गैंडाकोट, १८ मंसिर ।
लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा भएको राष्ट्रिय कविता प्रतियोगिता- २०७८ मा धादिङका विजय तामाङले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा लमजुङकी कमला अधिकारी भट्टराई द्वितीय, तनहुँका गोविन्द गोपाल खतिवडा तृतीय र झापाका राजन सुवेदीले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगिताका लागि उत्कृष्ट १० भित्र छनोटमा परेका स्रस्टालाई बोलाएर वाचनमा सहभागी गराइएको थियो । जसअनुसार झापाबाट डा. खगेन्द्रप्रसाद दाहाल र खेमराज नेपाल, इलामबाट जीवनहरि शर्मा, नवलपरासीबाट निमा पौडेल तिवारी, कास्कीबाट प्रकाश पोख्रेली आचार्य र तनहुँका संयोग बस्यालले पनि कविता वाचन गरेका थिए ।
`हाम्रो पर्यावरण : हाम्रो सम्पदा´ शीर्षकमा कविता आह्वान गरिएको थियो । प्राप्त कुल ८३ कविता मध्ये उत्कृष्ट १० छनोट गरेर प्रतियोगितामा सहभागी गराइएको वाङमयकी अध्यक्ष हरिप्रिया रिजालले जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम हुनेले रू. २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ सहित उत्कृष्ट १० जनालाई प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
कविता प्रतियोगिताको निर्णायकमा कविहरू भूपिन, प्राडा नारायणप्रसाद खनाल र केशवराज आमोदी रहेका थिए । कार्यक्रमलाई पुष्प अधिकारी अञ्जलि र सुजन अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए । लायन्स क्लब अफ चितवन वाङ्मयले नेपाली भाषा, साहित्यलाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको भट्टले बताए । `संसारलाई उज्यालो दिशामा लैजान पनि यस संस्थाले महत्त्वपूर्ण काम गरेको छ, आगामी दिनमा अन्य जिल्लामा पनि वाङ्मय क्लब खोल्न लायन्सले सहयोगी भूमिका खेल्नेछ´ , उनले बताए ।
लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष हरीप्रिया रिजालले साहित्यको संरक्षणमा यस संस्थाले निरन्तर काम गर्ने बताइन् । त्यस्तै क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डितले लायन्स क्लब अफ चितवन वाङ्मय देशभरका साहित्यप्रेमीहरुको क्लब भएको बताउँदै भाषा साहित्यको उत्थानमा यस क्लबले सधैँ काम गर्नुपर्ने बताए ।