भरतपुर, ९ मंसिर ।
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटनको दिनमा चितवनमा ‘नो भेइकल मुभमेन्ट’ भनेर गलत हल्ला फैलाएको नेता योगेश भट्टराईले स्पष्ट पारेका छन् ।
बिहीबार साँझ उद्घाटन सत्र स्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘नो भेइकल मुभमेन्ट भन्ने नि दुनियाँमा कहिँ हुन्छ ? पब्लिक गाडी, दमकल, एम्बुलेन्स सबै चल्छन् । सहजीकरणका लागि सुरक्षा निकायसँगै हाम्रा स्वयंसेवक खट्छन् ।´
एक दिनको लागि सवारीको अत्याधिक चाप र सडकको पूर्वाधार हेरेर मालबाहक सवारी भने रोकिदिन आफूहरुले आग्रह गरेको उनले बताए ।
जिल्ला सुरक्षा समितिसँग ‘नो भेइकल मुभमेन्ट’बारे कुनै सम्झौता नभएको भट्टराईले जनाए । ‘भेइकल मुभमेन्ट हुन्छ, व्यवस्थापन गर्ने जिम्मेवारी प्रशासनको हो । पब्लिक गाडी पनि चल्नुपर्छ, एमालेको उद्घाटनमा आउने गाडी पनि चल्नुपर्छ, दमकल साइकल सबै चल्नुपर्छ ’ उनले स्पष्ट पार्दै भने ।
भोलि हुने नेकपा एमालेको उद्धघाटन सत्रमा पाँच हजार स्वयमसेवक खटिने भएका छन् । उद्धघाटन स्थलमा पाँच लाख उतार्ने दाबी गर्दै आएको पार्टीले महाधिवेशनमा सहभागि हुन आएका नेता कार्यकर्ताको सहजीकरणको लागि स्वयंसेवक खटाउन लागेको महाधिवेशन प्रचारप्रसार संयोजक योगेश भट्टराईले बताए ।