भरतपुर, १९ भदौ ।
चितवन जिल्ला स्थित कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी)ले आश्विन १ गतेपछि जिल्लाभित्र रहेका विद्यालयहरू सञ्चालन गर्न सकिने संकेत देखाएको छ । चितवन पनि कोरोना भाइरसको जोखिमयुक्त जिल्लाहरूको सूचीमा परेपछि वैशाख ७ गतेदेखि जिल्लाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएका थिए । करिब पाँच महिनापछि नयाँ संक्रमित पुष्टि हुने दरमा कमी आएको भन्दै जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनका लागि बाटो खोलिदिएको हो । प्रशासन कार्यालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेख गरिएको मापदण्ड पालना हुने र जोखिम नहुने विधिको सुनिश्चितता गरेर मात्रै विद्यालय सञ्चालन गर्न पाइने जनाएको छ ।
प्रशासनले शनिबार जारी गरेको आदेशमा स्मार्ट लकडाउन कार्यविधि, २०७८ मा उल्लिखित वस्तुगत सूचक अनुसार जोखिमको विश्लेषण गर्दा विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहेका खण्डमा विद्यालय व्यवस्थापन समितिको सिफारीसमा सम्बन्धित स्थानीय तहले डिसीएमसीसँग समन्वय गरी पठनपाठनको निर्णय गर्न सक्ने भनिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ, स्वास्थ्य कार्यालय तथा जिल्लाका सातै स्थानीय तहका शिक्षा महाशाखाका प्रमुखहरूको डिसीएमसीसँग शुक्रबार बैठक बसेको थियो । उक्त बैठकले भदौ महिनाको बाँकी अवधिमा संक्रमणको अवस्थालाई हेरेर विद्यालय सञ्चालन गर्ने÷नगर्ने नजितामा पुग्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले बताए ।
गएको साउन १५ गतेदेखि भदौ १७ गतेसम्मको दैनिक कोरोना पुष्टि हुने दरलाई हेर्ने हो भने भदौ ८ गतेपछि सो दरमा कमी आएको देखिन्छ । स्वास्थ्य कार्यालयका अनुसार साउन २२ गते संक्रमित पुष्टि हुने दर करिब ३० प्रतिशत थियो । भदौ १७ गते त्यो दर ९ प्रतिशतमा झरेको छ ।
“स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकलाई हेर्दा संक्रमणको दर घटेको देखिन्छ । बाँकी १०/११ दिनमा जस्तो परिस्थिति बन्छ, त्यहीअनुसार विद्यालय खोल्ने/नखोल्ने टुंगोमा पुगिनेछ”, सुवेदीले भने । अवस्था प्रतिकूल भएका खण्डमा भने निर्णयलाई पुर्नविचार गर्न सकिने पनि उनले जानकारी दिए । विद्यालयमा कक्षाहरू सिफ्ट वा रोल नम्बरका आधारमा सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले पनि आवश्यक तयारी पूरा गरेर मात्रै विद्यालय सञ्चालन गरिने बताए । “निषेधाज्ञाका अवधिमा वैकल्पिक सिकाइ सहजीकरणको रूपमा अनलाइन तथा अन्य विधिको प्रयोग त गरियो । तर धेरै जसो विधि प्रभावकारी हुन नसकेको गुनासो आयो”, पौडेलले कायाकैरनसँग भने, “विद्यार्थीहरू घरमा बसिरहँदा बरालिने वा पढेको बिर्सने सम्भावना हुनाले मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने तयारी गरेका हौं ।” एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी बस्ने गरी र कक्षाकोठमा २५ जनाभन्दा बढी नहुने गरी विद्यालय सञ्चालन गर्ने सोचाइ रहेको उनले सुनाए ।
विद्यालयमा हात धुनका लागि साबुनपानीको उचित प्रबन्ध हुनुपर्ने र विद्यार्थीहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने पौडेलले बताए । महानगरका सामुदायिक विद्यालयलाई साबुन, सेनिटाइजर, लगायत वस्तुको खरिद तथा सिकाइ सामग्री छपाइका लागि अघिल्लो आर्थिक वर्षमा प्रति विद्यार्थी २०० रुपैयाँका दरले रकम निकासा गरिसकिएको उनले जानकारी दिए । वैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्ने उद्देश्यले विद्यालयहरूलाई नेपाल टेलिकमको सीयुजी सेवामा जोडिन महानगरले आग्रह गरेको थियो । तर सो विधि खासै प्रभावकारी नभएको पौडेलले बताए ।
विद्यालय खुलेपछि स्कुल बसको सञ्चालनका हकमा भने सार्वजनिक यातायातका साधनको लागि तोकिएको आदेश नै पालना गर्नुपर्ने रत्ननगर नगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख बद्री नारायण शर्माले जानकारी दिए । “विद्यालयहरू सञ्चालनमा आउने हो भने स्कुल बसलाई रोक्न पनि मिल्दैन । प्रशासनले सार्वजनिक यातायातका साधनको हकमा जस्तो व्यवस्था गरेको छ स्कुल बसले पनि त्यही पालना गर्नुपर्ने हुन्छ”, शर्माले सुनाए ।