भरतपुर, ५ मंसिर ।
नेपाल भ्यालुयर्स एसोसियसन चितवन च्याप्टरले कुमारी बैंक भरतपुर शाखामा धर्ना दिएको छ । वीरगन्ज च्याप्टरका सदस्य इन्जिनियर राजेशकुमार चौरासीयालाई केन्द्रीय अनुसन्धान व्युरोले २२ गते नियन्त्रणमा लिएपछि एसोसिएसन आन्दोलित बनेको हो । बैंकको भरतपुर शाखामा १ घण्टा धर्ना दिएका छन् ।
गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा १ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण प्रवाह कार्यमा संलग्न भएको आरोपमा ३ जना ऋणी पक्षका, १ जना बैंकका कर्मचारी र जग्गाको मूल्यांकनकर्ता इन्जिनियर चौरासीया प्रहरी हिरासतमा छन् । नक्कली कागजात बनाएर ऋण स्वीकृति दिएको भन्दै कुमारी बैंक आलोचित बनेको छ ।
चितवन च्याप्टरले प्ले कार्ड सहित धर्ना दिएको हो । प्ले कार्डमा `काम गर्नेलाई जेल, बदमासी गर्नेलाई इज्जत किन ?´ `गलत गर्नेलाई कारवाही गर, इञ्जिनियरलाई होइन´ लगायतका नारा थिए । चितवन च्याप्टर अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले चौरासीयाको निशर्त रिहाइ नभएसम्म कडा आन्दोलन गरिने बताए ।
बैंकले उपलब्ध गराएको कागजातको शुद्धताको परिक्षण गर्ने काम मूल्यांकनकर्ताको नहुने बताए ।
चितवन च्याप्टरका उपाध्यक्ष पुरन सुवेदीले २४ गतेदेखि नै बैंक तथा वित्तीय संस्थामा धितो मुल्यांकनको काम रोकिएको बताए । उनका अनुसार चितवनमा ४० जना संगठित धितो मूल्यांकनकर्ता इन्जिनियरहरु छन् ।
नेपाल भ्यालुयर्स एसोसिएसनले आज देशभरका च्याप्टरहरुमार्फत विरोध तथा धर्ना गरेको छ ।