उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष भई २०७२–७४ को कार्यकाल सफलतापूर्वक पूरा गरेका राजन गौतम नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश समितिको पूर्वउपाध्यक्ष पनि हुन् । भरतपुर महानगरपालिका–३ निवासी गौतमको राजनीतिक यात्रा उनले एसएलसी दिएको बालकुमारी माध्यमिक विद्यालयबाट २०५० सालमा सुरु भयो । त्यतिबेला उनी नेपाल विद्यार्थी संघ बालकुमारी इकाई अध्यक्ष थिए । बालकुमारी कलेज नारायणगढबाट व्यवस्थापनमा स्नातक तह पूरा गरेका उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।
लायन्स क्लब अफ चितवन सिटीका सदस्य उनी लायन्स क्लब अफ नारायणी एमजेएफको संस्थापक अध्यक्ष हुन् । राउण्ड टेबल नारायणगढका पूर्वअध्यक्ष गौतम नेपाल क्षयरोग निवारण संस्था चितवनको विशिष्ट सदस्य र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आजीवन सदस्य समेत हुन् । मानव अधिकार तथा शान्ति समाज नेपाल चितवनका सदस्य उनी बालकुमारी र भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति सल्लाहकार भइसकेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग प्रवद्र्धन समितिको सदस्य र चितवन जिल्ला काँग्रेसको उद्योग विभागको सदस्य छन् ।
पारिवारिक पृष्ठभूमि काँग्रेस भएकोले उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहे । २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा रहेर खटिएका गौतम परिआउँदा पार्टीलाई कर्मठ सदस्यको नाताले सहयोग गर्दै आएको बताउँछन् । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा चितवन जिल्ला उपसभापति पदमा उम्मेदवार बनेका गौतम प्रष्ट शब्दमा भन्छन्, “भिख मागेर पार्टी चलाउन पाइँदैन । पार्टी बेचेर घर चलाउन पाइँदैन ।”
प्रस्तुत छ, व्यक्तिको विकासभन्दा पनि समाज र देशको विकासका लागि राजनीतिक नेतृत्व लाग्नु पर्छ भन्ने मान्यता बोक्ने गौतमसँग कायाकैरन दैनिकका प्रधान सम्पादक सूर्यप्रकाश कँडेलले लिएको अन्तर्वार्ता :
नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा उपसभापति पदमा तपाइँको उम्मेदवारी किन ?
मैले जिल्ला उपसभापति पदमा कुनै लहड वा रहरले उम्मेदवारी दिएको होइन । मेरो उम्मेदवारीका पछाडि केही कारण छन् । पहिलो, कुनै पनि पार्टी वा संस्थाको नेतृत्वमा रहेको व्यक्तिले समस्याको पहिचान गरी समाधानको उपाय दिन सक्नुपर्छ । समस्या औँल्याउन र समाधान दिन सक्ने क्षमता मभित्र छ । त्यसैले मेरो उम्मेदवारी ।
दोस्रो, नेतृत्व नीतिका लागि हुनुपर्छ । नीति नभए व्यक्तिका लागि नेतृत्व हुन्छ, समाजका लागि हुँदैन । मैले यसभन्दा अगाडि मलाई पार्टीले, समाजले र मैले नै नेतृत्व गरेको संस्थाले दिएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको छु । अब पार्टीमा योगदान दिन चाहन्छु ।
तेस्रो, “अब तपाइँ जिल्ला पार्टीको पदाधिकारीमा आउनु पर्छ” भन्ने अग्रज र शुभचिन्तकहरुको दबावका कारण पनि मेरो उम्मेदवारी आएको हो ।
चौथो, बिपीले प्रतिपादन गर्नुभएको समाजवादको सिद्धान्तमा पार्टी चल्न कतै न कतै चुकेको छ । नेतृत्व व्यक्तिप्रधान भयो, नीतिप्रधान हुन सकेन । नेतृत्व नीतिप्रधान हुनुपर्छ भनेर मैले जिल्ला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको छु ।
पाँचौँ, मैले पार्टीको सिपाहीको रुपमा पार्टीले खटाएको ठाउँमा सफलतापूर्वक जिम्मेवारी निभाएको छु । अझै पनि पार्टीबारे केही सिक्न र बुझ्न चाहन्छु । अहिले नेतृत्वमा जो आए पनि भावी नेतृत्वको बलियो खम्बाको रुपमा काम गर्न चाहन्छु । नेतृत्वलाई सघाउन चाहन्छु ।
उद्योग वाणिज्य संघको राजनीतिमा अगाडि नबढेर प्रत्यक्ष पार्टी राजनीतिमा किन आउनु भयो ?
उद्योग वाणिज्य संघ चितवनको नेतृत्व लिएपछि वागमती प्रदेश समितिको उपाध्यक्ष बनेँ । त्यसभन्दा अगाडि बढ्ने वातावरण बनेन । अब पार्टीकै राजनीतिबाट आर्थिक र सामाजिक समस्या समाधान गर्न सक्छु भन्ने लागेको छ । समस्या पहिचान गर्ने काम उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा भयो । अब ती समस्याको समाधान गर्न प्रत्यक्ष राजनीतिमा आएको छु ।
आफ्नो जितप्रति कत्तिको आशावादी हुनुहुन्छ ? जितका आधार केके हुन् ?
जिल्ला सभापति पदका सबै आकांक्षीको सद्भाव मप्रति छ । उहाँहरुकै आग्रह, शुभचिन्तकहरुको चौतर्फी दबाव र पार्टीको आवश्यकताले उपसभापति पदमा उम्मेदवारी दिएको हूँ । यो नै मेरो जितको प्रमुख आधार हो । जितप्रति पूर्ण आशावादी छु ।
मैले विगतमा सामाजिक दायित्व राम्रोसँग पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेको छु । समाजले मलाई पत्याएको छ । मतदाताहरुको साथ र सहयोग पाउँछु भन्ने विश्वास छ । यही नै मेरो जितको आधार हो ।
समाजले खोज्ने प्रमुख कुरा आर्थिक इमानदारी र अनुशासन रहेछ । विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहँदा मैले आर्थिक इमानदारी र अनुशासनमा आफूलाई अब्बल साबित गरेको छु । यसबाहेक पार्टीका साथीहरुले सहयोगको आश्वासन दिएका छन् । मतदाताको साथ र सहयोगले म उपसाभापति पदमा अत्याधिक मतका साथ विजयी हुन्छु भन्नेमा विश्वस्त छु ।
मैले उपसभापतिमा उम्मेदवारी घोषणा गरेपछि पार्टीका अग्रजहरुको उत्साह बढेको पाएको छु । “तपाइँजस्तो कर्मठ र इमानदार मान्छे पार्टी नेतृत्वमा आउन खोज्नु खुसीको कुरा हो” भन्ने जवाफ पाएको छु । अग्रजहरुको यो माया र सद्भाव पनि मेरो जितको आधार हो ।
तपाइँ उद्यमशीलतामा रमाइरहेको एक जना उद्योगी हुनुहुन्छ । कमाई राम्रै छ । राजनीतिमा किन आउन खोज्नुभएको हो ?
तपाइँले ठिक भन्नुभयो । उद्योग र व्यवसायमा संलग्न भई आर्थिक रुपमा सबल मान्छे हूँ । अब पार्टीलाई पनि आर्थिक रुपमा सबल बनाउनु पर्छ । पार्टीमा संलग्न भई आर्थिक लाभ लिने काम गलत छ । पार्टी व्यक्तिको आर्थिक उत्थानका लागि होइन , नीतिका लागि हो । पार्टीलाई आर्थिक रुपमा सबल र सुदृढ बनाउनु पर्छ भन्ने लागेर राजनीतिमा आएको हूँ ।
पैसा खर्च गरेर पार्टीमा आउनुको कारण कतै पैसा कमाउन आएको त होइन ? भन्ने जनआशंका व्याप्त छ । यसबारे तपाइँको मत के छ ?
कुनै पनि व्यवसायी पार्टीमा पैसा कमाउन आउँदैन । मागेर पार्टी चलाउने, पार्टी बेचेर घर चलाउने कामको अन्त्य हुनुपर्छ । यो नै मेरो प्रमुख एजेण्डा हो ।
कुनै पनि राजनीतिक पार्टी आर्थिक रुपमा सबल देखिँदैनन् । नेपाली काँग्रेस पार्टी चितवनलाई आर्थिक रुपमा सबल बनाउन के योजना छ तपाइँसँग ?
ठिक भन्नुभयो । पार्टी आर्थिक रुपले सबल छैन । पार्टीका लागि कतिपयले समय दिएका छन् भने कतिपयले जीवन नै उत्सर्ग गरेका छन् । कतिपयले आर्थिक रुपले सहयोग गरेका छन् । चितवनमा नेपाली काँग्रेसका क्रियाशील सदस्य २८ हजार जति छन् । सबैले वर्षमा एक हजार रुपैयाँ प्रतिवर्ष पार्टीलाई सहयोग गर्न सक्छन् । सबैले यो सहयोग दिन नसक्लान्, केहीले बढी नै देलान् । औसतमा एक क्रियाशील सदस्यले वर्षमा एक हजार रुपैयाँ दिन्छन् भन्ने हिसाबले वर्षमा दुई करोड ८० लाख रुपैयाँ संकलन गर्न सकिन्छ । पाँच वर्षमा १४ करोड संकलन हुनेछ।
त्यो १४ करोडमात्र होइन, आर्थिक रुपले सक्षम अन्य साथीहरुबाट थप सहयोग जुटाई पाँच वर्षमा २५ करोड रुपैयाँ संकलन गर्न सकिन्छ । पार्टीमा रहेका आर्थिक रुपले विपन्न साथीहरुलाई त्यो रकमबाट सहयोग गर्न सक्छौँ । राहत कोष बनाएर कोही घाइते हुँदा वा निधन हुँदा परिवारलाई राहत दिन सक्छौँ ।
पार्टीका विभिन्न तहका निर्वाचनमा पैसा खर्च गर्ने होडबाजी देखिन्छ । यसले आर्थिक रुपमा कमजोर तर पार्टीका इमानदार नेता तथा कार्यकर्ता सधैँ पछाडि पर्ने देखिन्छ । यसको अन्त्यका लागि अब उम्मेदवार हुन पैसा खर्च गर्ने होइन, पाँच वर्षपछि लोकप्रिय उम्मेदवारलाई नै पार्टीले सहयोग गर्नेछ । यसो गर्दा पैसाको बलमा उम्मेदवार बन्ने परिपाटीको अन्त्य हुनेछ ।
पार्टी सदस्य कुनै दुर्घटनामा परेमा घाइतेलाई २५ हजार रुपैयाँ उपचार खर्च सहयोग गर्न सक्छौँ । मृत्यु नै भएको अवस्थामा तत्काल किरिया खर्च भनेर एक लाख रुपैयाँ दिन सकिन्छ । यी सबै सहयोग रकम कोषमा रहेको रकमको ब्याजबाट व्यवस्थापन गर्न सकिन्छ ।
राहत कोषको परिचालन र संरक्षण कसरी गर्ने त ?
राहत कोषको संरक्षकका रुपमा जिल्ला पार्टीका पूर्वसभापतिहरु र पूर्वसांसदहरुलाई राख्न सकिन्छ । २५ करोडमा थपिँदै जाने मूल कोषलाई अक्षयकोषको रुपमा राखिने छ । कोषमा निरन्तर रुपमा रकम थपिने छ । यसरी पाँच वर्षभित्र पार्टीलाई स्वेच्छाले सहयोग गर्न चाहनेबाहेक अरुसँग पार्टीले रसिद काटेर आर्थिक सहयोग वा चन्दा लिन नपर्ने अवस्थामा पुग्न सकिन्छ ।
राहत कोष र अन्य योजनालाई मूर्तरुप दिन तपाइँले नेतृत्वको सहयोगी भएर काम गर्दामात्रै सम्भव छ कि जिल्ला कार्य समितिमा आउने अरु कसैले पनि यसको कार्यान्वयन गर्न सक्छन् ?
मैले यसभन्दा अगाडि आफू नेतृत्वदायी भूमिकामा रहेका संस्थामा ‘नेतृत्वमा मै जानुपर्छ’ भनेर कहिल्यै भनिन । म नेतृत्वमा पुगेका संस्थामा मैैले नीति र विधिमै काम हुनुपर्छ भन्ने सोचेर काम गरेँ, सफल पनि भएँ ।
पार्टीको जिल्ला अधिवेशनबाट म उपसभापति पदमा निर्वाचित भएमा सघनरुपमा पार्टीको हितमा काम गर्न सक्छु भन्ने लागेको छ । म जिल्ला समितिमा आए पनि वा नआए पनि हामीले जिम्मा लगाएको नेतृत्वले पार्टीको हितमा काम नगरेको खण्डमा खबरदारी गर्ने काममा सबै जना लाग्नु पर्छ ।
यसअघिको नेतृत्वलाई मैले मेरा योजना सुनाएको थिएँ । तर कार्यान्वयन भएन । यसपटक म आफैँ जिल्ला नेतृत्वको सहयोगी भएर ती योजना पूरा गर्न चाहन्छु । काँग्रेसमात्र नभई अन्य राजनीतिक पार्टीलाई पनि यो मेरो सन्देश हो आर्थिक रुपमा पार्टीलाई सबल बनाउनका लागि । पार्टीलाई भिख माग्ने संस्था हुनबाट रोकौँ ।
युवा पुस्ता काँग्रेसप्रति आकर्षित छैनन् । पाका र पुराना काँग्रेसीहरु आफूलाई अपमानित महसुस गरिरहेका छन् । यस्तो अवस्थाको अन्त्य सम्भव छ ?
पार्टीका लागि आफ्नो जीवनको महत्वपूर्ण समय खर्चेका योद्धाहरुको सम्मान हुनुपर्छ । नयाँ पुस्तालाई काँग्रेसप्रति आकर्षित गराउनु पर्छ । काँग्रेस भएकोमा गर्व गर्ने र काँग्रेस हुनका लागि चाहना राख्ने वातावरण अबको कार्यसमितिले बनाउने छ भन्नेमा म आशावादी छु । यसका लागि पार्टीभित्र मेरो खाँचो महसुस गरेर मलाई मतदाता साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने मेरो दृढ विश्वास छ ।
आजको राष्ट्रिय आवश्यकता के हो भन्ने लाग्छ तपाइँलाई ?
रोजगारयुक्त समाज र भ्रष्टाचारमुक्त राष्ट्र’ आजको राष्ट्रिय आवश्यकता हो । त्यसैका लागि पनि हो मेरो उम्मेदवारी । व्यक्ति स्वयंबाट परिवर्तन सुरु गर्ने हो भने परिवार, समाजहुँदै राष्ट्रमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु ।