निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि अन्तिम तयारी गरेको छ । भोलि देशका ३ प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । जिन्दगीमा पहिलोचोटि स्थानीय सरकार आफैले मत दिएर गठन गर्नका लागि सम्पूर्ण जनता आतुर देखिएका छन् । सरकारले पनि शान्ति सुरक्षा पर्याप्त मात्रामा उपलब्ध गराएको उल्लेख गरेको छ । कतैकतै शान्ति सुरक्षा खलल पुग्ने गरी समस्या उत्पन्न भएपनि समग्ररुपमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको सरकारले बताएको छ । मतदाता नामावली र मतदाता शिक्षाका बारेमा केही कमजोरी देखिए पनि समग्रमा निर्वाचनका लागि भइरहेका काम निकै सकारात्मक रहेको विभिन्न ठाउँबाट आएको रिपोर्टहरुले पनि जनाएका छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु हुन दुई दिन बाँकी रहँदै शुक्रबारसम्म निर्वाचन आयोगले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् । आयोगले खटाएका कर्मचारीले गाउँ पुगेर मतदानस्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचयपत्र वितरणलगायत काम थालिसकेका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८३ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तह निर्वाचनको सबैखाले तयारी पूरा भइसकेको बताएका छन् । परिचयपत्र वितरण बिहीबार र शुक्रबार उत्साहजनक ढंगले गरिएको छ । आज पनि बाँडिने छ । मतदातामा विशेष उत्साह देखिएको छ, त्यसले मतदान राम्रो हुने संकेत दिएको छ । सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति रहने विश्वस्त तुल्याएको छ । मतदाताले ढुक्क भएर आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न पाउनेछन् । भोलि वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । त्यसैले सबै मतदाता परिचयपत्र लिनैपर्ने हुन्छ ।
पहिलो चरणको निर्वाचनमा कुल १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ जना प्रतिस्पर्धामा छन् । महिला उम्मेद्वारको संख्या ३९ दशमलव १८ प्रतिशत छ । निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट सबै प्रकारको चुनावी प्रचारप्रसारमा रोक लगाइएको छ । सुरक्षा निकायले यो अवधिमा हुने सबैखाले कानून उल्लंघन र आचारसंहिता उल्लंघनका घटनाको सूक्ष्म ढंगले अनुगमन गरिरहेको छ । तैपनि कतिपय ठाउँमा त्रास फैलाउने काम भइरहेको छ । त्यसलाई रोक्न सुरक्षाकर्मीले गरिरहेको पहलकदमी वास्तवमै राम्रो छ । यसलाई अझै निरन्तरता दिन जरुरी छ । यो महाउत्सवमा सबै जनतालाई उत्तिकै उत्साहसाथ सहभागी गर्न आवश्यक छ ।
निर्वाचनका लागि जनताको उत्साह
निर्वाचनका लागि जनताको उत्साह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु