काठमाडौं, ८ भदौ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथासक्दो चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ ।
सरोकारवालाहरूसँगको छलफलपछि छिटो भन्दा छिटो कक्षा १२ को परीक्षा लिन निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिएकी हुन् । “सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्यौं”, उनले भनिन्, “विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेका छौं ।”
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ भने दुई सय भन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी छ । समितिको निर्देशनपछि शिक्षा सचिव राम प्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने बताएको इकान्तिपुरले उल्लेख गरेको छ । “उपत्यकाभित्र प्रवेश पत्रको आधारमा खोप दिन थालिसकेका छौं, उपत्यका बाहिर पनि यो सुविधा दिने कुराकानी भएको छ”, उनले थपे, “भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न छलफल गरेर सूचना जारी हुन्छ ।”
साउन ३१ गतेदेखि हुने परीक्षा स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सिफारिसमा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा स्थगित गर्ने तर त्रिभुवन लगायत अन्य विश्वविद्यालय, विदेशी बोर्ड र कक्षा ११ को परीक्षा भने निर्वाध सञ्चालन गर्न दिने भनेर आलोचना भएको थियो ।
(इकान्तिपुर डट कमको सहयोगमा)