षा ८ का विद्यार्थी प्रज्ज्वल अर्याल र कक्षा १० कि विद्यार्थी दीप्ति सुवेदीले सहजीकरण गरेका थिए । द अल्केमिस्टको प्रथम संस्करण सन् १९८८ मा प्रकाशन भएको हो । यो अहिलेसम्म थुप्रै संस्करण र थुप्रै भाषामा अनुवाद पनि भएको छ ।
प्रज्ज्वल र दीप्तिले विद्यार्थीहरू आरोग्या घिमिरे, प्रशान्त थापा, हिमांशु दाहाल, करिना राउत, विप्लव दाहाल, अनुष्का काफ्ले, सुमी श्रेष्ठ, सुयम्सा अधिकारी, शिवानी पौडेल, जोसेफ महतो र प्रशिस अधिकारीसँग पुस्तकका बिषयमा सवालजवाफ पनि गरेका थिए ।
दोस्रो चरणमा नेपाली भाषाको कृति माइतघर उपन्यासमाथि समीक्षा प्रस्तुत भयो । माइतघर लैनसिंह वाङ्देलको सामाजिक उपन्यास हो । मानवीय संवेदनाका कुरालाई उपन्यासमा कथानक बनाइएको छ । विवाहिता नारी र सौता पाएकी अपहेलित नारीले अनेक त्रासदपूर्ण घटनाको सामना गर्नुपरे पनि लोकको मर्यादाका लागि जीवन गुजारा गर्नुपरेको यथार्थ चित्रण नै पुस्तकको मुल कथा हो ।
विद्यालयमा नेपाली भाषा पढाउने शिक्षिका मिरा आचार्य दवाडीले संयोजन गरेको कार्यक्रमलाई कञ्चन गुरुङ र एलिशा थापाले सहजीकरण गरे । त्यस्तै पुस्तकको समीक्षकमा ईच्छा केसी र किञ्जल खरेल थिए । त्यस्तै विद्यार्थीहरू प्राश्ना तिमिल्सिना र साजन अधिकारीले पनि माइतघर पुस्तक पढेर सिकेका कुराहरू साथीहरूलाई सुनाए । ईच्छा केसीले भनिन् – `प्रकृतिमा जसरी उज्यालो र अन्धकार दुबै छन्, त्यसैगरी मानिसको जीवनमा पनि सुख र दुख दुबै पक्ष छन् । त्यसैले सुखमा मात्तिने र दुखमा आत्तिने गर्नुहुन्न भन्ने सन्देश माइतघर उपन्यास छ ।´
दोस्रो चरणको कार्यक्रममा पनि विद्यार्थीहरूले पुस्तकको बिसयमा प्रश्नोत्तर गरे । प्रश्नोत्तर शृङ्खलामा विद्यार्थीहरू जेनी कँडेल, आयुषा तिमिल्सिना, चाहना अधिकारी, प्राश्ना थापा, सोनिका घिमिरे, रोहन पौडेल, रितेश दवाडी, जश्मीन गुरुङ, सुदीक्षा उप्रेती र आकृति सोती सहभागी थिए ।
विद्यालयका प्रधानाध्यापक डा. खेम आचार्यले विद्यार्थीहरूमा पढ्ने बानीको विकास गराउन विद्यालयमै पुस्तक समीक्षा कार्यक्रम गरिएको बताए । `बजारमा उपलब्ध हुने उत्कृष्ट कृतिहरू विद्यार्थीहरूलाई पढ्न अनुरोध गरेर तिनै पुस्तकमाथि विद्यालयमा छलफल गर्ने योजना अनुसार यो कार्यक्रम राखिएको हो´, प्रधानाध्यापक आचार्यले भने – `विद्यालयमा रिडर्स क्लब बनाएर यो कार्यक्रमलाई प्रभावकारी ढंगले निरन्तरता दिइने छ ।´
कार्यक्रमका प्रमुख अतिथि ईश्वर कँडेलले पढ्ने बानीलाई निरन्तरता दिन विद्यार्थीहरूलाई आग्रह गरे । `पढ्ने बानी भएपछि लेख्ने बानीको पनि विकास हुन्छ, यसले तपाईंलाई सिर्जनशील बनाउनुका साथै वैचारिक बहस गर्नसक्ने बनाउँछ´, कँडेलले भने – `कतै घुम्न जाँदा देखेका, राम्रा लागेका कुराहरूलाई टिपोट गर्ने बानी गर्नुहोस् । हरेक लेखकले विद्यालय तहमा नै लेख्ने कुराको बानी बसालेका हुन्छन्, तपाईंहरू पनि अहिल्यैदेखि लाग्नुहोस् ।´
विद्यालयका बोर्ड मेम्बर बाबुराम खनालले अध्ययन गर्ने व्यक्तिले समाजमा प्रभाव जमाउन सक्ने हुनाले विद्यार्थी जीवनदेखि नै अध्ययनलाई सुरुवात गर्न अनुरोध गरे । विद्यालयका सहायक प्राचार्य ओमराज मैनालीले विद्यालयका अतिरिक्त क्रियाकलाप अन्तर्गत पुस्तक अध्ययन र समीक्षालाई प्राथमिकतामा राखिएको बताए ।
त्यस्तै सञ्चारकर्मी एवम् पब्लिक स्पिकिङ बिषयका शिक्षक मनोज पन्तले विद्यार्थीहरूलाई साहित्यिक कृति अध्ययन गर्न लगाई ती कृतिमाथि समीक्षा र छलफल चलाउँदा विद्यार्थीमा साहित्य पठन र सिर्जना जस्ता क्रियाकलापमा रुचि बढ्ने बताए ।
वि. सं. २०७६ सालदेखि पुस्तक समीक्षा कार्यक्रम सुरु गरेको विद्यालयले दोस्रो शृङ्खलाको रूपमा बिहीबार कार्यक्रम गरेको हो । अघिल्लो वर्ष कोरोना महामारीको प्रभावले यो कार्यक्रम हुन पाएको थिएन । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित, नवोदय शिशु सदन हेटौंडाका प्रधानाध्यापक दिपेश जोशी र अव्यक्त खनालले पनि समीक्षा कार्यक्रमका बारेमा टिप्पणी गरेका थिए ।