काठमाडौँ, ५ भदौ ।
सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनको वुहानबाट १८७ नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको जनाएको छ । २०७६ फागुन ४ देखि २० सम्म १७ दिनका लागि सेनाले क्वारेन्टाइनमा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो ।
चीनबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकहरूलाई नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा क्वारेन्टिन निर्माण, निर्मित क्वारेन्टिनका लागि आवश्यक सामग्री खरिद, उक्त ठाउँमा इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत शहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारले २०७६ माघ २७ गते वुहानबाट नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । त्यसबेला हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो ।