भरतपुर, ३० कात्तिक ।
विवेकशील साझा पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्य समेत नरहने गरी छाडेको जानकारी दिएका हुन् ।
पार्टी छाड्नेमा चितवनकी सरला लामिछानेसँगै प्रतिभा डंगोल र दीपा अर्याल छन् । पार्टीको सिद्धान्त, विचार र बाटो नै फरक परिसकेको हुँदा पार्टी त्याग गरेको उनीहरूको भनाइ छ ।
‘हामीले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि हामी यो दलमा रहनुको कुनै औचित्य छैन । त्यसैले आजको मितिदेखि यो दलमा साधारण सदस्य पनि नरहने गरी सदस्यता त्याग गरेको घोषणा गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच भएको एकीकरण नै यस क्षतिको मूल कारक भएको उनीहरूले बताएका छन् । यसले दल र सिंगो वैकल्पिक राजनीतिलाई पुर्याएको क्षति आकलन गर्न केही समय लाग्ने पनि उनीहरूले बताए ।
कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने उनीहरूको बुझाइ छ ।