भरतपुर, ६ मंसिर ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भरतपुर महानगरपालिका वडा नं ४, लंकुस्थित जेम्स वर्ल्ड फन पार्कको भ्रमण गरेका छन् ।
भरतपुर महानगरको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा सहभागी हुन चितवन आएका आले कार्यक्रम सकिएपछि अवलोकनका लागि पार्क पुगेका हुन् । उनीसँगै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्री र वाग्मती प्रदेश सांसद पार्वती सिलवाल पनि फनपार्कमा पुगेका थिए ।
सरकारले गर्नुपर्ने काम पार्कका अध्यक्ष महेश तिवारीआफैँले गर्न सकेको जिकिर गर्दै मन्त्री आलेले तिवारीलाई धन्यवाद पनि दिए । “आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्नलाई सबै पर्यटन व्यवसायीहरूसँग हातेमालो गरेर राज्य अगाडि बढ्छ । युवाहरूले रोजगार सृजनामा भूमिका खेल्नुपर्छ ।’
नेपालकै उत्कृष्ट भनिएको जेम्स वर्ल्ड फन पार्क सञ्चालन सुरु गरिएको दुई वर्ष पुगिसकेको छ । फन पार्कमा बालबालिकाका साथै ठूला उमेर समूहका व्यक्तिहरूले समेत खेल्न सकिने वाटर तथा ड्राइ गेमहरू समावेश गरिएका छन् ।