भरतपुर,१६ मंसिर ।
ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्र गैंडाकोटले सूर्यभक्त पतनादेवि मेमोरियल कलेज गैंडाकोटमा विद्यार्थीहरुका लागि उत्प्रेरणत्मक कार्यक्रम गरेको छ ।ब्रम्हकुमारी राजयोग नेपालका उत्प्रेरक रमन भट्टराईले आत्मविश्वास नै सफलताको कडी भएको बताए ।
विद्यार्थी जीवनमा देखिने सपनालाई हासिल गर्न मिहिनेत गर्नैपर्ने र त्यसका लागि दृढ आत्मविश्वास चाहिने बताए ।कोरोना महामारीले थलिएका हरेक क्षेत्रमा सफलता हासिल गर्न अब आत्मविश्वासकै खाँचो रहने उनको जोड थियो ।
कार्यक्रममा ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्र नारायणगढका सञ्चालक बिना दिदिले विद्यार्थीहरुलाई सकारात्मक चिन्तनको प्रभावले समाज परिवर्तन सम्भव रहेको बताइन् ।
क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले विद्यार्थी लक्षित कार्यक्रम भएपनि सकारात्मक चिन्तन सम्बन्धी लामो समय पश्चात् भएको कार्यक्रम सबैका लागि प्रभावकारी साबित हुने विश्वास लिएको बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, शिक्षक कर्मचारी र स्नातक तहका विद्यार्थीको सहभागितामा कार्यक्रम भएको हो ।