भरतपुर/गैँडाकोट, ३० कार्तिक ।
कार्तिक महिनाको पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण क्षति हुन पुगेको धानबालीको विवरण संकलन गरिसक्न थप केही हप्ता लाग्ने भएको छ । घर भित्राउन काटेर खेतमा राखिएको धानलाई वर्षाको पानीले भिजाउँदा धानका दाना र पराल बिग्रिएका हुन् । पूर्वी चितवनका विभिन्न स्थानका साथै छिमेकी जिल्ला नवलपुरको गैँडाकोट, कावासोती लगायतका क्षेत्रमा काटेर राखिएका धानबालीमा क्षति पुगेको थियो ।
“मुख्य गरी खैरहनी, राप्ती र रत्ननगर क्षेत्रमा खेतमा बिछ्याइएका धान बढी भिजेको देखिएको छ । जिल्लामा हुने धानको कूल उत्पादनको करिब १२ प्रतिशतमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेका छौं”, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए । बालीमा पुगेको क्षतिको लगत संकलन गर्न केन्द्रले पालिकाहरूमार्फत सबै वडामा परिपत्र गरिसकेको छ । किसानहरूले क्षतिको विवरण टिपाउने क्रम जारी रहेकाले पूरा क्षति यकिन हुन अझै केही हप्ता लाग्ने केन्द्रले जनाएको छ ।
चितवन जिल्लामा हाल करिब २२ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपिने गरेको छ । जिल्लामा वर्षे धानको उत्पादन भने प्रति हेक्टर ३.५ मेट्रिक टनका दरले एक सिजनमा करिब ७७ हजार मेट्रिक टन हुने गरेको छ । उक्त तथ्यांकलाई आधार मान्ने हो भने यस पटक बेमौसमी वर्षाका कारण चितवन जिल्लामा लगभग ९ हजार मेट्रिक टन धान नष्ट भएको देखिन्छ । यहाँ मुख्यतः सावित्री, सावाँ, लगायतका जातका धान लगाइने गरेको छ ।
खैरहनी नगरपालिकाको कृषि शाखाका दीपेन्द्र अर्यालले नगरभित्र ७२५ हेक्टरमा वर्षाले क्षति पुर्याएको विवरण प्राप्त भएको बताए । “क्षतिको लगत संकलन गरेर कृषि ज्ञान केन्द्रमा पठाइसकेका छौं”, अर्यालले कायाकैरनसँग भने, “त्यो क्षेत्रफलमा पूर्ण क्षति भने पुगेको होइन । पानीले भिजाएर धानको गुणस्तरमा कमी ल्याएको भएपनि सुकाएर पराल तथा धान पुनः प्रयोग गर्न मिल्ने अवस्थाका पनि छन् ।” लडेका धानलाई पनि क्षति पुगेको भनी वर्गीकरण गर्दा क्षेत्रफल धेरै देखिन पुगेको उनले उल्लेख गरे । अन्य स्थानीय तहहरू भने अन्तिम विवरण अर्काे हप्तासम्ममा बुझाउने तरखरमा छन् ।
कृषि ज्ञान केन्द्रहरूले पालिकाबाट प्राप्त विवरणलाई प्रदेश सरकारस्थित कृषि विकास निर्देशनालयमा पठाउनेछन् । प्रदेशले संघीय सरकार समक्ष क्षतिसम्बन्धी तथ्यांक बुझाएपछि मात्रै किसानलाई प्राप्त हुने राहतका बारेमा थाहा हुने ज्ञान केन्द्र चितवनका प्रमुख पाण्डेले जानकारी दिए । संघीय सरकारले तयार गरेको राहतसम्बन्धी कार्याविधि ‘नेपाल राजपत्र’मा प्रकाशन भएपछि मात्रै राहत प्रक्रिया अगाडि बढ्ने बुझिएको छ ।
रत्ननगर नगरपालिकाले भने चालू आ.व.को बजेट व्यवस्थापन गरेर किसानहरूलाई राहत उपलब्ध गराइसकेको छ । त्यहाँका १६ वटा वडाका २ हजार किसानको ९०० विघा धानमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलका अनुसार किसानहरूलाई प्रतिविघा १० हजारको दरले ९० लाख रुपैयाँ राहत प्रदान गरिएको हो । नगरपालिकाले कार्तिकको मध्यसम्म आइपुग्दा नै वडा सचिवहरूमार्फत राहत वितरण कार्य सम्पन्न गरिसकेको हो । “दैविप्रकोप कोषमा करिब एक-डेढ करोड रुपैयाँ थियो । त्यसैबाट बजेट व्यवस्थापन गरी किसानहरूलाई राहत प्रदान गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
छिमेकी जिल्ला नवलपुरमा करिब ४० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । “प्रारम्भिक तथ्याङ्क हेर्दा लगभग ४० हेक्टरमा क्षति पुगेको देखिएको छ । त्यसमध्ये १० हेक्टरमा भने पूर्ण क्षति भएको जानकारी पाएका छौं”, केन्द्रका प्रमुख लामिछानेले भने । पालिकाबाट विस्तृत तथ्याङ्क आउन बाँकी रहेकाले अन्तिम क्षतिको विवरण तयार पार्न भने अझै केही समय लाग्ने उनले सुनाए । ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लाको २० हजार ७३० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने गरेको छ भने उत्पादन प्रति हेक्टर ३.८ मेट्रिक टन रहेको छ ।
गैँडाकोट नगरपालिका वडा नं ६ का हरि सुवेदीले वर्षाका कारण करिब १० कठ्ठा जमिनमा लगाएको धानमा क्षति पुगेको बताए । “काटेर राखेको बाली सबै पानीले भिजायो । पराल पनि बिग्रियो, धानको दाना पनि खेतमै उम्रियो”, सुवेदीले सुनाए, “क्षतिको विवरण वडामा टिपाएका छौं । हेरौं के हुन्छ ।”