भरतपुर, ५ मंसिर ।
कोरोना माहामारीका कारण लामो समयदेखि ठप्प जस्तै बनेको चितवनको पर्यटन व्यवसायमा एमालेको दशौं महाधिवेशनले चहलपहल बढेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा पाँच लाख एमाले कार्यकर्ता सहभागी हुने कुराले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
चाडबाड सुरु भएसंगै चितवनको मुख्य पर्यटकीय क्षेत्र सौराहामा विस्तारै चहलपहल सुरु भएको थियो । यसले व्यवसायीमा झिनो आशा जगाएको थियो । तर, आशन्न एमालेको दशौं महाधिवेशनले चितवनका व्यवसायीहरु उत्साहित देखिएका छन् ।
मंसिर १० देखि तीन दिनसम्म हुने महाधिवेशनका लागि एमालेले सौराहाका ३ हजार ५ सय कोठा बुक गरि सकेको छ । एमालेको महाधिवेशनका लागि सौराहाका साथै भरतपुरका होटलहरु पनि धमाधम बुकिङ भइरहेका छन् ।
एमाले महाधिवेशनमा सहभागीहरुलाई व्यवसायीहरुले ५० प्रतिशत छुट दिएका छन् । अर्कोतर्फ महाधिवेशन नजिकिएसँगै चितवनको साजसज्जालाई पनि झकिझकाउ बनाएको छ ।
एमालेको महाधिवेशन स्थल नजिकै पर्यटकीय गतिविधि बढाउन व्यवसायीले स्टल निर्माण गर्दैछन् । जसबाट सहज रुपमै हात्ती सफारी, जीप सफारी, डुंगा सयरका लागि टिकट र जानकारी प्रदान गरिनेछ ।