भरतपुर, १३ भदौ ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि हालसम्मकै कम संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ कोरोना संक्रमित भेटिए । जुन दोस्रो लहर सुरु भएयता सबैभन्दा कम संक्रमित संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ हजार २५९ पीसीआर र ३ हजार ३८ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३८८ संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दोस्रो लहर सुरु भएपछि आइतबार भेटिएको संक्रमित सबैभन्दा थोरै रहेको बताए । यद्यपि यो संख्यालाई घटेको भन्न नमिल्ने उनको भनाई छ । नेपालमा अझै पनि संक्रमणदर १३ प्रतिशत रहेको उनले बताए ।
उनले भने, ‘दोस्रो लहर सुरु भएपछि आज भेटिएको संक्रमित संख्या सबैभन्दा कम हो । तर कोरोना घटिसकेको भन्न मिल्दैन । जोखिम अझै पनि कायमै छ ।’
यसअघि १२ गते १ हजार ८५७, ११ गते २ हजार ६५, १० गते २ हजार ४३३, ९ गते २ हजार ४८२, ८ गते २ हजार ५२५, ७ गते १ हजार ८०१, ६ गते १ हजार ९२० संक्रमित भेटिएका थिए । नेपालमा यही वैशाखबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको सुरु गरको थियो ।
सरकारले नेपालमा तेस्रो लहर सुरु भइनसकेको बताएपनि विज्ञहरुले भने तेस्रो लहर सुरु भइसकेको बताएका छन् । तेस्रो लहरले कति भयावह हुन सक्ने भन्ने विषयमा सहजै अनुमान लगाउन नसक्ने भएकाले व्यवस्थापनको तयारीमा लाग्न उनीहरुको सुझाव छ ।