भरतपुर, १७ भदौ ।
नारायणगढको क्याम्पाचौरमा शनिबारदेखि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु भएको छ । १० दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन चितवन क्षेत्र नम्बर ३ का सांसद् कृष्णभक्त पोखरेलले गरे । उद्घाटनअघि क्याम्पाचौरमा लाखेनाच तथा थारु संस्कृति झल्कने झाँकी र लाठीनाच देखाइएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । उसले घरेलु टोली चितवनलाई ४–० ले स्तब्ध पा¥यो । सुरुदेखि नै चितवनविरुद्ध हावी भएको सुदूरपश्चिमले पहिलो र दोस्रो हाफमा समान २–२ गोल ग¥यो । पहिलो जितबाट सुदूरपश्चिम सिधै सेमीफाइनल प्रवेश गरेको छ ।
घरेलु मैदान क्याम्पाचौरमा चितवनको टिमले राम्रो प्रदर्शन गर्न सकेन । पाएका केही मौकालाई सदुपयोग गर्न सकेन । सुदूरपश्चिमका लागि खेलको नौ मिनेटमा कप्तान प्रनय अञ्जनले र पहिलो हाफको इञ्जुरी टाइममा अब्दुलले गोल गरे । खेलको ६७ मिनेटमा पुनः अब्दुलले व्यक्तिगत दोस्रो र खेलको तेस्रो गोल गरे । त्यस्तै अन्तिम गोल खेलेको ७१ औं मिनेटमा रामसिंह रानाले गरेपछि सुदूरपश्चिम सजिलै विजयी भयो । खेलको म्यान अफ दि म्याच दुई गोल गर्न सफल अब्दुल नै भए । उनले नगद ५ हजार प्राप्त गरे ।
आइतबारको खेल विजय युथ हेटौंडा र फ्रेण्ड्स क्लब काठमाडौंबीच हुने आयोजक नारायणगढ जेसीजले जनाएको छ ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।
शनिबार भएको उद्घाटन खेलको प्रमुख अतिथि चितवन क्षेत्र नम्बर ३ का सांसद् कृष्णभक्त पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले फुटवलको विकासको देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग गर्ने बताए । कार्यक्रममा जिल्लाका पार्टी प्रतिनिधिहरु, व्यवसायीहरु, सुरक्षा अंगका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा सम्पन्न भएको थियो ।