सौराहा, १३ मंसिर ।
नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच अन्तत: प्रतिस्पर्धा हुने भएको छ ।
चितवनको सौराहामा जारी १०औँ महाधिवेशनमा अध्यक्ष ओलीले पटकपटक रावललाई प्रतिस्पर्धामा नउत्रन आग्रह गरे पनि रावलले निर्वाचनमै जाने बताएका हुन् ।
ओलीले पदाधिकारीको नाम घोषणा गर्नुअघि आफूले अध्यक्ष मण्डलको अध्यक्षको हैसियतमा उपाध्यक्ष बन्न रावललाई ‘आदेश दिएको’ बताएका थिए । त्यस्तै, महाधिवेशन हलले आग्रह गर्दा रावलले स्वीकार्न सक्ने भन्दै हलमार्फत् पनि उपाध्यक्षमा बस्न र अध्यक्षमा प्रतिस्पर्धा नगर्न उनलाई दबाब दिएका थिए ।
‘हामी कसैले पनि सम्झाउन सकिएन । मैले बाध्य भएर पार्टी अध्यक्षको हैसियतले उपाध्यक्षमा उम्मेदवारी हाल्न आदेश दिन्छु पनि भनेँ,’ ओलीले बैठकमा भने, ‘सिंगै हलले सबैको अभिमतभन्दा अन्त गएर मत नहाल्न आग्रह गर्छौं ।’
हलले ओलीको प्रस्तावमा ताली पिटेको थियो । लगत्तै ओलीले रावललाई बोल्न भने ।
रावलले माइक समाते र नम्र शैलीमा अध्यक्षको आदेश मान्न नसक्ने बताए । उनले आफूले पार्टी विभाजन नरोजेको र ‘विभाजनको चरणमा काँध थापेको’ बताए । पार्टीभित्र विभिन्न प्रकारका अन्तरविरोध देखिएको र त्यो आफ्ना लागि खुसीको क्षण नभएको उनको भनाइ थियो ।
‘साथीहरू सुत्न पाउनुभएको छैन,’ रावलले भने, ‘अध्यक्ष मण्डलका अध्यक्षले निर्देशन दिएपछि मैले बोल्नैपर्ने भयो । उम्मेदवारी घोषणा गरेपछि अब मलाई फर्कन गाह्रो छ । मैले लड्नैपर्छ।’
त्यसपछि हलबाट रावलविरूद्ध हुटिङ भएको थियो । कतिपय महाधिवेशन प्रतिनिधि बसेको ठाउँबाट उठेर रावलविरूद्ध चिच्याए । तर ओलीले सबैलाई शान्त बस्न आग्रह गरे ।
‘नउठ्नु राम्रो हुन्थ्यो । एकता प्रदर्शन हुन्थ्यो,’ ओलीले भने, ‘कमरेड रावलले हामी सबैको आग्रह र हलले भन्दा पनि उठ्छु भन्नुहुन्छ भने उठ्न दिनुपर्छ ।’
त्यसपछि ओलीले पदाधिकारीमा सर्वसम्मतिका लागि नाम घोषणा गरे जसमा उनले अध्यक्ष मण्डलको तर्फबाट अध्यक्षमा आफ्नै नाम समेत घोषणा गरे ।