भरतपुर, २३ मंसिर ।
गजल मञ्च चितवनले नियमित गजल वाचन कार्यक्रम ‘गजलसँग’ को ७औँ शृङ्खला आयोजना गर्दैैछ । यहि मंसिर २५ गते शनिबार नारायणगढमा आयोजना हुन लागेको कार्यक्रममा ५ जना गजलकारले गजल वाचन गर्दैछन् ।
चितवन साहित्य परिषद्को सभाहल नारायणगढमा हुन लागेको कार्यक्रममा गजलकारहरू दिलु थापा मगर, नवराज ढकाल, विक्रम ढकाल ‘अनुराग’, सरस्वती पौडेल र अविरत सुमनले गजल प्रस्तुत गर्नेछन् । पाँच जना स्रस्टाले ५/५ गरि कुल २५ वटा गजल प्रस्तुत हुने गजल मञ्च चितवनका सचिव रामकृष्ण अनायासले बताए ।
सोही समारोहमा गजल मञ्च चितवनले प्रदान गर्दै आएको रमादेवी-हीरालाल स्मृति पुरस्कार २०७७/०७८ संयुक्तरूपमा प्रदान गरिने कार्यक्रम पनि रहेको छ । उक्त पुरस्कार अमला अधिकारीको `आश्रय´ गजलसङ्ग्रह र चेतनाथ रुवालीको `आमा´ गजलसङ्ग्रहलाई दिइने गजल मञ्च चितवनका कार्यवाहक अध्यक्ष लेखराम सापकोटाले बताए ।
गजल मञ्च चितवनका निवर्तमान सचिव विनोद अनुजले आफ्ना हजुरबुवा र हजुरआमाको नाममा स्थापना गरेको पुरस्कारको राशी १० हजार १ सय १ रुपैयाँ रहेको छ ।