आजबाट जेसीज कप
भरतपुर, १७ भदौ ।
आजबाट नारायणगढको क्याम्पाचौरमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु हुँदैछ । आगामी भदौ २६ गतेसम्म चल्ने प्रतियोगिताको आज दिउँसो साढे २ बजे उद्घाटन कार्यक्रम राखिएको छ ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् । प्रतियोगिताको पहिलो दिन शनिबार चितवन–११ ले सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । यो खेल जित्नेले सिधै सेमीफाइनलमा प्रवेश पाउने छ ।
प्रतियोगिताका लागि मैदान निर्माण कार्य सकिएको र अरु व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए । प्रतियोगिताका लागि क्याम्पाचौर मैदान सुधार गरी सुन्दर बनाइएको छ । त्यस्तै प्रचारप्रसार, टिकट व्यवस्थापन, खेलाडीलाई आवास व्यवस्थापनलगायत काम १४ वटा उपसमितिमार्फत गरिएको कार्यक्रम संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट उपस्थित हुने नारायण जेसीजका महासचिव अनोज जोशीले जानकारी दिए । उद्घाटन कार्यक्रमअघि विभिन्न कलासंस्कृति झल्कने झाँकी प्रस्तुत गरिने उनले जानकारी दिए । १० दिनसम्म चल्ने प्रतियोगितामा कूल ९ वटा खेल खेलाइनेछन् । पहिलो हुनेले ३ लाख ५० हजार र दोस्रोले १ लाख ७५ हजार पाउने छन् ।
पत्रकार सम्मेलनमा सल्लाहकार समिति संयोजक जयराम श्रेष्ठले यो प्रतियोगिता चितवन जिल्लाकै सान भएको भन्दै सफल बनाउन सबै लाग्नुपर्ने बताए । प्रतियोगिता अवधिभर दर्शकका लागि क्वार्टरफाइनलसम्म रु. ५० र रु. १०० का तथा त्यसपछिका खेलमा रु. १०० र रु. २०० को टिकट व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि ४० लाखभन्दा बढी खर्च लाग्ने आर्थिक संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
प्रतियोगिताबाट बचत भएको रकमबाट नारायणगढ जेसीजले यसअघि नै बनाइदिएको १४ वटा घरका परिवारका सदस्यका लागि शैक्षिक तथा आर्थिक विकासमा सहयोग गरिने प्रचारप्रसार समिति संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
कसले के भने जेसीज कपको बारेमा ?
जयराम श्रेष्ठ
सल्लाहकार संयोजक
अध्यक्ष (वर्ष १९८६)
फुटबल खेल विश्वभरि नै प्रख्यात छ । चितवनमा पनि यसको क्रेज औधी छ । यहाँका मान्छेहरु खेल त्यसमा पनि फुटबल भनेपछि हुरुक्कै हुन्छन् । तपाईंले देख्नुभएको छ, जहाँ, जुन स्तरको खेल भएपनि दर्शक झुम्मिन्छन् । म पनि पूर्वखेलाडी हुँ । यहाँको चर्चित विकास रनिङ शिल्डमा ४–५ पटक खेलेको छु । क्याप्टेन नै भएर पनि खेलेको छु । मैले त्यसबेलामा राम्रा खेलाडी गणेश थापा, कमल थापा, चितवनका श्याम पियाहरुसँग खेलें । हरेक दृष्टिकोणले खेल भनेको महत्वपूर्ण छ । बजारको आम्दानी बढाउन, युवाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न पनि खेल जरुरी छ ।
नारायणगढ जेसीजले यो राष्ट्रिय प्रतियोगिता ल्यायो, यसले युवा सक्रियतामा ठूलो योगदान गर्छ । यति लामो समयसम्म क्याम्पाचौरमा कयौं फुटबल भए । तर, यसको अवस्था सुध्रिन सकेको छैन । बालकुमारी मा.वि.को नाममा रहेको यो जग्गामा कसले कसरी लगानी गर्ने, आम्दानीको हिस्सेदार को रहनेजस्ता कुरामा स्पष्ट नभएकैले यसको स्तरोन्नति गर्न सकिएको छैन । २०–२५ वर्षका लागि लीजमा लिन अनुमति माग्दा बालकुमारीले दिन मानेको छैन् । तैपनि यसको सुधारका लागि पनि यो खेलले योगदान गर्छ जस्तो लाग्छ । गतवर्ष विकास रनिङ शिल्ड लामो समयपछि आयोजना गरियो ।
त्यसबेलादेखि चौरको मुहार फेरिएको छ । बिग्रिएको चौर अहिले राम्रो अवस्थामा आएको छ । यो प्रतियोगिताले पनि थप सुधार गरेको छ । अहिले यो प्रतियोगिता सफल बनाउन सबैले सहयोग गरिरहेका छन् । सल्लाहकारहरुको सक्रियता पनि उल्लेख्य छ । क्याम्पाचौरमा हुने सबैभन्दा ठूलो प्रतियोगिता विकास रनिङ शिल्ड पनि आगामी पुसका लागि तालिकामा परेको छ । त्यसभन्दा अघि भएको जेसीज कपले चितवनमा ठूला प्रतियोगिताको क्रम थपेको छ ।
अमृत श्रेष्ठ
प्रतियोगिता संयोजक
जेसीज कप सफल बनाउन हामी अहोरात्र खटिरहेका छौं । मैदान सुधार, खेलाडी व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार सबैतिर मेहनत गरेका छौं । त्यहीअनुसार राष्ट्रियस्तरका टिमहरु पनि नारायणगढ झर्दैछन् । पूर्वको झापादेखि सुदूरपश्चिमको सुदूरपश्चिम–११ सम्म, चितवनको स्थानीय टिमदेखि अन्तर्राष्ट्रियस्तरको मनाङ मस्र्याङ्दीसम्म एउटै मैदानमा भेट्दैछन् । ५ वटा ‘ए डिभिजन’ क्लब छन् र चारवटा क्षेत्रलाई समेटेका छौं । सबै टिम आफ्नो हिसाबले बलिया छन् । चितवनबासीका लागि यो एउटा ठूलो मेला हो जस्तो मलाई लाग्छ ।
क्याम्पाचौरमा मेहनत गरेर खेल्न मिल्ने बनायौं । गतवर्ष विकास शिल्ड गर्दा यो चौरको स्तर निकै राम्रो बनेको थियो । तर, बीचमा फेरि नराम्ररी बिग्रियो । अहिले हामीले फेरि मेहनत गरेर राम्रो बनाएका छौं । हामीले सकेसम्म धेरै पक्षले यसको अपनत्व महसुस गर्ने गरी काम गरेका छौं । फुटबलमा लामो समय योगदान गरेका खेलाडीहरु, अहिले खेलिरहेका खेलाडीहरु, खेलकुदमै जीवन बिताएकाहरुलाई पनि सम्झिने कोसिस गरेका छौं ।
विश्वमा सबैभन्दा बढी मान्छेले मन पराउने खेल फुटबल हो । चितवनमा पनि यो खेल मन पराउनेहरु धेरै छन् । प्रतियोगितालाई हामीले राष्ट्रिय भनेका छौं । देशभरबाट विभिन्न क्षेत्रबाट सहभागी भएकाले पनि यो खेल राष्ट्रियस्तरको बनेको हो । यसबाट स्थानीय खेलाडीले पनि ठूलो लाभ लिन सक्छन् । स्थानीयस्तरमा खेलेर नै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने हो । एक ठाउँमा खेलेर मात्रै आफ्नो क्षमता विकास हुन सक्दैन । जब हामी आफूभन्दा बलियो टिमसँग खेल्छौं भने हाम्रो स्तरपनि बढ्दै जान्छ । त्यही गर्न खोजेका हौं हामीले पनि ।
हाम्रो जिल्लाको बलियो टिम पनि बनेको छ । जिल्लाको विभिन्न क्षेत्रबाट राम्रा खेलाडीहरु छानेर टिम बनेको भन्नुभएको छ । यी खेलाडीले चाहिं चितवनको प्रतिनिधित्व लामो समयसम्म गर्न सक्छन् भन्ने लागेका खेलाडी छानेर टिममा राखेको सम्बन्धित प्रशिक्षकले बताएका छन् ।
हामीले त यो प्रतियोगिताबाट धेरै नै अपेक्षा गरेका छौं । चितवनबासीहरुको मागअनुसार नै यो प्रतियोगिता यहाँ आएको जस्तो मलाई लाग्छ । अब त चितवनबासीलाई राष्ट्रियस्तरको खेल हेर्ने बानी नै परिसकेको जस्तो लाग्छ । उहाँहरु प्रत्यक्ष उपस्थित भएरै क्याम्पाचौरमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेल हेर्नुहुनेछ भन्ने अपेक्षा मैले र आयोजकले लिएको छौं ।
मनोरञ्जन र समाज सेवाका लागि जेसीज कप
बाबुराम रामदाम
जेसीज युवाहरुको संस्था हो । विश्वभर ठूलो सञ्जाल भएको यो संंस्थामा युवाहरुको धेरै ठूलो सहभागिता छ । नेपालमा पनि जेसीजले धेरैथरि सामाजिक काम गरिरहेको छ ।
जेसीजको आफ्नै नियम छ । ‘एक वर्ष, एक व्यक्ति, एक पद’ भन्ने भावनाअनुसार पदाधिकारी चयन हुन्छौं र त्यहीअनुसार नै काम गर्छौं । मभन्दा अघिका पदाधिकारी पनि यही भावनाले आउनुभएको हो र केही गरेरै जानुभएको हो । यही भावनाबाट प्रेरित भएर सन् २०१७ का लागि काम गर्ने म्याण्डेटका साथ सबै साथीभाइहरुले मलाई सर्वसम्मत नेतृत्व गर्न दिनुभएको हो । जेसीजले युवामा व्यक्तित्व र नेतृत्व विकास गर्दै लगेको हुन्छ । जब नेतृत्वमा पुगिन्छ अनि हामीले सिकेका कुरा प्रदर्शन गर्नुपर्ने हुन्छ । ‘प्रभावकारी नेतृत्व’ को प्रकरणसहित वर्ष २०१७ का विभिन्न कार्यक्रम गर्दै आएको नारायणगढ जेसीजअन्तर्गत सन् २०१७ को बोर्डले अघि सारेको कार्यक्रम जेसीज कप हो । यसमा हाम्रो राष्ट्रिय नेतृत्व नेपाल जेसीज प्रवद्र्धकको रुपमा रहेको छ ।
जेसीज कपको मूल लक्ष्य भनेको चितवनका फुटबलप्रेमी दर्शकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी ल्याएर खेलकुद मनोरञ्जन प्रदान गर्ने नै हो । साथै यसबाट रकम यदि बच्यो भने त्यसले समुदायमा केही राम्रा काम गर्न सकिन्छ कि भन्ने उद्देश्यले पनि यो प्रतियोगिता गरेका हौं ।
प्रतियोगिताका लागि हामी पूर्णतया तयार छौं । क्याम्पाचौरलाई मेहनत गरेर राम्रो बनाउने कोसिस गरेका छौं । आज उद्घाटनका लागि विशेष तयारी छ । समारोह हुनुअघि झाँकीहरुको प्रदर्शनी गर्ने तयारी पनि छ । आज दिउँसो २ बजेबाट उद्घाटन समारोह हुनेछ ।
हामीले प्रतियोगिताका लागि १४ वटा उपसमिति बनायौं । ९९ सदस्यीय सल्लाहकार समिति बनायौं । सल्लाहकार समितिको संयोजकमा नारायणगढ जेसीजका पूर्वअध्यक्ष (वर्ष १९८६) तथा भरतपुर–१ का वडाध्यक्ष जयराम श्रेष्ठलाई पायौं । त्यो हाम्रो लागि खुसीको कुरा हो । उहाँको नेतृत्वमा रहनुभएका सबै सल्लाहकारहरुले एकदमै सहयोग गर्नुभएको छ । हरेक अप्ठ्यारा फुकाउने काममा उहाँहरुको बल रहेको छ । उपसमितिमा रहेर काम गर्ने सबै साथीहरुले अत्यन्त खटेर काम गर्नुभएको छ । त्यसैगरी मुख्य प्रायोजक, प्रायोजक तथा सहप्रायोजक एवं अरु सहयोगी संस्था तथा व्यक्तिहरुकै कारण हामी प्रतियोगिता सफल हुनेमा ढुक्क भएका छौं ।
राष्ट्रियस्तरका खेलहरु काठमाडौंमा मात्रै हुन्छन् भन्ने धारणा अब पुरानो भइसकेको छ । हामी देख्न सक्छौं काठमाडौं बाहिर पनि धेरै ठूला–ठूला प्रतियोगिताहरु भएका छन् । चितवनमै पनि एकपछि अर्को गरी प्रतियोगिता भइरहेका छन् । यसले यहाँको खेल विकासमा योगदान गर्छ जस्तो मलाई लाग्छ । कोहीपनि खेलाडी सिधै राष्ट्रिय हुँदैन । राष्ट्रिय हुनुअघि सबै खेलाडी ‘लोकल’ नै हुन्छन् । हामीसँग पनि लोकल खेलाडी छन् । उनीहरुलाई यस्ता प्रतियोगितामा सहभागी गराएपछि राष्ट्रिय स्तरका भइसकेका खेलाडीहरुसँगको संगतले क्षमता विकास हुनेछ । त्यसले गर्दा प्रत्येक खेलाडीको लागि यो खेल महत्वपूर्ण छ ।
दर्शकका लागि हामीले सस्तो टिकट व्यवस्था गरेका छौं । १० दिनसम्म चल्ने प्रतियोगितामा कूल ९ वटा खेल खेलाइनेछन् । प्रतियोगिता अवधिभर दर्शकका लागि क्वार्टरफाइनलसम्म रु. ५० र रु. १०० का तथा त्यसपछिका खेलमा रु. १०० र रु. २०० को टिकट व्यवस्था गरिएको छ । प्रतियोगिताबाट बचत भएको रकमबाट नारायणगढ जेसीजले यसअघि नै बनाइदिएको १४ वटा घरका परिवारका सदस्यका लागि शैक्षिक तथा आर्थिक विकासमा सहयोग गर्ने हाम्रो योजना छ ।
प्रतियोगिताको तयारीसम्म जोजसले जेजसरी सहयोग गर्नुभएको छ, त्यसप्रति हार्दिक आभार व्यक्त गर्दै खेलअवधिभर पनि हरेक किसिमले सहयोग गर्नुहुनेछ र हाम्रो प्रतियोगिता सफल बनाइदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु । यसपालिको प्रतियोगिताको भव्य सफलताले हामी आगामी दिनमा पनि यस्तै प्रतियोगिता फेरि लिएर आउन सक्नेछौं ।
अनोज जोशी
महासचिव
नारायणगढका नारायणगढ जेसीजको पहिलो प्रयास स्वरुप जेसीज कप गर्दैछौं । पहिलोचोटि गरिरहेको कारणले गर्दा हामीले अनेक अनुभव बटुलिरहेका छौं । थुप्रै सल्लाहकारहरुले, दर्शकहरुले हामीलाई सल्लाह पनि दिइराख्नुभएको छ । हामी के कुरामा विश्वस्त छौं भने सबै पक्षको सहयोगले, सल्लाहले यो प्रतियोगिता सफल हुनेछ भन्नेमा हामी पूर्णतया विश्वस्त छौं ।
नारायणगढ जेसीजले चितवनको कुरिनटारमा बनाएको भूकम्पप्रभावितको १४ घरका परिवारलाई उद्यमशीलता विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो । त्यसकारणले गर्दा पनि आम खेलप्रेमीहरुले मैदानमै उपस्थित भएर खेल हेरिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । हामी के कुरामा विश्वास दिलाउँछौ भने यो क्याम्पाचौरमा यो खालका जति कार्यक्रम भए ती सबैमा भएका राम्रा कुराहरुको निरन्तरता हुन्छ भने थप कुरा भनेको स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायत क्षेत्रमा अघि बढेको चितवन खेलमा पनि अघि बढ्नका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।
हामीले चिवतन जिल्लाका सबै फुटबल क्लबका प्रमुख, राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ख्याती कमाएका सबै पूर्वखेलाडीहरुलाई सल्लाहकारमा राखेका छौं । सरोकारवाला सबै पक्षालाई कुनै न कुनै रुपमा समेटेका छौं । यो हिसाबले हेर्दा मुख्य आयोजक नारायणगढ जेसीज भएपनि सबै चितवनबासीको कार्यक्रम बनेको छ भन्ने विश्वास हाम्रो छ ।
जेसीज नेतृत्व र व्यक्तित्व विकासमा निरन्तर लागिरहने संस्था हो । हामी हरेक कार्यक्रम गर्नुअघि त्यसको भरपर्दो तयारी गर्छौं । यो प्रतियोगिता ह्वात्तै एकैचोटि आएको कार्यक्रम होइन । हामीले अहिलेको बोर्ड बनेपछि गतवर्षको चैत दोस्रो साताको बोर्ड बैठकले नै यो प्रतियोगिता गर्ने निर्णय गरेको हो । त्यसपछि प्रत्येक हप्ता यसको तयारीमा लाग्यौं । हामीले दशैं आसपास वा दशैंपछि गर्ने तयारी गरेका थियौं । तर, राष्ट्रियस्तरको टिमको समय तालिकाबारे एन्फासँगको समन्वयमा पाएको समयमा अहिले प्रतियोगिता गर्न गइरहेका छौं । प्रतियोगिता अवधिमा पानी पर्न सक्छ । केही अवरोध हुनसक्छ । तर, यहाँका खेलप्रेमीले प्रतियोगितामा सक्रिय सहभागिता जनाउनुहुनेछ भन्ने अपेक्षा छ ।
प्रतियोगितामा निकै नै बलिया अनि चर्चित टिमहरुको सहभागिता छ । सुरुमा बलियो त्रिभुवन आर्मी क्लब सहभागी हुने भनिएको थियो । पछि हुन सक्नुभएन । उहाँहरुको आन्तरिक कार्यक्रम जुधेका कारण आउन सकिएन भनेर पत्र पठाउनुभयो । पछि मनाङ मस्र्याङ्दीले सहभागिता जनाउने सहमति दियो । त्यसका लागि हामी खुसी छौं । आर्मी नआउँदा हुने क्षतिको क्षतिपूर्ति मनाङले मजाले दिएको छ । अहिले हामीलाई सचिवालयमा सम्पर्क गर्नेहरु धेरै छन् । खेलप्रेमीको चासो निकै बढेको छ । दर्शकहरु आजको उद्घाटनको प्रतीक्षामा छन् ।
सूर्यभक्त अधिकारी
आर्थिक संयोजक
ठूलोस्तरको प्रतियोगिता गर्न आर्थिक व्यवस्थापन पनि ठूलै हुन आवश्क छ । हामीले ४० लाखभन्दा माथिको बजेटमा यो प्रतियोगिता सक्ने अनुमान गरेका छौं । चितवन जिल्लामा अहिलेसम्मकै बढी पुरस्कार राशीको प्रतियोगिता भएकाले पुरस्कारमा बढी नै रकम खर्च हुनेछ । पहिलो पुरस्कार ३ लाख ५० हजार र दोस्रो १ लाख ७५ हजार राशीको छ । साथमा उत्कृष्ट विभिन्न विधामा पनि पुरस्कार दिइनेछ ।
त्योसँगै राष्ट्रियस्तरको प्रतियोगिता भएकाले देशका विभिन्न क्षेत्रबाट टिम आउनेछन् । उनीहरुलाई ल्याउने, पढाउने, खाना तथा आवास व्यवस्थापनजस्ता कुरामा पनि बढी खर्च हुन्छ । साथमा अरु व्यवस्थापनका लागि चाहिने खर्च पनि ठूलै हुन्छ । त्यसका लागि मुख्य प्रायोजक, प्रायोजक तथा सहयोगीहरुले हामीलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुभएको छ । उहाँहरुको सहयोगविना हाम्रो प्रतियोगिता सफल हुनै सक्दैन । उहाँहरुले आफ्नै कार्यक्रम ठानेर सघाउनुभएको छ । खेलप्रति उहाँहरुको उत्साह ज्यादै नै प्रशंसनीय छ ।
मूलतः जेसीज सामाजिक संस्था हो । समाजका हरेक घटनामा जेसीज सहभागी हुने गरेको छ । नेतृत्व र व्यक्तित्व विकास जेसीजको मूल मर्म हो । हामीले पहिलेपटक यो स्तरको फुटबलमा हात हालेका छौं । सबैको सहयोगले सफल हुन्छौं भन्ने लाग्छ ।
अर्जुन अधिकारी
प्रचारप्रसार संयोजक
पहिलोपटक चितवन जिल्लामा जेसीज कप आजबाट हुँदैछ । चितवनमा यसअघि भएका सबै खेलभन्दा यसलाई कसरी पृथक बनाउने भनेर हामी गम्भीर छौं । प्रचारप्रसारका लागि हामीले विशेष रणनीति लगाएका छौं । सबै जिल्लाबासी र आसपास जिल्लामा पनि खेलको जानकारी पर्याप्त दिएका छौं । प्रतियोगितामा १४ वटा उपसमिति बनेका छन् । युवाहरुलाई धेरैभन्दा धेरै परिचालन गरेर जसरी हुन्छ प्रतियोगिता सफल बनाउन लागिपरेका छौं । यो प्रतियोगिता चितवनबासीका लागि मनोरञ्जनसँगै खेल विकासको कोशेढुंगा सावित हुन्छ भन्ने विश्वास हामीले लिएका छौं । सबै सञ्चारमाध्यमहरुले प्र्रतियोगिताको प्रवद्र्धनका लागि निर्वाह गर्नुभएको भूमिकाप्रति हामी आभारी छौं । खेल अवधिभर पनि यस्तै सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं । हामीले हाम्रा सहयोगीहरुलाई स्पेशल कार्डको व्यवस्था गरेका छौं । गेटमा प्रवेश टिकट चेक गर्नका लागि चितवन बहिरा संघलाई जिम्मा दिएका छौं । उहाँहरुले कसैलाई पनि पास वा टिकट विना प्रवेश दिनुहुने छैन । सबैले यसलाई सकारात्मकरुपमा लिनुहुनेछ भन्नेमा ढुक्क छौं ।
चितवनमा यो प्रतियोगिताप्रति निकै चासो व्यक्त गर्नुभएको छ । सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य लिएकाले पनि हुनसक्छ प्रस्तावपत्र लिएर हिड्दैमा सबैले उत्तिकै चासो व्यक्त गर्नुभएको थियो । खेल अवधिभर नै सबैले उत्तिकै सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
पूर्वअध्यक्षहरुको भनाइ
नमराज फुयाँल
अध्यक्ष (वर्ष २०१५) नारायणगढ जेसीज
जेसीज सामाजिक संस्था हो । जेसीजको आस्थाअन्तर्गत मानवताको सेवा नै सर्वोत्तम कार्य हो भन्ने मन्यता छ । त्यसैलाई आत्मसात गर्दै हामी सामाजिक अभियानमा जुटेका छौँ । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका बेला जेसीज समुदायस्तरमा पुगेर राहत वितरण र आवास निर्माणमा समेत खटिएको ताजै छ । भूकम्प गएपछि लगत्तै हामी वैशाख १४ गते बोर्ड बैठक बसेर नारायणगढ जेसीजसहित, गीतानगर जेसीज, नारायणगढ लेडीज जेसीज, सौराहा जेसीज, रत्ननगर जेसीज, पर्सा खैरहनी जेसीजले संयुक्त अभियान चलाएर नेपाल जेसीजको सुझाव अनुसार हामीले १ लाख ११ हजार १ सय रुपैयाँ संकलन गरी केन्द्रमा पठाएका थियौँ । कविलासमा राहत वितरण, मकवनापुरको टिष्टुङको स्वास्थ्य शिविर गरिएको थियो ।
हाम्रै जेसीजको संयोजनमा चाइनामा अध्ययनरत डा. विश्वास श्रेष्ठको अगुवाईमा संकलित रकमबाट टेण्ट, म्याट्रेस, त्रिपाल लगेर काउलेमा सहयोग गरेका थियौँ भने होटल डिमामाको सहयोगमा कम्वल र खाद्यान्न वितरण गर्ने काम भएको थियो । हामीले ‘जेसीज भिलेज’ अवधारणा अनुसार दारेचोकमा भूकम्पले क्षतीग्रस्त भवन निर्माणमा सहयोग गरेका थियौँ । जेसीजकर्मीले पनि सक्दो आर्थिक सहयोग गरेका थिए । हाम्रो यो अभियानमा अन्य शुभेच्छुकले पनि सहयोग जुटाएका थिए । १४ भवन बनाउन २० लाख जति खर्च भएको थियो ।
विकट तथा चेपाङ बाहुल्यता रहेको सो क्षेत्रमा हामीले वार्षिक कार्यक्रम लैजाने अभियान थालेका थियौँ । नाकाबन्दी विरुद्ध हामीले नेपालको स्वाभिमान रक्षाका लागि विशेष कार्यक्रम पनि गरेका थियौँ । त्यो वर्ष ३१ वटा कार्यक्रम गरिएका थिए । युवाले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका पनि खेल्नुपर्छ । खेल क्षेत्रमा युवा आकर्षण छ । हामीले त्यही सोचेरै यो वर्षदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न लागेका हौँ । यसबाट हुने आम्दानी हामी जेसीज भिलेजमा शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने गरी कार्यक्रम लैजान खर्चिने छौँ । राष्ट्रियस्तरको खेललाई आगामी वर्ष पनि निरन्तर सञ्चालन गर्ने कार्य अघि बढाउने छौँ ।
विष्णु लम्साल
राष्ट्रिय अध्यक्षका सल्लाहकार, नेपाल जेसीज
जेसीज व्यक्तित्व र नेतृत्व विकास गर्ने अन्तराष्ट्रिय सामाजिक संस्था हो । नेपालमा १९६४ सालमा जेसीज स्थापना भएको हो । त्यसको ८ वर्षपछि पहिलो पटक चितवनमा समाजसेवी महोन्द्रलाल प्रधानको सक्रियतामा नारायणगढ जेसीज स्थापना भएको थियो । हाल चितवनमा ८ वटा जेसीज छन् ।
देशभर १ सय ३८ जेसीज छन् । विगतका नगरपालिका, गाविस स्तरीय जेसीज स्थापना भएका थिए । स्थानीय तहमा रुपान्तरण भएपछि एकै स्थानीय तहमा धेरै जेसीज छन् । अब कसरी समायोजन गर्ने भन्ने बहस चलेको छ । भरतपुर महानगरमा मात्रै ५ वटा जेसीज छन् । जेसीज संस्था भएकै ठाउँमा अर्को लेडीज जेसीज स्थापना गर्न मिल्छ । तर, एकै क्षेत्रमा दुई संस्था बनाउन नहुने भन्ने प्रावधान छ । हामी टोल, गाउँ स्तरमा जेसीज स्थापना गर्ने भन्दा पनि सक्षम जेसीज संस्था स्थापना गर्नुपर्छ, सबैलाई समेट्न्पर्छ भन्ने सोचले अघि बढेका छौँ । चितवनमा करिव ५ सय जेसीजमा आवद्ध छन् । नेपालमा झण्डै १२ हजार आवद्ध छन् । विश्वका १ सय २१ देशमा जेसीज संस्था स्थापना भएका छन् ।
जेसीजले सामुदाय, व्यक्तिगत, व्यवसायीक र अन्तराष्ट्रिय गरी ४ क्षेत्रमा काम गर्छ । हामी यहि क्षेत्रलाई आधार बनाएर सामाजिक कामहरु गर्छौँ । नारायणगढ जेसीजको वर्ष २०१३ अध्यक्ष भएर काम गर्दा धेरै उल्लेखनिय काम गरेको स्मरण छ । पूर्वअध्यक्ष तथा सदस्यबीच निकटता अलि कम भएको महसुस भएपछि हामीले पारिवारिक सदस्य सहित भाइचारा सम्बन्ध कायम गराउन वर्षेनी कार्यक्रम गर्ने क्रम सुरु भएको थियो । दोस्रो संविधानसभाको चुनावमा उम्मेद्वारका योजनाबारे बुझाउन हामीले भरतपुर क्षेत्र नम्बर ३ मा हामीले ‘ककस’ कार्यक्रम गरेका थियौँ । सो कार्यक्रम राष्ट्रिय स्तरबाट प्रशारण समेत भएको थियो । भित्तेपात्रो निकाल्ने, हास्यव्यङय यात्रा लगायतका नयाँ कार्यक्रम सुरु गरिए जुन अहिलेसम्म निरन्तर छन् । छरीएर रहेका जेसीजबीच हातेमालो गर्दै संयुक्त रुपमा जेसीज सप्ताह मनाउन थालेका थियौँ ।
स्थापनाको ३८ वर्षसम्म केन्द्रीय नेतृत्व नपाएपछि हामी देशभरका जेसीजकर्मीसँगको भेटघाट, अनुभव र सिकाई बुझ्दै नेतृत्व तहमा पुग्ने अभियान चलायौँ । राष्ट्रिय अध्यक्षको उम्मेद्वार बन्दा नारायणगढ जेसीज निकै चर्चामा रह्यो । राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कोषाध्यक्षमा पुग्ने अवसर मिल्यो । युवा नेतृत्वलाई संस्थागत गर्न तालिम सञ्चालन, सामाजिक अभियानमा सहभागिता गराउने लगायतका काम भएका थिए । नेपाल जेसीजले स्थानीय तह चुनाव जितेका जनप्रतिनिधिले दिएका अश्वासन पुरा गर्न स्थानीयको सुझाव सहितको अन्र्तक्रिया कार्यक्रम देशव्यापी गर्ने योजना अघि सारेका थियौँ । तर, साउन अन्तिम साता आएको अविरल वर्षाले हामी राहत तथा उद्धारमा केन्द्रीत बन्नुपर्ने अवस्था बन्यो । हामीले बाढी प्रभावितलाई तत्काल तथा दीर्घकालिन सहयोग गर्न देशभरका जेसीजसँग समन्वय पनि गरिहेका छौँ ।
नारायणगढमा हुन लागेको राष्ट्रियस्तरको जेसीज कप फुटबल प्रतियोगिता खेल क्षेत्रलाई आकर्षण बनाउन थालिएको एक नयाँ कार्यक्रम हो । झापाको सुरुङ्गा जेसीजले विगत ४ वर्ष यता सुरुङ्गा गोल्डकप गर्दै आइरहेको छ । जेसीजले जिल्लास्तरीय वा नगरस्तीय खेलकुदका कार्यक्रम आयोजना गर्ने, सहयोग गर्ने काम नगरेका होइनन् । तर, राष्ट्रियस्तरको प्रतियोगिता आयोजना आँफैमा ठुलो काम हो । चितवनमा विगतमा राष्ट्रियस्तरका प्रतियोगिता भए, तर निरन्तर हुन सकेनन् । यहाँका खेलाडीलाई प्रोत्साहनको खाँचो छ । हामीले युवालाई लक्षित गरेरै राष्ट्रिय स्तरको जेसीज कपको आयोजना गरेका हौँ । चितवनमा स्टेडीयमको पनि खाँचो छ भन्ने सन्देश देशभरी पुगोस् । नीति निर्मातालाई दबाब पुगोस् भन्ने अपेक्षा पनि हो ।
मनोजराज श्रेष्ठ
अध्यक्ष, नारायणगढ जेसीज, वर्ष २०१४
जेसीजमा लाग्ने युवाहरु सामुहिक रुपमा समाजमा विभिन्न काममा नेतृत्व लिने काम गर्छन् । जेसीजबाटै नेतृत्व लिएर धेरैले अन्य थुप्रै संस्थाको नेतृत्व लिन सफल भएका छन् । राजनीतिक दलको नेतृत्व होस् या वडातहमा हाल निर्वाचित जनप्रतिनिधि मध्ये केहि केहि जेसीजकै नेतृत्व लिएका व्यक्ति छन् । उद्योग वाणिज्सय संघमा पनि हाम्रै नारायणगढ जेसीजको अध्यक्ष भएका ६ जना अध्यक्ष बनेका थिए । जेसीजमा रहदा कुनै राजनीतिक प्रभाव रहदैन । काम गर्दा हामी जेसीज मान्यतालाई आत्मसात गर्छौँ ।
जेसीज एउटा ट्रेनिङ इन्स्टिच्युट जस्तै हो । मेरो कार्याकालमा आफ्नै शाखा र छिमेकी शाखा समेटर नेतृत्व र व्यक्तित्व विकास सम्बिन्धि धेरै तालिम सञ्चालन भएका थिए । धार्मिक क्षेत्र मुक्तिनाथमा बोर्ड बैठक बसेर आन्तरिक पर्यटन प्रवद्र्धनको काम भएको थियो । शाखाभित्रका जेसीजकर्मी बीच एक्यवद्धताको भाव विकास भएको थियो । नेपाल जेसीजको नेतृत्व नारायणगढ जेसीजबाट प्रतिनिधित्व गर्नेलाई दिलाउन थुप्रै कसरत भए । देश दौडाह भयो । यसले नारायणगढ जेसीजलाई देशभर चिनाउने मौका पायो । अरु जेसीजले गरेका सामाजिक काम नियाल्ने अवसर पनि जुटेको थियो ।
नेपाल जेसीजका ४ क्षेत्रमै हामी पुगेका थियौँ । १८ देखि ४० वर्षका युवा जेसीजमा आवद्ध हुन सक्छनु । हामीले शारदानगर गोव्रेनीमा जेसीज भिलेज मानेर हरेक वर्ष कार्यक्रम लिएर जान्थ्यौँ । सामाजिक काम गर्न पाउँदा युवामा उमंगको भाव झल्केका हुन्थे । नारायणगढ जेसीजले जेसीज कप सुरुआत गर्दै छ । यो युवा पुस्तालाई निकै राम्रो कार्यक्रम हो । कुलतमा होइन आफु परिचित हुने काममा लागौँ भन्ने सन्देश दिएको छ । राष्ट्रियस्तरको खेलले विभिन्न जिल्लाबाट यहाँ आउनेको चाप बढ्छ ।
चहलपहल बढ्छ । चितवनको पर्यटनलाई पनि सघाउँछ । स्थानीय बजारको व्यापारमा पनि सघाउँछ । जेसीजबारे बुझ्ने युवाले अवसर पनि पाउँछन् । खेलमा लाग्ने युवालाई प्रोत्साहन पनि हुन्छ । स्थापित खेलाडीका अनुभव जान्ने मौका पनि पाउँछन् । हामी जेसीज कपलाई आगामी वर्ष पनि गर्नेछौँ । यो हरेक वर्ष गर्ने र खेलको प्रवद्र्धन गर्नु हाम्रो दायीत्व हो ।
खेमराज भट्टराई
अध्यक्ष, नारायणगढ जेसीज, वर्ष २०१२
जेसीज संस्था समुदायस्तरमा घुलमिल भएको संस्था हो । हामी वर्षभरी के कस्ता कार्यक्रम गर्ने भनेर बनाइएका कार्यक्रम लिएर जान्छौँ । प्रकोपका बेला तत्काल राहत बोकेर पुग्छौं । सामाजिक अभियानमा सहकार्य गर्छौँ । समाजलाई आवश्यक सेवा र सहयोग गर्न हामी युवा मिलेर साना ठुला कार्यक्रम गर्ने गर्छौँ । हामी आन्तरिक कार्यक्रम गर्दा बाहिरबाट आर्थिक स्रोत खोज्दैनौँ । कार्यसमितिभित्रैबाट हामी आर्थिक व्यवस्थापन गर्छौँ । हामीले चलाउने सामाजिक काममा अरु संस्थासँग सहकार्य भने गर्छौँ । जेसीजमा लाग्ने धेरै युवा आफ्नै व्यवसाय, उद्योगमा लागेका छन्् । विभिन्न पेशामा आवद्ध भएका छन् । त्यसैले पनि सामाजिक काम थाल्दा आर्थिक स्रोतकै अभावमा अल्झिनुपर्ने अवस्था छैन ।
मेरो आफ्नो कार्यकालमा नारायणगढ जेसीजको सचिवालय व्यवस्थित गर्ने काम भयो । आम्दानी स्रोतका लागि १० वर्षसम्म भाडामा जेसीज भवन दिने काम भयो । जसले जेसीज भवनबाट पनि संस्थाले आम्दानी पाउन थालेको छ । कोष वृद्धिमा उल्लेख्य काम भएको छ । छलफल बैठक गर्न मिल्ने हल बनाइएका छन् । हलको पुर्नसंरचना भएको छ । वार्षिक कार्ययोजना अनुसारका कार्यक्रम सफल भएका थिए । नेतृत्व र व्यक्तित्व विकासका लागि नारायणगढ जेसीजले अगुवाई गरिरहेकै छ । नेपाल जेसीजमा राम्रो उपस्थिति छ ।
हरेक काम थाल्दा राज्यको मुख ताक्ने परिपाटी अन्त्य गर्नुपर्ने हुन्छ । काम भएन भन्दै अरुलाई दोष दिनु राम्रो होइन । युवा एकआपसमा मिलेर लाग्ने हो भने असम्भव केहि छैन । जेसीजका वर्षेनी गरिने कामले यो पुष्टि गर्छ । हाम्रो पालमा हामीले ‘राष्ट्रिय म्याराथुन’ प्रतियोगिता ग¥यौँ । भरतपुर रिंगरोडमा दोड गरिएको थियो । जेसीजकर्मी मिलेर यसपाली जेसीज कप सुरु हुदैछ । यो चितवनलाई आवश्यक प्रतियोगिता थियो । चितवनमा रंगशाला आवश्यक छ भन्ने धेरै चर्चा भए । तर, हालसम्म पुरा भएन । अब जेसीज कप राष्ट्रियस्तरको फुटबल प्रतियोगिताले यो बहसलाई फेरी माथि ल्याउने छ । खेल क्षेत्रमा लागेका युवालाई अघि बढाउन रंगशाला चाहिन्छ । खेल आयोजना युवा जसरी मिले त्यसरीनै युवा क्याम्पिङ गरेर आर्थिक स्रोत व्यवस्थापन गरि रंगशाला निर्माणमा जुट्नुपर्छ । स्थानीय तहले रंगशालाका लागि आवश्यक जग्गा र केहि बजेट दिएमा बाँकी काम युवाले गर्नेछन् । मिनी स्टेडीयम भएपनि बनाउनुपर्छ भन्ने आवाज फेरी बुलन्द हुनेछ । जेसीज कप हरेक वर्ष गरिनुपर्छ । त्यो अनुसार नारायणगढ जेसीज लागिपरेको छ ।
सेवन पन्त
अध्यक्ष (वर्ष २००४)
जेसीज युवाहरुको नेतृत्व विकासका लागि महत्वपूर्ण छ । जेसीज सामाजिक संस्था भएकोले समाजमा हुने विभिन्न घटनाहरुमा जेसीजको सहभागिता रहनु स्वाभाविक हो । खेल भनेको पनि सामाजिक अभियान नै हो । समाजिक काम नै हो । सामाजिक घटना नै हो । अहिले राष्ट्रियस्तरको प्रतियोगिता जेसीजको नेतृत्वमा गरिनु पक्कैपनि हामी यसैका अभियान्ताका लागि खुसीको कुरा हो । पहिले–पहिले चितवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता थुप्रै गरिएका थिए । यहाँ फुटबलको क्रेज छ, माहोल छ । अझै अहिले भन्दा पहिले ठूला प्रतियोगिता हुन्थे । फेरि एकपटक नारायणगढ जेसीजले यो सुरुआत गरेको निकै राम्रो काम हो । खेल विकासमा जेसीजको भूमिकालाई यसले प्रमाणित गर्छ । अर्को कुरा निकै पुरानो नारायणगढको क्याम्पाचौरको सम्बन्ध फुटबलसँग ठूलो छ । तर, यसको सुधार हुन सकेको छैन । यसमा सुधार गर्नका लागि पनि जेसीज कप र सिंगो जेसीजको भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ ।
नारायणगढ जेसीजले जिल्लामै सर्वाधिक पुरस्कार राशीको फुटबल गर्ने जुन जमर्को ग¥यो, यो सह्रानीय छ । यसमा सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । यो प्रतियोगिताको निरन्तरताको कामना पनि गर्दछु ।
सुदीप सिंह अधिकारी
नारायणगढ जेसीज स्थापना भएको ४२ वर्ष भइसकेको छ । यसबीचमा यसले आफूलाई विधिको शासनको पक्षमा, युवाहरूलाई सामुदायिक विकास र व्यावसायिक विकासमा अग्रसर गराउँदै उनीहरूको नेतृत्व क्षमताको विकास गर्दै सक्षम र सवल व्यक्तित्व निर्माण गर्ने जेसीज अभियानलाई सफलतापूर्वक निरन्तरता दिंदै आएको छ ।
यसैक्रममा यसवर्ष २०१७ का शाखा अध्यक्ष जेसी बाबुराम रामदामज्यूको कुशल र दृढ नेतृत्व र उपाध्यक्ष जेसी अमृत श्रेष्ठको समन्वयकारी संयोजनमा पहिलोपटक राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने अठोटका साथ सबै सदस्यहरू र अग्रज पूर्व अध्यक्षज्यूहरूलाई समेटेर लागि परिरहनुभएको छ । र आज भाद्र १७ गते यसले औपचारिकरूपमा सुखद सुरूआत गर्दैछ । यो सबै जेसीज अभियान्ताहरूका लागि अत्यन्तै खुसीको क्षण हो ।
पहिलो पटकको प्रयासमा नै चितवनमा हालसम्मकै सर्वााधिक पुरस्कार राशीको प्रतियोगिता आयोजना गर्न सक्नु आफैमा एउटा शुभ कार्यको रूपमा रहेको अनुभूति गरेको छु । यसका लागि सञ्चारकर्मी साथीहरूको भूमिका अत्यन्तै सहयोगी, सकरात्मक र प्रेरणादायी रहेको तथ्य सदा स्मरणीय रहिरहनेछ । सबै प्रायोजकहरू पनि यस सफलताका लागि बधाई र धन्यवादका पात्र हुनुहुन्छ । प्रतियोगिताले चितवनमा फÞुटबलको विकास र फुटबलप्रेमीको उत्कृष्ट खेल हेर्ने चाहना पूरा हुनेछ भन्ने विश्वास लिएको छु । पहिलोपटकको प्रयासमा नै नारायणगढ जेसीज पूर्ण सफल बनेर यस प्रतियोगिताका निरन्तररुपमा गरिरहने बन्न सक्नेछ भन्ने अपेक्षा पनि मैले गरेको छु ।
देवेन्द्रराज रेग्मी
शाखा प्रबन्धक, राइट एण्ड एशोसिएट प्रा.लि.
उच्च शिक्षाका लागि विदेश जाने युवा जमात अहिले पनि छ । स्वदेशमा राम्रा कलेज, विश्वविद्यालय छन् । तर, युवा चाहना र अन्य विविध कारणले युवा पढ्नका लागि विदेशिने क्रम रोकिएको छैन । हामी शैक्षिक परामर्श दिने संस्था हौं । विशेषगरी अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी भाष पूर्वतयारी कक्षा सञ्चालन भैरहेका छन् । १६ वर्षको अवधिमा यो संस्थाले १० हजार विद्यार्थीलाई सेवा दिएको छ । संस्थाको मुख्य कार्यालय काठ्माण्डौमा छ । त्यसपछि चितवन हो ।
अष्ट्रेलियाको सिड्नी, मेलवर्न, रकडेलमा (हालसालै) संस्थाका शाखा छन् । नेपालबाट हामी भाषा तयारी कक्षा सञ्चालन गर्ने, शैक्षिक परामर्श दिने काम गर्छौँ । आप्रावसन सम्बन्धि काम अष्ट्रेलियामा रहेका शाखा मार्फत हुन्छ । नेपालबाट अष्ट्रेलिया पुगेका विद्यार्थीलाई आइपर्ने समस्या हल गर्न त्यहाँ रहेका शाखाले सहजिकरणको काम गर्छन् । अष्ट्रेलिया अहिले मुख्य शैक्षिक गन्तव्य बन्दै छ । केहि वर्ष पहिलेसम्म अमेरिकनै पहिलो रोजाईमा पर्दथ्यो ।
अहिले अष्ट्रेलियानै पहिलो रोजाईमा पर्छ । त्यहाँको शैक्षिक वातावरण, अन्य सहुलियत, रोजगारीका अवसर जस्ता कारणले नेपालबाट अष्ट्रेलिया पढ्न चाहने धेरै छन् । विद्यार्थीले पालना गर्नुपर्ने केहि नियम बनाइएका हुन्छन् । अर्धमासिक रुपमा ४० घण्टा काम वैधानिक रुपमा गर्न पाउँछन् । विश्वविद्यालय, कलेजले २० देखि ४० प्रतिशतसम्म ट्युसन फिको छुट गरेका हुन्छन् । सरकारले यूएसएआईडीअन्तर्गत पूर्ण छात्रवृत्ति पनि व्यवस्था गरेको हुन्छ । पढ्ने, बस्ने, खाने सबै खर्च बेहोर्ने गरी यो छात्रवृत्ति दिइएको हुन्छ । तर यो छात्रवृत्ति लिन पढाईमा अब्बल हुनु जरुरी छ ।
अष्ट्रेलिया पढ्न जाँदा करिव ४० लाखसम्म रकम बैंकमा डिपोजिट गर्नुपर्ने हुन्छ । वा शैक्षिक कर्जा देखाउनुपर्छ । १ वर्षका लागि धान्ने खर्च व्यवस्था नगरी त्यहाँ पढ्न जान सकिदैन । नर्सिङ, एकाउण्टीङ, आइटी पढ्न जाने विद्यार्थीनै धेरै छन् । पढाईलाई निरन्तरता नदिएका विद्यार्थी पढ्न जान सजिलै पाउँदैनन् । अंग्रेजी भाष परिक्षामा ६ अंक ल्याएमा त्यस्ता विद्यार्थी अष्ट्रेलिया जना सक्छन् । अष्ट्रेलियन सरकारले शैक्षिक संस्थालाई गरेको सहयोग, नीतिले गर्दा त्यहाँ विदेशबाट पढ्न आउने विद्यार्थीको चाप राम्रो छ ।
नारायणगढमा जेसीज कप हुँदैछ । हामीले यो इभेन्टसलाई निकै सकारात्मक रुपमा हेरेका छौँ । खेल विकासका लागि स्वयम हामीनै अग्रसर बन्नुपर्छ भन्ने लाग्छ । स्थानीयस्तरमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा हामी मौन बस्नु राम्रो होइन । त्यसैले हामी पनि सहयोगी संस्थाका रुपमा छौँ । फुटबल खेलमा अन्य खेल भन्दा बढी आकर्षण छ । फुटबल खेलको विकास गर्न राष्ट्रियस्तरका खेलकुद कार्यक्रमले स्थानीय खेलाडीलाई निकै हौसला दिन्छ । सामाजिक संस्थाले थालेको यो अभियानमा हामीले पनि सहकार्य गरेका छौँ । हाम्रो संस्थाको बजारीकरण भन्दा पनि खेलमा युवा आकर्षणकै लागि हामीले हातेमालो गरेका हौँ । यस्ता प्रतियोगिता आगामी दिनमा पनि चलाइनुपर्छ । खेलाडीलाई सम्मान गर्ने वातावरण बन्नुपर्छ । चितवनपनि खेलका माध्यमले चिनिने अवस्था सृजना हुनपर्छ ।