भरतपुर, ३० कात्तिक ।
भरतपुर अस्पतालको फार्मेसीमा काम गर्ने सुमिरा आचार्य काम सकेर घर फर्कँदा झमक्कै साँझ पर्छ । रातको ८ बजे काम सकेर उनी पैदल घर फर्किँदा मनमा एक किसिमको डरले डेरा जमाउँछ । उनी सुनसान बाटोमा घर फर्किँदै गर्दा नजिकैबाट कोही मान्छे हिँड्यो भने झस्किन्छिन् । कारण हो अन्धकार बाटो ।
‘बत्ती भए त यति डर हुने थिएन होला, दूरसञ्चार कार्यालयदेखि हाकिमचोकसम्म त डरले फटाफट हिँड्छु’ उनले भनिन्, ‘यहीँ सबै महत्वपूर्ण कार्यालय छन् । तर बत्ती बल्दैन, अचम्म छ ।’ सडक बत्ती नभएका कारण साँझ परेपछि उनीजस्तै अधिकांश बटुवा भरतपुरका मुख्यमुख्य स्थानमै असुरक्षित महसुस गर्छन् ।
आइतबार साँझ भरतपुर अस्पतालमा बिरामी आफन्तलाई खाना पुर्याउन हिँडेकी भरतपुर–१० बस्ने अमृता पाण्डे सडक बत्ती नहुँदा आउजाउ गर्न सास्ती खेप्नुपरेको बताउँछिन् ।
‘एकदमै सास्ती छ, भर्खरै खाल्डोमा खुट्टा पर्यो । खुट्टा मर्किएको छ । बाटो नै अँध्यारो छ । अगाडिपछाडि केही देखिँदैन’ उनले खुट्टा खोच्याउँदै भनिन्, ‘यो त एकदमै लापरवाही हो । यस्तो जमाना खराब छ । बत्ती त ठाउँठाउँमा राख्नुपर्यो नि । अस्पतालजस्तो संवेदनशील ठाउँको बाटोमा त बत्ती छैन, अन्तको हालत के होला ?’
पुरानो मेडिकल कलेजमा एकाउन्टेन्ट काम गर्ने रविकिसन मिश्रले पनि सडक बत्ती नहुँदा अमृताको जस्तै नमिठो अनुभव भोगेका छन् । ‘मोबाइलको लाइट पनि थिएन, अँध्यारो सडकको बाटोमा हिँड्दा एकचोटी खुट्टा खाल्डोमा परेर मर्किएको थियो’ उनले तितो अनुभव पोखे । सडक बत्ती नहुँदा अस्पतालमा आउजाउ गर्ने बिरामीहरु थप मर्कामा परेको उनी सुनाउँछन् । ‘त्यही पुरानो मेडिकल कलेजबाट भरतपुर अस्पतालमा आउँदा पनि असुुरक्षित महसुस गर्नुहुन्छ सेवाग्राही । महँगो शुल्क तिरेर छोटो दुरीमा पनि अटो चढ्नु पर्छ । बत्ती भएको भए सुरक्षित हुने थियो’ उनले भने ।
सडक बत्तीबिनाको अन्धकार बाटो, त्यसमाथि वरिपरि झाडी । १० नं. वडा कार्यालय, जनतालाई सुरक्षा दिने निकाय जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको सडकमा पनि बत्ती छैन । रातिराति पनि हिँड्नुपर्ने भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायतको बाटो पनि चकमन्न नै हुन्छ । भरतपुरका यस्ता थुप्रै सडकमा रातको समयमा सवारीको लाइटबाहेक त्यहाँ अरु कुनै बत्तीको उज्यालो देखिन्न । भरतपुरलाई ‘स्मार्ट सीटी’ बनाउने भनेर बेलाबेला नेतृत्व तहमा रहेका जनप्रतिनिधिले भाषण गरेको सुनिन्छ । तर जनता भने सडक बत्ती नबल्दा अँध्यारोमा हिँड्न बाध्य छन् ।
बसपार्क पनि अँध्यारै
भरतपुर केन्द्रीय बस टर्मिनल बसपार्कमा पोल छन् , बत्ती पनि बलेको छ । तर उज्यालो छैन । बत्ती बले पनि त्यसले दिने प्रकाश मधुरो छ । साँझ परेपछि बसपार्क अन्धकारमय हुन्छ । बसपार्क अगाडिको भाँडा पसलका सञ्चालक रामबहादुर थापा बसपार्क अन्धकार हुँदा यात्रु मारमा परेको बताउँछन् । ‘हामीभन्दा पनि प्यासेन्जर मारमा छन् । लाइट नबल्दा बसपार्क कहाँ छ भन्दै मलाई सोध्नुहुन्छ । यो बसपार्क त अँध्यारोले मसानघाट जस्तो बनेको छ’ उनले भने, ‘यहाँ झलमल्ल बनाउने भनेर सोलार बत्ती हाले । अहिले हालेकै दिनदेखि जुनकिरी हो कि बत्ती थाहा छैन ।’
चौबीसै घण्टा चल्ने बसपार्कमा रात परेपछि सुरक्षाको र यात्रुको सहजताका लागि अन्य सुविधा त परै जाओस्, बत्तीको उज्यालो पनि नहुनु सरोकारवालाको बेवास्ता ठान्छन्, नारायणगढदेखि जनकपुरधाम बस सेवा चलाउँदै आएका राकेश शाह । बत्ती नहुँदा यात्रुलाई गाह्रो परेको र भनेको समयमा गाडी खोज्न पनि रातको समयमा गाह्रो भइरहेको उनले बताए । ‘हामीले गाडी प्रवेशको राजस्व बुझाउँछौ । तर बत्ती पनि कुनै बल्छ, कुनै बल्दैन । गाडीको सामान पनि चोरी होला कि भन्ने डर हुन्छ’ उनले भने ।
बसपार्कभित्रै होटल व्यवसाय चलाउँदै आएका गंगादत्त सापकोटा बत्ती अनिवार्य हुनुपर्ने आवश्यकता भए पनि रात परेपछि अन्धकार हुने बताउँछन् । ‘मैले एउटा बत्ती राखेको थिएँ । सोलार आयो भनेर फालिदिएँ । सोलार राखेको ६ महिनामा १ दिनमात्रै राम्ररी बल्यो होला’ उनले गुनासो पोखे । उनले बसपार्कमा होटल राखेको मासिक २० हजार भाडा बुझाए पनि भनेजस्तो सुविधा नभएको गुनासो गरे ।
हाम्रो जिम्मेवारी होइन : महानगर प्रवक्ता
भरतपुर–१० का वडाध्यक्ष एवं महानगरपालिका प्रवक्ता अरुण पीडित भण्डारी सडक बत्ती राख्नु आफ्नो जिम्मेवारी नभएको बताउँछन् । सडक बत्तीबारे जिज्ञासा राख्दा उनले भने, ‘कसले भनेको सडक बत्ती छैन भनेर ? अर्काले भनेको भरमा नभन्नुस् । भरतपुर अस्पतालमा बत्ती हामीले हाल्ने हो ? प्रहरी कार्यालयमा हामीले राख्ने हो ?’ उनले गैरजिम्मेवार तरिकाले जवाफ दिँदै भने, ‘जनताको घरदैलो अगाडि हामीले व्यवस्थापन गरिदिन्छौँ । सिडिओ, एसपी कार्यालय अगाडि, अस्पताल अगाडि हामीले गर्न सक्दैनौँ ।’ प्रवक्ता भण्डारीले आफ्नै वडा कार्यालय अगाडि बत्ती नभएको स्वीकार्दै त्यसको काम छिट्टै सकिने बताए ।
केन्द्रीय टर्मिनलको जनगुनासोबारे जिज्ञासा राख्दा उनले भने, ‘बत्ती नबालेर नबल्या हो । चाडपर्वले गर्दा कर्मचारीले समयमै काम नगरेर होला । सबैकुरा अपडेट हुन्छ ।’
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंह सडकमा बत्ती राख्ने काम आफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताउँछन् । ‘हामीले त विद्युत सप्लाई गर्ने हो । कहाँ बत्ती राख्ने, बाल्ने भन्ने त महानगरपलिका र वडाको काम हो’ उनले भने । उनले महानगरपालिका र विद्युत प्राधिकरणको संयुक्त लगानीमा ‘स्मार्ट स्ट्रीट लाइट’ को काम छिट्टै अगाडि बढ्ने उनले बताए । ‘स्मार्ट स्ट्रीट लाइटको काम छिट्टै अगाडि बढ्दैछ’ उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले सडक बत्तीको काम वडाको दायित्व हुने बताइन् । ‘तपाईंहरुले पनि वडामा खबर गर्नुहोस्, हामीले पनि भनौँला’ उनले आश्वासन दिइन् ।