सौराहा, १२ मंसिर ।
अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलले उम्मेदवारी फिर्ता लिन नमानेपछि अन्ततः केपी शर्मा ओली र नेता रावलबीच सहमतिका लागि वार्ता सुरु भएको छ । एमालेको दशौँ महाधिवेशनको बन्दसत्रस्थल होटल सेभेनस्टारमा दुई नेताबीच एकापसमा वार्ता सुरु भएको हो ।
नेकपा एमालेको नयाँ नेतृत्व सर्वसम्मत गराउने प्रयासस्वरुप ओलीले रावलसँग अहिले वार्ता गरिरहेका छन् । नेता रावलले अध्यक्षबाट आफू पछि नहट्ने अडान लिएपछि ओलीले रावलसँग वार्ता गरेका हुन् । सेभेनस्टारको रिसेप्सनमा ओली र नेता रावलबीच केही बेर अघि मात्रै वार्ता सुरु भएको हो ।
दशौँ महाधिवेशनबाट ओलीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गर्नका अधिकांश नेता तथा कार्यकर्ता राजी भएको अवस्थामा भीम रावल एक्लैले टक्कर दिएपछि ओलीले अन्तिम प्रयासस्वरुप रावलसँग वार्ता गरेका हुन् । रावल आफ्नो अडानमा कडा रुपमा प्रस्तुत भएपछि आज अहिलेसम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन । रावल र ओलीबीचको बार्ता सकिएपछि मात्रै बन्दसत्र सुरु हुनेछ ।
नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावललाई उम्मेदवारी घोषणा फिर्ता लिन माग गर्दै होटेल बाहिर नाराबाजी गरेका छन् ।
अब सुरु हुने बन्दसत्रबाट एमालेको नयाँ नेतृत्व चयन हुनेछ ।