काठमाडौँ, १८ मंसिर ।
काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाअधिवेशन चलिरहेको छ । भृकुटीमण्डप क्षेत्र पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूले भरिभराउ बनेको छ ।
सडक छेउछाउ चुनाव प्रचारप्रसारका लागि ब्यानर तथा पोस्टर टाँगिएका छन् भने प्रतिनिधिहरूले पनि घाँटीमा पम्प्लेट झुण्डाएर चुनावको प्रचारमा लागिरहेका देखिएको छ । प्रत्यासी उमेद्वारका कार्यकर्ताहरू प्रदर्शनी केन्द्रको मूल ढोकामा प्रचारप्रसार सामग्री बाँड्नमा व्यस्त देखिएका छन् । कतिपयले उमेद्वारको तस्बिर तथा नाम अंकित मास्क लगाएर पनि प्रिय उमेद्वारको प्रचारप्रसार गर्नमा तम्सिएका छन् ।
महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म चल्ने भनिएपनि प्रतिनिधिहरूको संख्याका विषयमा विवाद हुँदा महाधिवेशनको निर्वाचन एक दिन पछाडि धकेलिएको हो । सोही कारण मंसिर १७ गते हुने भनिएको मतदान शनिबारका लागि तय भएको हो ।
यस पटक पार्टीको नेतृत्वदायी अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । महाधिवेशनबाट अध्यक्षसँगै चार उपाध्यक्ष, तीन महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् ।
उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । उपाध्यक्षमा ९, महामन्त्रीमा ६ र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको राप्रपाले जनाएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्रको प्रयोग गरिनेछ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मतदान विद्युतीय मेसिनबाट गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशन चुनावका लागि देशभरबाट ४ हजार ७ सय प्रतिनिधि छनोट भएका छन् ।
केन्द्रीय अध्यक्ष पदको उमेद्वारी दर्ताका लागि एक लाख रुपैयाँ शूल्क तोकिएको थियो । केन्द्रीय उपाध्यक्षको उमेद्वारले ७५ हजार, महामन्त्रीले ५० हजार र केन्द्रीय सदस्यको उमेद्वारले १५ हजार रुपैयाँ तिर्नुपर्ने पार्टीको व्यवस्था छ । महाधिवेशनमा उम्मेदवारी दर्ताबाट झण्डै ५० लाख सङ्कलन भएको राप्रपाले जनाएको छ ।
तस्बिर : शिव गौतम ।