काठमाडौं, २९ असोज ।
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैँको टीका ग्रहण गरेका छन् । उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन् ।
राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैँको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो । तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन् ।
नवरात्रको पहिलो दिन घटस्थापनादेखि सुरु हुने दशैँको आज विशेष तथा प्रमुख दिन हो । आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ ।
टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ ।