गैंडाकोट, ८ मंसिर ।
नेपाली काँग्रेस नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ को सभापतिमा युवा नेता अमृत भट्टचन विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कमलप्रसाद पराजुलीलाई भारी मतले पछि पार्दै युवा नेता भट्टचनले सभापति पदमा बाजी मारेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निकटका मानिने भट्टचनलाई जिल्लामा नेता महेन्द्रध्वज जिसी समुुहको साथ थियो । सभापति पदमा पराजित भएका कमलप्रसाद पराजुली काँग्रेस महामन्त्री शंसाक कोईराला समुहका नेता हुन् ।
नवलपुरको क्षेत्र नं. १ मा पटकपटक शसांक कोइरालाले चुनाव जितेर गएपनि उनी निश्चित समूहको घेरा भित्र परेको भन्दै भट्टचनले सो सिन्डिकेट तोड्नको लागि आफूले उम्मेदवारी दिएको बताउँदै आएका थिए ।
सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भए भने सहसचिवमा तेजप्रसाद घिमिरे र टीकाराम सापकोटा विजयी भएका छन् । सचिव पदमा विजयी भएका शालिकराम सापकोटा र सहसचिव पदमा विजयी भएका टीकाराम सापकाेटा दुवै सभापति भट्टचन पक्षका उमेदवार हुन् । सभापति पदमा अमृतले बाजी मारेसँगै अबकाे जिल्ला अधिवेशन कसकाे पाेल्टामा जाने हाे भन्ने विषय पेचिलाे बनेकाे छ ।
क्षेत्रीय सभापतिमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टचनले काँग्रेस एक बनाएर अघि बढ्ने बताए । `समग्र युवाहरुकाे प्रतिनिधित्व र अग्रजलाई सम्मान गर्दै पार्टी बलियाे बनाउन लाग्ने छु´ उनले भने – `गुट र उपगुटले पार्टीलाई राम्राे गर्दैन ।´