भरतपुर, २३ मंसिर ।
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर ८ भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् ।
मर्स्याङदी गाउँपालिका वडा नम्बर सिम्पानीबाट वडा नम्बर ८ भुस्मेमाथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्स्याङदी गाउँपालिका वडा नम्बर ९ भलामचौरका प्रमिसा गुरुङ, मर्स्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको मृत्यु भएको छ । उनीहरु गणेश माविमा अध्ययनरत विद्यार्थी हुन् । यस्तै कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
प्रहरीका अनुसार अन्य दुईजना गम्भीर घाइते भएका छन् । चालक र एक छात्रा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकी चितवन मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइते छन् । उनीहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उक्त जीपमा चालकसहित १२ जना सवार थिए ।