भरतपुर, ७ भदौ ।
चितवन जिल्लामा साउन महिनामा कोरोना भाइरसका हालसम्मकै सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै जिल्लाका ५ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो महिनामा जिल्लाका ६६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
२०७८ साउन महिनामा थपिएका संक्रमितको संख्या जिल्लाका कूल संक्रमितको संख्याको करिब २१.९६ प्रतिशत हो । यसअघि २०७८ वैशाखमा ४ हजार १७७ जनामा संक्रमण पुष्टि भएको थियो । वैशााख महिनाको मध्यदेखि जिल्लामा निषेधाज्ञा जारी गरिँदा जेठ र असार महिनामा संक्रमित थपिने दर केही घटेको थियो । वैशाख महिनाको तुलनामा जेठ महिनामा थपिएका संक्रमितको संख्यामा करिब ७ प्रतिशतले कमी आएको थियो ।
यस्तै असार महिनामा थपिएका संक्रमितको संख्या वैशाखमा पुष्टि भएका संक्रमितको तुलनामा २७ प्रतिशतले (१ हजार १३५) घटेको थियो । तर खुकुलो निषेधाज्ञा, नागरिकको लापरवाही तथा प्रशासनको फितलो अनुगमनका कारण साउन महिनामा संक्रमित पुष्टि हुने दर फेरि बढ्न थालेको हो । स्वास्थ्य कार्यालयको तथ्यांकलाई केलाउँदा साउन महिनाभर औसतमा दैनिक १६४.५३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकलाई हेर्ने हो भने २०७८ असार २० गतेदेखि दैनिक १०० भन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ । शनिबारको सार्वजनिक विदा हुँदा कम मात्रामा परीक्षण हनुे गरेको छ । जसकारण शनिबारका दिनहरूमा थोरै जनामा संक्रमण पुष्टि भएको जस्तो देखिन्छ । स्वास्थ्य कार्यालयको तथ्यांकलाई हेर्ने हो भने असारको मध्य चलिरहँदा दैनिक जसो ३०० देखि ४०० वटा परीक्षण गरिन्थे ।
हाल दैनिक परीक्षण संख्या बढाएर एक हजार भन्दा माथि पु¥याइएको छ । तर संक्रमण पुष्टि हुने दर अझै पनि २० प्रतिशत भन्दा धेरै हुनुले महामारीको जोखिम टरिनसकेको देखाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार महामारी थप नफैलिएको निश्चित गर्न उक्त दर ५ प्रतिशतभन्दा कम हुनुपर्ने हुन्छ । तर जिल्लामा अझै केही महिनासम्म संक्रमण दर उस्तै देखिने सम्भावना बढेको छ ।
साउन महिनामा पुष्टि भएको संक्रमितको मृत्यु संख्या हालसम्म एउटै महिनामा पुष्टि भएको दोस्रो सर्वाधिक मृत्यु संख्या हो । गत जेठ महिनामा जिल्लाका ८८ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । साउन महिना भर ६६ जना मृतक थपिँदा असारमा ५४ तथा वैशाखमा ५० वटा मृत्यु पुष्टि भएका थिए । चितवन जिल्लामा २०७६ चैत्रमा कोरोना भाइरसको पहिलो केस भेटिएको थियो । २०७६ चैत्रदेखि २०७७ चैत्रसम्म जिल्लामा संक्रमणका कारण ज्यान गुमाएकाको संख्या ११२ थियो ।
महामारीको दोस्रो लहर सुरु भएको भनिएपछि भने मृतक थपिने दरमा समेत अत्यधिक वृद्धि देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ ६ गतेसम्म जिल्लाका ३८१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । २०७८ वैशाखयता मात्रै जिल्लामा २६९ जना मृतक थपिएको स्वास्थ्य कार्यालयको तथ्यांकले बताउँछ । त्यो संख्या २०७७ चैत्रसम्म पुष्टि भएका मृत्युको संख्याका तुलनामा १४० प्रतिशतले बढी हो ।
महामारी नियन्त्रण बाहिर जान लागेको देखेर नै प्रशासन कार्यालयले निषेधाज्ञामा केही कडाइ गरिने जनाएको थियो । तर नेतृत्व तहमा रहेकाले नै जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा नागरिकले पनि नियम पालना गर्न आवश्यक नठानेको अनुभूति हुने गरेको छ । पहिलो लहरको महामारी चलिरहँदा जिल्लामा २०७७ भदौदेखि कार्तिक महिनासम्म संक्रमण थपिने दर उच्च पाइएको थियो ।
हाल कोरोना भाइरस विरुद्धको खोप अभियान पनि सञ्चालनमा छ । तर खोपले संक्रमण हुनै नदिने भन्ने होइन । संक्रमणबाट बच्चलाई व्यक्तिले आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने देखिन्छ । कोरोना भाइरसका अझ घातक नयाँ उत्परिवर्तित स्वरूप देखा परिरहँदा पुरानै लापरवाहीलाई निरन्तरता दिने हो भने आगामी केही महिनामा संक्रमित थपिने दरले फेरि पनि नयाँ रेकर्ड कायम नगर्ला भन्न सकिँदैन ।