भरतपुर, २ कात्तिक ।
फेसबुकले अब कुनैपनि अकाउण्टमा यौनजन्य सामग्री आदानप्रदान भएमा अकाउण्ट सधैँको लागि बन्द गर्ने भएको छ । फेसबुकले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलापसम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि सधैँको लागि प्रतिबन्ध लगाउने भएको हो ।
यस अन्तर्गत यदि कुनै यूजरले सेलिब्रिटी, राजनीतिज्ञ, क्रिकेटर तथा पत्रकारलगायतका व्यक्तिहरूलाई लक्षित गरेर अफवाह तथा भ्रामक कमेन्टहरू पोस्ट गरेमा पनि उनीहरूको अकाउण्ट बन्द हुने जनाएको छ ।
फेसबुक यूजरको प्रोफाइल, पेज, ग्रुप या इभेन्ट नै सधैंका बन्द गरिने जनाएको छ । फेसबुकले आफ्नो नीतिमा परिवर्तन गरेर सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणबीचको फरक प्रस्ट पार्न खोजेको देखिएको छ ।
फेसबुकको इन्बक्समा मेसेज पठाउने नियममा पनि परिवर्तन हुनेछ भने कम्पनीले प्रोफाइल र पोस्टमा आउने कमेन्टहरूलाई सुरक्षित बनाउने जनाएको छ । फेसबुकको यस कदमबाट अनलाइन हुने उत्पीडनबाट बचाउन सकिने कम्पनीको विश्वास रहेको छ ।