मंसिर १०, चितवन ।
एकता महाधिवेशनले एउटा मात्र पार्टी अध्यक्ष चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनमा सहभागी हुन चितवन आएका अध्यक्ष थापाले भरतपुर विमानस्थलमा पत्रकाहरुसँग बोल्दै भने – ‘यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको राप्रपा महाधिवेशनको विधान प्रस्तावअनुसार अब एउटा मात्र अध्यक्ष हुने व्यवस्था भएको छ । महाअधिवेशनले एक पार्टी अध्यक्षलगायत केही पदाधिकारीको निर्वाचन गर्ने छ । अब तीन वटा अध्यक्ष राप्रपामा हुनेछैनन् ।’
दुई राप्रपा मिलेर बनेको राप्रपामा अहिले ३ पार्टी अध्यक्ष छन् ।
अध्यक्ष थापाले राप्रपा स्थापनाकालदेखि संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र, संसदीय प्रजातन्त्र, मानवअधिकार प्रति प्रतिवद्ध राजनैतिक दल भएको बताए ।
महाधिवेशनपछि यी एजेन्डालाई अझ बढी शसक्त ढङ्गले अगाडि बढाउने थापाले बताए ।
साथै उनले नेकपा एमालेको १०औें महाधिवेशनलाई शुभकामना दिएका छन् । व्यक्तिगतरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रति आफ्नो सद्भाव भए पनि अबको महाधिवेशनबाट नेतृत्वमा जो आएपनि आफ्नो शुभेच्छा रहने बताए ।
यस्तै, न्यायालयमा देखिएको विवाद विषयमा पत्रकारहरुको जिज्ञासा मेट्दै आफूले न्यायालयको विवादलाई एकांगीरुपमा हेर्न नचाहेको बताए । उनले भने, ‘न्यायालयमात्र नभई कार्यपालिका सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार छ । कुरा गर्ने हो भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि एकदिन पनि संसद चल्न सकेको छैन ।´
`प्रमुख प्रतिपक्षी दलको अवरोध र सरकारको अकर्मण्यताको कारणले संसद गतिहिन अवस्थामा छ । प्रधानन्याधिशले नैतिकताको आधारमा पदमा बस्ने हैसियत गुमाइ सक्नुभएको छ । तर प्रधानन्यायाधिशलाई पदबाट हटाउन संवैधानिक बाटोबाट जानुको सट्टा स्वयं न्यायाधिशहरु हड्ताल गर्ने सर्वसाधारणलाई न्याय पाउने अवस्थाबाट बन्चित गर्ने, अधिवक्ताहरु बहस गर्नुको सट्टा बहिस्कार गरेर आन्दोलनमा जाने स्थिति सिर्जना भएको छ । जसकारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संकट ग्रस्त छ । यस संकटले मुलुकमा रहेको संविधान र व्यवस्थाको औचित्य माथि पनि प्रश्न चिन्ह् खडा गरेको छ´ उनले भने । यस विवादलाई एक संस्थामा देखिएको समस्याको रुपमा मात्र नहेर्न अध्यक्ष थापाले आग्रह गरे । समग्ररुपमा संविधान र व्यवस्थाको पक्षमा पनि पूनर्विचार गर्न राप्रपाले आह्वान गरेको उनको भनाइ थियो ।