पत्रकार वसन्त पराजुलीको नाम नेपाली आख्यान जगतमा पनि चर्चामा छ । डेढ वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीलाई ‘कुमाता’ले चर्चाको शिखरतर्फ डोहोर्याइरहेको छ । उनको दोस्रो कथासङ्ग्रहका रुपमा `मोम्चो´ प्रकाशनमा आएको छ । यी दुबै पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । यो पुस्तक यहि मंसिर १९ गते विमोचन हुन गइरहेको छ । ‘मोम्चो’ कथासङ्ग्रहका सन्दर्भमा केन्द्रित रहँदै कथाकार पराजुलीसँग गरिएको कुराकानी :
तपाईँले आफ्नो कृतिको नाम मोम्चो राख्नुभएछ । मोम्चो भनेको चाहिँ के हो ?
मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ ।
कृतिको नाम मोम्चो राख्नुको कारण के त ?
नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यही विविधताबाट नै नेपालको मौलिकता प्रस्टिन्छ । चेपाङको पनि आफ्नै भाषा र संस्कृति छ, जुन नेपालकै गरिमा हो । चितवन धादिङ र मकवानपुरलगायतका जिल्लाहरु चेपाङ समुदायको आदिम थलो मानिन्छ । सीमान्तकृत समुदायका रूपमा रहेका चेपाङकोे आफ्नै भाषा, संस्कृति र रीतिरिवाज छ । यिनको संरक्षण र संवर्द्धन गर्नु अनि यसलाई जीवन्त तुल्याउनु हाम्रो पनि भूमिका हो । आजभोलि अन्य भाषाको प्रभावले चेपाङ भाषाका वक्ता घट्दै गइरहेका छन् । कुनै दिन यो भाषा नै लोप हुने त हैन भन्ने चिन्ता एकातिर छ नै । एक शब्दले मात्रै पनि भाषा र संस्कृतिप्रति सम्मानभाव प्रकट हुन्छ । त्यही सम्मानका रुपमा मैले यसलाई आफ्नो कृतिको शीर्षक बनाएको हुँ । चितवनको पहाडी क्षेत्रमा रहेर गरिबीसँग सङ्घर्ष गर्दै भिरपाखामा जीविको निर्वाह गरिरहेका चेपाङ समुदाय भाषा नै लोप हुने त होइन भन्ने शङ्का जन्मिरहेका बेला मैले यसलाई लिएर कृति जन्माउने प्रयास गरेको हुँ । पत्रकारितामा जस्तै साहित्य पनि आवाजविहीनहरुको आवाज बन्नुपर्छ भनेर चेपाङ भाषाकै शब्द लिएको हुँ ।
यो कस्तो खालको कथासङ्ग्रह हो ?
मोम्चो खास गरी नेपाली समाजमा नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित विषय उठान गरिएको कृति हो । यसमा ११ वटा कथा समेटिएका छन् । यसमध्ये मोम्चो शीर्ष कथा हो ।
मोम्चो विशेषगरी चेपाङ समुदायमा विद्यमान बालविवाह र त्यसकारण महिलाले भोग्नु परेका समस्याका विषयमा केन्द्रित कथा हो । चेतनाको कमीका कारण बाल्यकालमै विवाह गर्ने र विवाहपछि पुरुषले नारीमाथि गरेको अन्याय, अत्याचार, यौनशोषण र हिंसाका विषयलाई यसमा मुख्य कथानक बनाइएको छ ।
यसमा सङ्ग्रहित अन्य कथाहरुमध्ये `वक्ररेखा´ कथाले सामाजिक विकृतिलाई उजागर गरेको छ । `कुटी नम्बर २००´ले एकल महिलाले भोग्नुपरेका शारीरिक, मानसिक तथा सामाजिक समस्यालाई उठान गरेको छ । `हठ´ कथाले शारीरिक सौन्दर्यका नाममा आमाले सन्तानलाई स्तनपान नगराउँदा निम्तने समस्यालाई प्रस्तुत गरेको छ । `शङ्का´ मनोवैज्ञानिक कथा हो । `नबिर्सिएको प्रेम´ जातीय विभेदमा आधारित कथा हो भने `बेइमानी´, `दोधार´, `बेचिएको मातृत्व´ र `जिजीविषा´ कथा सामाजिक विषयमा आधारित छ ।
अधिकांश कथाहरु सामाजिक विषयवस्तुमा आधारित रहे पनि मेरो पहिलो कथासङ्ग्रह `कुमाता´मा जस्तै यौनमनोविज्ञानको विषयलाई यो यसपलिका कथाले पनि समेटेका छन् ।
तपाईँका अधिकांश कथाहरु सामाजिक र यौनमनोविज्ञानमा केन्द्रित हुने कारण के हो
?
यौन मानव जीवनको अपिहारर्य विषय हो । यौन असन्तुष्टिकै कारण परिवारमा विभिन्न समस्याहरु सिर्जना भइरहेका हुन्छन् । नेपाली समाजमा यौनको विषयलाई छिपाउने र लुकाउने विषयका रुपमा लिइन्छ, यसको परिणामस्वरुप समाजमा यौन अपराधका घटनाहरु बढ्दै गएका छन् । यौनका विषयमा परिवार र समाजमा खुला तरिकाले कुरा गर्नसक्ने वातवरण सिर्जना गर्नुपर्छ भन्ने मेरो धारणा हो । यसले यौन अपराधका घटनाहरु न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास गरिन्छ । यौनकै कारण पारिवारिक विखण्डन सिर्जना हुने जुन अवस्था हामी भोगिरहेका छौँ, त्यसलाई कम गर्न केही हदसम्म सकिन्छ भन्ने उदेश्यले मैले यो विषयलाई कथामा समावेश गर्दै आएको छु ।
कुमाता कथासङ्ग्रह जस्तै यो पनि पाठकले रुचाउँछन् भन्ने कुरामा तपाईँ कसरी विश्वस्त हुनुहुन्छ ?
मेरो पहिलो कृतिलाई पाठकहरूले रुचाएकै कारण एकै वर्षमा तेस्रो संस्करण प्रकाशन हुन पुग्यो । एउटा लेखकका लागि योभन्दा ठूलो गौरवको विषय केही होइन । अझै चितवनलगायतका जिल्लाबाट पनि विभिन्न पुरस्कारहरु कुमाताले हात पार्यो । यसले मलाई लेखनका लागि थप जिम्मेवार बनाएको छ । त्यही जिम्मेवारीको परिणामस्वरुप आदरणीय पाठकहरूका सामु दोस्रो कथासङ्ग्रह `मोम्चो´ आएको छ । यसलाई पनि तपाईँहरुले मन पराउनुहुन्छ भन्ने विश्वास लिएको छु । `कुमाता´मा भन्दा पनि अहिले मैले विषयगत विविधताको खोजी, त्यसको उठान र प्रस्तुतिमा बढी मेहेनेत गरेको छु । यसको मूल्याङ्कन पाठकहरुले गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।
साहित्यका धेरै विधामध्ये तपाईँले कथालाई नै रोज्नुको कारण के हो ?
मैले कथा मात्रै हैन निबन्ध, कविता, हाइकू, गजल पनि लेैख्दै आएको छु । यिनीहरु कृतिकै रुपमा प्रकाशनमा नआएका मात्र हुन् । कथा समाजको चित्र हो । कथाले मानव समस्यालाई सहज रुपले प्रस्तुत गर्छ । अनि कथा विधा आम पाठकहरुले सबैभन्दा बढी मन पराउने विधा पनि हो । म कथामा रमाउँछु । कथा लेखनबाट मलाई सन्तुष्टि मिल्छ । कथाकै माध्यमबाट समाजका तमाम समस्या उजार गर्न र समाज परिवर्तनको एक पात्रका रुपमा भूमिका खेल्न सक्छु भन्ने ममा विश्वास छ । त्यसैले मैले कथा विधालाई बढी प्राथमिकता दिएको हुँ ।
अन्तमा, डेढ वर्षकै अवधिमा दुईवटा कृति जन्माउनुभयो । यसपछिको तयारी के छ तपाईंको ?
मैले आख्यानलाई नै मुख्य विषय बनाएको छु । कथामा दुईवटा कृति आए । अब एउटा अनुसन्धानमूलक उपन्यास लेखनको खोजीमा छु । केही तथ्यहरु सङ्कलन गरिरहेको छु । अझै धेरै कुरा खोज्न बाँकी नै छ । काम च्यालेन्जिङ नै छ । खुड्किलो उक्लदै छु । कति उक्लन सकिन्छ अब भविष्यले नै बताउला । आशा छ सबैको साथ र सहयोग यसैगरी मिलिरहेमा नयाँ कृतिका लागि प्रयासमा रहने छु ।
(पत्रकार किशोर काफ्लेसँगको कुराकानीमा आधारित ।)