भरतपुर, २० मंसिर ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशन ६ वटा प्रदेशमा सम्पन्न भएको छ । ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्बिनी प्रदेशमा विजयी शर्मा र पुन पौडेल पक्षका हुन् ।
प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन । मंसिर १५ मा अधिवेशन उद्घाटन भएपनि बाँकी प्रक्रिया भने अघि बढ्न नसकेको हो।
यसैबीच कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।