शहरकाे सुन्दरताका लागि बिजुली बत्ती झलमल्ल हुनुपर्छ । अँध्यारो कसलाई पाे मन पर्छ र ! केही कुरा परिवर्तन हुन लागेकाे संकेत गर्नुपर्यो भने ‘अँध्यारोबाट उज्यालोतिर’ गइरहेकाे भन्ने गरिन्छ । अर्थात उज्यालाे प्रगतिकाे बिम्ब पनि हाे ।
यति मात्र हाेइन, मान्छेकाे सुरक्षाको लागि पनि झलमल्ल उज्यालो चाहिन्छ । अँध्यारोमा मान्छे आफैँसँग पनि डराउँछ । अरूसँग त नडराउने कुरै भएन । अँध्यारोमा केही वस्तु देखिँदा पनि मान्छे तर्सिन्छन् । कालाे धब्बामा दिमागले अनेक आकृति साेचिदिन्छन् । केही आएजस्ताे, आक्रमण गर्न खाेजेजस्ताे, तर्साउनै आएजस्ताे ! अपराध गर्न अँध्यारोमै सजिलो हुन्छ । चाेरी, डकैती, हत्या, लुटपाट, अपहरण आदि अँध्यारोमै गरिन्छ । त्यसैले अँध्यारो अपराधकाे कारक पनि हाे ।
बजार क्षेत्र चलायमान बनाउन पनि उज्यालो चाहिन्छ । तर, हाम्रा बजार क्षेत्र उज्याला छैनन् ।
सडक बत्ती नभएका कारण साँझ परेपछि कामकाजीहरू हिँड्न डराउँछन् । उनीहरू भरतपुर र नारायणगढका मुख्य स्थानमै असुरक्षित महसुस गर्छन् । मुख्य बजार क्षेत्र वा भित्री सडक जताततै अँध्यारो देखिन्छ । अँध्यारोले खाल्डाखुल्डी पनि देखिन्न । मान्छे लड्छन्, खाल्डोमा पर्छन्, सवारीसाधन लरबरिन्छन्, पल्टिन्छन् ।
अरू त अरू, अस्पतालजस्तो संवेदनशील ठाउँका बाटोमा पनि सडक बत्ती छैनन् । सडक बत्तीबिनाको अन्धकार बाटो, त्यसमाथि वरिपरि झाडी । १० नं. वडा कार्यालय, जनतालाई सुरक्षा दिने निकाय जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको सडकमा पनि बत्ती छैन । रातिराति पनि हिँड्नुपर्ने भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायतको बाटो पनि चकमन्न नै हुन्छ । भरतपुरका यस्ता थुप्रै सडकमा रातको समयमा सवारीको लाइटबाहेक त्यहाँ अरु कुनै बत्तीको उज्यालो देखिन्न ।
भरतपुर केन्द्रीय बस टर्मिनल बसपार्कमा पोल छन् , बत्ती पनि बलेको छ । तर, उज्यालो छैन । बत्ती बले पनि त्यसले दिने प्रकाश मधुरो छ । साँझ परेपछि बसपार्क अन्धकारमय हुन्छ । लाइट नबल्दा बसपार्क कहाँ छ भन्दै साेध्नुपर्ने अवस्था छ ।
चौबीसै घण्टा चल्ने बसपार्कमा रात परेपछि सुरक्षा र यात्रुको सहजताका लागि अन्य सुविधा त परै जाओस्, बत्तीको उज्यालो पनि नहुनु चरम बेवास्ता हाे ।
भरतपुरलाई ‘स्मार्ट सीटी’ बनाउने भनेर बेलाबेला नेतृत्व तहमा रहेका जनप्रतिनिधिले भाषण गरेको सुनिन्छ । तर, जनता भने सडक बत्ती नबल्दा अँध्यारोमा हिँड्न बाध्य छन् । यसकाे मुख्य जिम्मा कसकाे हाे, काेही पनि जिम्मा लिन तयार छैनन् । भरतपुर–१० का वडाध्यक्ष एवं भरतपुर महानगरपालिकाका प्रवक्ता सबै ठाउँमा बत्ती राख्ने काम आफ्नाे नभएकाे बताउँछन् । विद्युत् प्राधिकरणले झनै त्यसकाे जिम्मा लिने कुरै भएन ।
नागरिक सुरक्षित गर्नु र शहरकाे सुन्दरता बढाउनु सरकारकाे जिम्मेवारी हाे । त्यसमा पन्छिने कुनै छुट छैन । शहरकाे सक्रियता, सुन्दरता र सुरक्षा सबै हिसाबले सडक बत्तीमा लगानी गर्नुपर्छ । सरकारी निकायहरूले यस्ता मुद्दामा समन्वय गर्नुपर्छ ।