भरतपुर, २० मंसिर ।
डिसेम्बर १० मा मनाइने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवसको पूर्वसन्ध्यामा अर्किड स्कुलले दश दिने अभियान सुचारु गरिरहेको छ । विशेषगरी कक्षा ६ देखि १० का विद्यार्थीहरूले लैङ्गिक हिंसा विरुद्ध अभियान अन्तर्गत वक्तृत्वकला, चित्रकला, चेतनामूलक प्रहसन गर्दै आइरहेका छन् । लैङ्गिक विभेदको अन्त्य र लैङ्गिक समतामूलक समाज निर्माणमा यस्ता कार्यक्रमले भूमिका खेल्ने लैङ्गिक हिंसा विरुद्ध अभियानकी संयोजक शिक्षिका मीरा आचार्यले बताइन् ।
सोही अभियान अन्तर्गत ‘अर्किड साइक्लिङ क्लब ‘ले ४६ जना विद्यार्थी र ४ जना शिक्षकहरूको सहभागितामा एकदिने साइकल यात्रा अभियान सम्पन्न गरेको छ । हाकिम चोक, स्याउली बजार, भोजाड, पदमपुरहुँदै कालिका नगरपालिकासम्मको साइकल यात्रामा ‘अर्किड साइक्लिङ यात्रा, लैङ्गिक हिंसामुक्त समाज ‘ सहितको नारा लिएर सफलतापूर्वक सम्पन्न भएको अर्किड साइक्लिङ क्लबकी संयोजक शिक्षिका प्रतीक्षा श्रेष्ठले बताइन् ।
अभियानलाई थप उर्जा दिन अर्किड स्काउट ट्रुपको विशेष सहयोग रहेको स्काउट शिक्षक मिलन पनेरूले बताए ।