राप्ती, १८ मंसिर ।
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा राप्ती नगरपालिकाले स्वयंसेविकाहरुलाई साइकल र मोबाइल प्रदान गरेको छ । राप्ती नगरपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिदैँ आएका ४४ जना स्वयंसेविकाहरुलाई साइकल र मोबाइल प्रदान गरिएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख प्रभा बरालले साइकल र मोबाइल प्रदान गरेकी हुन् ।
पहाडी क्षेत्रमा पर्ने वडा १०, ११, १२ र १३ मा सेवा दिने १९ जना स्वयंसेविकालाई मोबाइल र १ देखि ९ वडामा सेवा दिने २५ जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो ।
साथै उमेर हदका कारण अवकाश प्राप्त ५ जनालाई १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने नगर प्रमुख बरालले घोषणा गरिन् ।
।
६० वर्ष कटी अवकाश प्राप्त गरेका वडा १ की मैयाँदेवी खड्का र शारदा मैनाली, वडा २ की विष्णुदेवी ठकुरी, वडा ५ की राधा कुँवर क्षेत्री, वडा ८ की शकुन्तला शर्मा तिमिल्सिनालाई सो पुरस्कार दिने नगर प्रमुख बरालले घोषणा गरिन् ।
स्वयंसेविका अम्बिका थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेल, राप्ती ५ की वडाध्यक्ष मेनुका पाठक, कार्यपालिका सदस्य पुस्पा कुँवर, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, भण्डारा अस्पतालका व्यवस्थापक बुद्धिबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।