भरतपुर, ७ मंसिर ।
भरतपुर अस्पतालले स्वास्थ्य बीमाको पनि अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बिमा टिकट बाहेक अनलाईनबाट ओपीडी टिकट सुरु गरेको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर मंसिर ८ गतेदेखि स्वास्थ्य बिमाको टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो बुधवारबाट अनलाइन टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।
टिकट लिन अत्याधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको पौडेलले बताए ।
कोरोना पछि दैनिक स्वास्थ्य विमाका बिरामी ८ सयको हाराहारीमा भरतपुर अस्पतालमा आउने गरेका छन् । सामान्य अवस्थामा यहाँ दैनिक १ हजार भन्दा बढी बिरामी आउने गरेको उनले जानकारी दिए । `अहिले सरदरमा दैनिक १० जनाले अनलाइन टिकट लिने गरेका छन् । स्वास्थ्य विमाको पनि अनलाइन टिकटको व्यवस्था गरेपछि अनलाइन टिकट लिने बिरामीहरु बढ्नेछन्´ – पौडेलले भने ।