भरतपुर, ६ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए ।
प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माणको काम भइरहेको बताए । उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रसारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तीमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए । मङ्सिर ९ गते हस्तान्तरण गर्ने गरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए ।
पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन समेत गरेको उनको भनाइ छ । महाधिवेशन तयारीको कामले आइतबारदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताए ।
मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट ¥याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट ¥याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताए । व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताए ।