भरतपुर, १८ भदौ ।
कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवन जिल्लामा ४० देखि ५० वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्राको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले शुक्रबार जनाएअनुसार आगामी भदौ २१ गते ४५ देखि ५० वर्ष उमेर समूह तथा भदौ २२ गते ४० देखि ४५ वर्ष उमेर समूहका लक्षित वर्गलाई पहिलो मात्राको खोप लगाइने भएको हो ।
खोप जिल्लाभरका स्थानीय तहका वडास्तरमा रहेका स्वास्थ्य चौकी तथा खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । केन्द्रबाट जिल्लालाई प्राप्त हुने खोपको मौज्दातका आधारमा लक्षित समूहलाई एस्ट्राजेनेका वा भेरोसेल खोपमध्ये एउटा खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप केन्द्र रहेका वडामा लक्षित समूहको जनसंख्या धेरै रहेको अवस्थामा खोप कार्यक्रमलाई थप एक देखि दुई दिनसम्म लम्ब्याउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।