भरतपुर, ३ भदौ ।
जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी रहेको आधा (करिब ८ लाख ७ हजार डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको बताएको हो ।
विभिन्न खेपमा जापान सरकारले कूल १६ लाख १४ हजार ७४० मात्रा खोप सहयोग गर्न लागेको हो । त्यसमध्ये पहिलो खेपमा साउन २३ र २४ गते करिब ८ लाख मात्रा खोप काठमाडौं आइपुगेको थियो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त विज्ञप्तिमा खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतीक भएको बताएका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकरले दिएको हो । जापानले दिएको खोप अक्सफोर्ड एस्ट्राजेनेका फर्मुलामा आधारित जापानमै उत्पादन गरिएको खोप हो ।