भरतपुर, १ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढेको बताएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको पार्टीको आसन्न १० औं महाधिवेशनको तयारीबारे जानकारी दिन बुधबार भरतपुरमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशन व्यवस्थापनको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिएका हुन् ।
व्यवस्थापनको काम अन्तर्गत नारायणी किनारमा हुने उद्घाटन र बन्दसत्र हुने सौराहामा पूर्वाधार निर्माणको काम अगाडि बढेको उनले बताए । बुधबारदेखि उद्घाटनस्थलमा भव्य मञ्च निर्माणको काम सुरु भएको र नारायणी किनारमा सरसफाई गर्ने काम सँगसँगै महाधिवेशन उद्घाटन हेर्न आउने आमजनसमुदायलाई व्यवस्थापन गर्न आवश्यक तयारी थालिएको उनले बताए । महाधिवेशन प्रतिनिधिको लागि आवासको व्यवस्था गरिसकेको उनले जानकारी दिए ।
‘हिजो भर्खरै आवास समितीले चितवन सौराहामा ३५ सय बेडहरु बुक गरिसकेको छ । महाधिवेशन प्रतिनिधी , स्वयमसेवक, महाधिवेशनको व्यवस्थापनमा खटिनुपर्ने अति आवश्यक साथीहरुलाई आवासको व्यवस्था हुनेछ’ उनले भने । महाधिवेशनका लागि गठित विभिन्न समिति आआफ्नो जिम्मेवारीअनुसार खटिइसकेको प्रचार विभागका प्रमुख भट्टराईले उल्लेख गरे ।
‘महाधिवेशन जनपरिचालन समितिले देशभरका पार्टी सदस्य, शुभेच्छुकलाई चितवन ल्याउनका जिल्लाजिल्लामा पार्टीका भेला र बैठक अगाडि बढाएका छन् । सञ्चारकर्मीहरुको लागि प्रत्यक्ष प्रसारणमा धेरै अप्ठ्यारो नहोस् भन्नका लागि पार्टीले केन्द्रीय नीति बनाएको छ । देशभरका सञ्चारमाध्यमले सिग्नल लिएर आफ्नो हिसाबले पत्यक्ष प्रसारण गर्न सक्ने छन्’ उनले उल्लेख गरे ।
एमाले नेता एवं वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति गठन गरिएको उनले बताए । केन्द्रीय प्रचार समिति साथै चितवन सहयोग समितिमा चितवन र आसपासका जिल्लाका प्रतिनिधिको प्रतिनिधित्व हुने भट्टराईले जानकारी दिए । यसले चितवनमा हुने महाधिवेशनको लागि सबै व्यवस्थापन गर्ने उनले बताए ।
एमालेको १० औँ महाधिवेशनका लागि ६६ जिल्लाका प्रतिनिधिहरु छनोट भइसकेको उनले बताए । अधिकांश सर्वसम्मत र केहीमा प्रतिस्पर्धाबाट छनोट भएको उनले बताए । ३२ वटा विभाग, जनसंगठनहरु, सम्पर्क कमिटीबाट पनि छनोट भइसकेको उनले बताए । विदेशमा बस्ने नेपालीहरुको बीचमा भएका पार्टीको कमीटीबाट छनोट सम्पन्न भएको उनले बताए ।
यो महाधिवेशनमा डिजिटल प्लेटफर्मबाट पार्टीको प्रचार अभियानलाई जोड्ने उनले बताए । ‘कागजका पोस्टर टाँस्ने, भित्तामा लेख्ने यसपटक गर्दैनौँ । डिजिटल प्लेटफर्म र सोसल मिडियाको भरपुर प्रयोग गर्नेछौँ’ उनले भने ।
महाधिवेशन प्रचारको लागि मंसिर ७ गते देशभर विशाल मोटरसाइकल र्यालीको आयोजना गर्ने समेत उनले जानकारी दिए ।
प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनमा देशभरबाट पाँच लाख पार्टी सदस्य सहभागी हुने दाबी गरे । महाधिवेशनको खर्च पार्टीको आन्तरिक स्रोतबाट गरिने उनले बताए । ‘हामीले महाधिवेशनका लागि सार्वजनिक ढङ्गले चन्दा उठाउँदैनौँ, एमालेको आन्तरिक स्रोतबाट पार्टी सदस्यताको लेबी, प्रत्येक पार्टी सदस्यलाई एक सय रुपैयाँ महाधिवेशनको लागि अपिल गरेका छौँ’ उनले बताए ।
यो महाधिवेशनमा विभिन्न देशका क्रियाशील राजनीतिक दलहरुलाई पनि आमन्त्रण गरेको उनले बताए । त्यसमा भ्रातृसम्बन्ध भएका देशका कम्युनिष्ट पार्टीहरु पनि रहेका र दर्जनौँ देशका राजनीतिक दलका प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले जानकारी दिए । नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि र देशभित्रका विभिन्न राजनीतिक दललाई निमन्त्रणा पठाएको उनले बताए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई भने महाधिवेशनको निमन्त्रणा नदिने उनले बताए ।
नेकपा एसका अध्यक्ष माधव नेपाललाई निमन्त्रणा पठाउनु भएको छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘उहाँलाई एमालेमै बस्ने इच्छा छैन, महाधिवेशनमा बस्ने इच्छा भएको भए वहाँ त सम्मानित नेताको हिसाबले बस्नुहुन्थ्यो । अर्को पार्टीको आमन्त्रित सदस्य भएर किन आउनुहुन्थ्यो ?’ नेता नेपाललाई आमन्त्रण गर्ने कुराको अर्थ नहुने उनले बताए । ‘हामीले उहाँलाई निमन्त्रणा गर्दैनौँ’ उनले स्पष्ट पारे ।
पार्टीको चितवनमा हुने महाधिवेशनको केही सन्देशहरु रहेको भट्टराईले उल्लेख गरे । ‘नेकपा एमालेलाई थप एकताबद्ध र सृदृढ बनाएर, महाधिवेशन सकेर फर्कंदा आगामी स्थानीय चुनाव र आउने संघ तथा प्रदेशको चुनावमा नेकपा एमालेले बहुमत हासिल गर्ने संकल्प लिएका छौँ’ उनले भने, ‘नेकपा एमालेलाई यो देशको देशभक्त, प्रगतिशील, अग्रगामी कम्युनिष्ट क्रान्तिकारीहरुको मूल पार्टीको रुपमा स्थापित गर्ने अर्को सन्देश र संकल्प लिएका छौँ ।’
विभाजित भएका विभिन्न कम्युनिष्ट समूहलाई नेकपा एमालेको नीति, सिद्धान्त र कार्यक्रममा समाहित गर्ने एउटै कम्युनिष्ट पार्टी नेकपा एमालेको अगुवाई नेतृत्वको संकल्प महाधिवेशनबाट गर्ने उनको भनाई थियो ।
चितवनको महाधिवेशन नेतृत्व सर्वसम्म्तको दिशामा गएको पनि उनको संकेत रहेको थियो । ‘यो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधिहरुको छनोट भएको छ । अधिकांश झण्डै ९५ प्रतिशत प्रतिनिधिहरु सर्वसम्मत ढङ्गले छनोट भएका छन् । यसले के संकेत गर्छ भने चितवन महाधिवेशन सर्वसम्मत ढङ्गले नेतृत्व चयन गर्दै अब सर्वसम्मतको दिशामा जानेछ ।’