भरतपुर, २८ भदौ ।
भरतपुर क्रिकेट क्लबले ‘मेयर कप अन्तर वडा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ गर्न लागेको छ । चितवनमा व्यवस्थित क्रिकेट मैदान तथा खेल संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यले आगामी असोज १ गतेदेखि यो प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।
आगामी कात्तिक ११ गतेसम्म भरतपुरको नौविघास्थित वीरेन्द्र बहुमुखी क्याम्पसको खेलमैदानमा यो प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि भरतपुर महानगरपालिकाका सबै वडामा पत्रचार गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
“२० वर्षपछि स्थानीय तहमा प्रतिनिधि आएको खुसियालीमा यो प्रतियोगिता गर्न लागिएको हो”, उनले भने, “यसले खेल मनोरञ्जन त दिन्छ नै, चितवनमा व्यवस्थित क्रिकेट मैदानको विकासका लागि पनि दबाब दिनेछ ।” त्यही माहोल बनाउनका लागि भनेरै क्लबले पूर्व क्रिकेट खेलाडी राजन गौतमलाई यो प्रतियोगिताको सद्भावना दूत घोषणा गरेको छ । हाल उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष रहेका गौतम पहिले राम्रो क्रिकेट खेल्थे ।
प्रतियोगितामा बढीमा २४ टिम सहभागी गराउने तयारी छ । प्रतियोगितमा सहभागी हुन वडा टिमले १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । प्रतियोगिताले भरतपुरको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिने क्लबका सल्लाहकार मित्रनिधि तिवारीले बताए ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार, दोस्रो हुनेलाई नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघ चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष प्रशान्त अधिकारीले क्रिकेट विकासमा यो प्रतियोगिता कोशेढुंगा हुने बताए ।