धनराज गिरी बहुमुखी प्रतीभाका धनी छन् । विशेषगरी गजल र कथामा कलम चलाउँदै आएका गिरी साहित्यका सबैजसो विधामा निपूण देखिन्छन् । समसामयिक लेखनमा रुचि राख्ने उनी आफ्नो लेखनमा कटाक्ष मिसाउनु खप्पिस मानिन्छन् । यिनी पुस्तक अध्ययन र समीक्षा गर्नमा पनि उत्तिकै सक्रिय देखिन्छन् । उनी किताब पढ्न पनि उत्तिकै रुचि राख्छन् । पुस्तक पढ्ने रुचिबारे लेखराम सापकोटाले उनलाई १० प्रश्न गरेका छन् :
१) अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म विधान आचार्यको कविता संग्रह र डा. रेणुका सोलुको नयाँ उपन्यास ‘भिरमह’ पढ्दैछु । साथमा नरेन्द्रराज पौडेलको कथासंग्रह ‘रोबोटका आँखा’ सहित नयाँ पुराना ६-७ वटा पुस्तक लाइनमा छन् ।
२) पुस्तकको छनोट कसरी गर्नुहुन्छ ?
अहिले सामाजिक सञ्जाल र मिडियाले धेरै सजिलो बनाइदिएको छ । साथमा व्यक्तिगत सम्पर्क, चिनजान र आफ्नो रुचिको आधारमा पुस्तक छनोट गर्छु ।
३) प्रायः कुन समयमा पुस्तक पढ्नुहुन्छ ?
खासै यही समय भनेर छैन । तर, फेसबुकले फुर्सद दिंदा पढ्छु ।
४) कुनै पुस्तकले जीवन नै परिवर्तन गराइदिएको छ ?
धेरै छन् । महाभारत, रजनीशको शिक्षामा क्रान्ति मेरा लागि मुख्य हुन् ।
५) बेकार लागेको कुनै पुस्तक छ ?
म कुनैपनि पुस्तकलाई बेकारको श्रेणीमा राख्दिनँ ।
६) पढ्न चाहेर पनि नपाएको कुनै पुस्तक छ ?
त्यस्ता धेरै पुस्तक छन् ।
७) पुस्तकमा सबैभन्दा मन परेको पात्र कुनै छ ?
महाभारतमा विदुर र कम्प उपन्यासमा चित्राङ्दा सबैभन्दा मन परेका पात्र हुन् ।
८) सबैभन्दा बढी प्रभावित पारेको पुस्तक ?
‘महाभारत’ र ’अन्तर्मनको यात्रा’ । नीलम कार्की निहारिकाको चीरहरणले पनि प्रभाव जमायो ।
९) पुस्तक पढिसकेपछि भेट्न मन लागेको लेखक छन् ?
पागलबस्ती पढेपछि दाजु सरुभक्तलाई भेट्ने इच्छा पलायो । र भेटें पनि ।
१०) पाठकलाई कुन–कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
जगदीश घिमिरे, शारदा शर्माका पुस्तकहरु र महाभारत जीवनमा एकपटक पढ्नैपर्छ । भिरमह पनि सबैले पढून् ।