भरतपुर, ३१ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ७ बजे नै मतदान गरेका छन् । भरतपुर–४ स्थित लक्ष्मी मा.वि. लंकूको ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदाता क्रम संख्या १९२८ मा रहेका दाहाल बिहान ७ बजे मतदान केन्द्र प्रवेश गरेका थिए । उनले भरतपुरमा अहिलेको तालमेलअनुसार मतदान गरेको बताए । पत्रकारले सोधेको जिज्ञाशामा उनले भने, “यो महत्वको कुरा होइन, अहिलेको परिस्थिति जे छ त्यहीअनुसार मतदान गरें । तालमेलअनुसार नै गरें ।”
भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलमा चुनाव भइरहेको छ ।
मेयरमा प्रचण्डपुत्री रेणु र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेद्वार छिन् ।
नेपालमा पहिलोचोटि अधिकारसम्पन्न स्थानीय निर्वाचन भएको भन्दै आजको मतदानलाई ‘ऐतिहासिक’ भने ।
“सबैको उत्साह देखिएको छ”, उनले भने, “स्वाभाविकभन्दा पनि बढी मतदान हुन्छ भन्ने अपेक्षा गरेको छु ।”
बिहानैबाट चितवनका सबै मतदान केन्द्रमा उत्साहसाथ मतदान भइरहेको छ ।