भरतपुर, ४ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका आफ्नो पार्टीका लागि एलर्जी नभएको बताएका छन् । एमसीसीबारे अलपार्टी मिटिङले चाँडै नै निर्णय गर्ने पनि उनले बताएका हुन् ।
भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अमेरिका र एमसीसीबारेमा उनले सो धारणा राखेका हुन् । उनले भने, ‘अमेरिकाप्रति कुनै एलर्जी होइन, ओर्जीनल र पछि गरेको संशोधन सहमतिबारे स्पष्ट हुन जरुरी छ मात्रै भनेको हो ।’ आफूहरुले एमसीसीबारे बहस गर्ने र त्यसका लागि नागरिक अगुवा, बुद्धिजिवी, पत्रकार, सम्पादकलगायतसँग गहन छलफल गरेर एउटा समझदारीबाट निकास निकाल्ने उनको भनाइ थियो ।
आफूले एमसीसीका प्रतिनिधिहरुसँग कुरा गर्दा यो अनुदान कुनै पनि हालतमा फिर्ता जान नहुने तर्क राखेको जानकारी दिए । तर केही बुँदामा अस्पष्ट भएकाले थप प्रष्ट हुन चाहेको कुरा राखेको प्रचण्डले बताए ।
अमेरिकासँग नेपालको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध रहेको बताउँदै उनले भने, ‘त्यहाँबाट आएको अनुदान तथा बजेटबाट धेरै कार्यक्रमहरु नेपालमा संचालन भइरहेका छन् । त्यसैले एमसीसीका केही बुँदा संशोधन गरेर पास गर्नुपर्छ ।’
एमसीसीबारेमा प्रधानमन्त्रीसँग पहिले नै आफ्नो कुरा भएको र आगामी ८ गतेलाई अलपार्टी मिटिङ तय भएपनि एमालेका कारण सो मिटिङ केही पछि सारिएको उनले बताए । उनले भने, ‘एमसीसी ठूलो समस्या होइन । अलपार्टी मिटिङले त्यसको निर्णय गर्नेछ । एमालेले सधैँ एउटा न एउटा अड्को थाप्ने गर्छ । अहिले पनि एमालेले आफ्नो महाधिवेशन भएका कारण केही समय सारौँ भनेकाले अलपार्टी मिटिङ सारिएको हो ।’
न्यायालयमा अहिले देखिएको समस्याकाबारेमा आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण रहेको उनले बताए । अदालतको गरिमा, स्वतन्त्रता कायम राख्ने गरी छिटोभन्दा छिटो समाधान गराउन आफूले सरकार प्रमुखसँग कुरा गरिरहेको उनको भनाइ थियो । अदालतभित्रको विवाद त्यहीँबाट समाधान होस् भन्ने चाहना रहेको भन्दै गठबन्धनले गम्भीर ध्यानाकर्षण गराएको उनको भनाई थियो ।
उनले भने, ‘न्यायालयमा राजनीतिक दलले कतैबाट पनि कुनै दबाब दिनुहुँदैन भन्ने हाम्रो मान्यता छ ।’
शनिबारदेखि सुरु भएको नेकपा माओवादीको वडा अधिवेशन सहजरुपमा सबैतिर सम्पन्न हुने उनले बताए । उनले भने, ‘धेरै ठाउँमा सहमतिमै वडा अधिवेशन भइरहेको छ । नीतिसम्मत अधिवेशन चलिरहँदा समयमै महाधिवेशन सम्पन्न हुनेछ ।’