भरतपुर, १ मंसिर ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा निर्वाचन जित्नका लागि आफू चितवनको माटोको आशीर्वाद लिन आएको बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा ‘दलमा रूपान्तरण र देशमा रूपान्तरणको अनिवार्य शर्त’ नामक अवधारणापत्र सार्वजनिक गर्दै शर्माले यस्तो बताएका हुन् ।
२१ वर्ष पहिले चितवनमा सम्पन्न महाधिवेशनबाट नै आफू नेपाल विद्यार्थी संघको सभापति बनेको स्मरण गर्दै प्रवक्ता शर्माले भने, ‘२१ वर्ष पहिले चितवनबाटै एक हप्ता चलेको महाधिवेशनबाट नेविसंघको सभापति बनेँ, विद्यार्थी आन्दोलन गर्ने नेतृत्वमा पुगेँ । महामन्त्री बन्न चितवनको आशीर्वाद लिन फेरि आएको छु ।’



उनले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन् । यसअघि उनले असोजमा झापाबाट ‘राजनीतिमा परिवर्तन’ सम्बन्धी अवधारणापत्र सार्वजनिक गरेका थिए । उनले १५ वर्षको सपना बोकेको कांग्रेस बनाउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘एउटा चुनाव जित्ने अर्को चुनाव हार्ने अवस्था कांग्रेसले बदलेर लगातार १५ वर्ष जित्ने नीति बनाउनु पर्छ । कांग्रेसका दिन सिद्धिए भन्नेहरुनै ढोका ढक्ढकाउँदै खोज्न आए, हामी १५ बर्षसम्म लगातार जित्ने लक्ष्य लिएर हिँड्नुपर्छ ।’ उनले कमजोर रुखलाई हाँगामा फेयर एण्ड लभ्ली लगाएर नहुने भन्दै व्यंग्य गरे । ‘हाँगामा फेयर एण्ड लभ्ली लगाएर हुँदैन’ उनले भने, ‘रुख बलियो हुन जरा बलियो बन्नुपर्छ, त्यसका लागि जरामा मल हालेर गोडमेल हुनुपर्छ, वडा समिति सक्रिय हुनुपर्छ ।’
सत्ताका लागि गठबन्धन भए पनि महासमिति र जिल्लाबाट एस—नो भोटिङ गरेर आएको सुझावका आधारमा मात्रै आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने निर्णय लिनुपर्ने उनले बताए ।


