भरतपुर, १६ भदौ ।
नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक करोड पुगेको छ । पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड पुगेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले जानकारी दिए ।
‘मंगलबारसम्म कोभिडको पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या एक करोड पुगेको छ,’ पोखरेलले भने, ‘दुवै मात्रा लगाउनेको संख्या करिब ६० लाख पुगेको छ । पहिलो मात्रा लगाउनेको पनि संख्या करिब ५० लाख पुग्न लागेको छ ।’
नेपालमा हालसम्म तीन कम्पनीको मात्र खोप लगाइएको छ । चीनको भेरोसेल खोप, भारतको कोभिसिल्ड र अमेरिकाको जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी ‘स्पुटनीक भि’ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० लाख कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख । भुटानबाट २ लाख ३० हजार,अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबा १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।