लेखराम सापकोटा
भरतपुर, ७ असोज ।
साहित्य नगरी पोखरामा गौरी तमुको उपस्थिति बिल्कुलै नयाँ भएपनि उन्को साहित्यको यात्राले भने दुई दशक पार गरिसकेको छ । पचासको दशकको सुरुवाती तिरै कविता, मुक्तक र निबन्ध लेखेर साहित्य फाँटमा होमिएकी गौरी अहिले समसामयिक लेखनमा पनि सक्रिय छन् । उनका थुप्रै लेख, रचना स्वदेश तथा बिदेशबाट प्रकाशित हुने नेपाली भाषाका पत्रपत्रिकामा छापिइरहन्छन् ।
साहित्यमा लागेर स्थानीय देखी राष्ट्रिय तहसम्म यिनले आफ्नो छाप बनाईसकेकी छन् । लेखनीको दुई दशकको यात्रामा पहिलो कृति भने भर्खरै आएको छ उनको । चार लाइनमा लेखिने मुक्तक हरुको संगालो `समैं दर्बानी´ लाई मुक्तक मन्च पोखराले भदौको अन्तिम साता प्रकाशन गरेको हो । समैं दर्बानी गुरुङ भाषाको शब्द हो । यसको नेपाली अर्थ समयको दर्पण भन्ने हुन्छ ।
सङ्ग्रहको नाम गुरुङ भाषामा राख्नु यस सङ्ग्रहकी स्रस्टा गुरुङ भएर मात्रै होईन । सङ्ग्रह भित्र समेटिएका सबै १३५ वटा मुक्तकहरुलाई गुरुङ भाषामा भावानुबाद पनि गरिएको छ । जसले गर्दा स्रस्टाले कृतिको नाममा आफ्नो जातीय पहिचान खोजेकी हुन् । सङ्ग्रहमा रहेका उनका सबै मुक्तकलाई तमु कवि केयर सिंह गुरुङले गुरुङ भाषामा उतारेका छन् । नेपाली र गुरुङ भाषामा प्रकाशित यो सङ्ग्रह सम्भवत मुक्तक साहित्यको पहिलो सङ्ग्रह पनि हो । किताबको देब्रे पृष्ठमा रहेका ३ वटा मुक्तक नेपालीमा छन् भने दाहिने पृष्ठमा तिनै मुक्तकको भावानुबाद पढ्न सकिन्छ । १०९ पृष्ठको सङ्ग्रहका ४५ वटा पानामा मुक्तकहरु सजिएका छन् भने बाँकी पानामा लेखकीय, प्रकाशकीय, आभार, शुभकामना र टिप्पणी राखिएका छन् ।
सङ्ग्रहमा उनका विविधखाले मुक्तक छन् । आफ्नै सेरोफेरोको सामाजिक र सांस्कृतिक बिषयबस्तुका मुक्तक छन् यसमा । राजनीतिक र आर्थिक बिषयबस्तुका मुकक पनि छन् । देखे भोगेका कुराहरूलाई चार लाइनमा ब्यङ्य र भावले कलात्मक रुप दिएकी छन् । राम्रो भन्दा नराम्रो सिक्ने जमानामा छौं श्रम भन्दा शरीर बिक्ने जमानामा छौं अघि बढे, सफल भए सबै जल्छन् यहाँ आपत्तिमा आफ्नैले हात झिक्ने जमानामा छौं । (पृष्ठ ५६) नवलपरासीको गैंडाकोटमा जन्मेहुर्केकी, चितवनको साहित्य र संचार क्षेत्रसँग घुलमिल भएकी गौरी बिबाह पश्चात् पोखरा पुगिन् । नेपालीमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेकी गौरी पोखरा पुगेर तुरुन्तै त्यहाँको साहित्य र संचारको आँखामा परिनन् । आफ्नो अध्ययन, अध्यापन, ब्यबसाय, पारिवारिक जिम्मेवारी आदिले चितवनमा रमाइरहेको पाटोलाई पोखरामा त्यती महत्त्वपूर्ण मानिनन् । तर लेख्ने काम भने भित्रभित्रै गरिरहिन् ।
दुई छोरीहरु हुर्कंदै गएपछि र पढाइ पनि सकिएपछि रुचिको बिषयलाई लुकाएर राख्नै सकिनन् । पोखरामा हुने साहित्यिक गतिविधिलाई नजिकैबाट नियाल्न थालिन् । कार्यक्रममा नियमित सहभागिता जनाउँदै जान थालेदेखि पोखरेली साहित्य टोलीसँग नजिकिईन् । अन्ततः उनको आफ्नो पहिलो सङ्ग्रह पनि पोखराबाटै आउन सफल भयो ।
नेपाली साहित्य जगतको लोकप्रिय बिधा मुक्तकको बिकास र बिस्तारमा मुक्तक मन्च पोखरा आँफै लागिपरेको छ । मुक्तकबारे २०७० सालमा पोखरामा ५ बुँदे घोषणापत्र जारी भए अनुसारका मुक्तकहरु गौरीका सङ्ग्रहमा समेटिएका पाइन्छन् । पोखरा घोषणापत्र अनुसार गौरीका कुनै कुनै मुक्तकमा सामान्य बिचलन देखिएपनि पोखरा घोषणापत्रसँग नजोडिएका र लामो समयदेखि मुक्तकमा कलम चलाउँदै आएका मुक्तक बिसेसज्ञहरुबाट भने गौरीका सबै मुक्तकमा सहिछाप आउने देखिन्छ ।
दियो हुँ म आँफै जलेर उज्यालो दिनेछु दिइ हेर तिम्रा सबै दु:ख लिने छु जहाँ बत्ती बल्यो, त्यहीँ अँध्यारो भनेझैं संसारको नियम यस्तै मन बुझाउने छु । (पृष्ठ ५८) सङ्ग्रहका सबै मुक्तक चोटिला छन् । वर्तमान समय र आफ्नै परिवेशलाई कटाक्ष गरिएका यिनका सबै मुक्तक एक बसाइँमै पढेर सकिन्छ । प्रकृति, देश, सामाजिक विकृती र विसंगति, प्रेम, नारी मुक्ती बिषयले पनि मुक्तक बनेर सजिने मौका पाएका छन् सङ्ग्रहमा । भाषागत त्रुटी केही ठाउँमा देखिन्छ । कृतिको नाम समयको दर्पण जस्तै प्रायज्सो मुक्तकले उज्यालोको संकेत गरेका छन् । साहित्य होस् या अखबारी लेखनमा राम्रो संभावना बोकेकी गौरीको यो सङ्ग्रह पठनिय बनेको छ ।