धनराज गिरी
भन्न त गजलकार ‘जे सागरले यति भए पुग्छ ?’ भनेर एउटा गजलसंग्रह प्रकाशित गरे ।
यो भाग्यमानीले भूमिका मात्र लेखेन, २२ गते शनिबार सर्वनाम थिएटरमा गएर विशिष्ट अतिथि बनी केही बोल्यो पनि । स्वयं भूमिका लेखकले अब के लेख्ने ? म पनि यति भए पुग्छ भनेर मौन बसेको भए हुने । तर, यो मन माने पो ! त्यही भएर सागरलाई महासागरभन्दा बढी स्नेह दिन म फेरि बर्बराउन आएँ । उनको किताब ‘सर्वश्रेष्ठ बुक सेलर’ लेखराम सापकोटाको सुनगाभामा पुगेर लिन सकिन्छ । महँगो छैन । जम्मा रु. १५० ।
जे सागरको गजलसंग्रह औसत होइन । हुन त हरेक सिर्जना आफैमा एउटा फूल हो र हरेक फूलको आफ्नै सौन्दर्य हुन्छ, सुगन्ध हुन्छ । तैपनि तुलना नगर्दा नगर्दै तुलना गर्न पुग्छौं हामी । जे सागर राम्रोसित गजल बुझेर बनेका गजलकार हुन् । म यहाँ उदाहरणका लागि भनेर उनका गजलहरु उल्लेख गर्ने छैन । न्याय हुन्न । किताब किनेर पढ्न अनुरोध छ । रु. १५० खेर गएको ठान्ने पाठकलाई म रु. ३०० दिनेछु, व्याजसहित ।
रदिफ चयनमा जे. सागर माहिर छन् । उनको एउटा रदिफ प्रयोग गरेर मैले पनि गजल लेखें । गजल मर्मज्ञहरुको नजरमा जे. सागर एक आशालाग्दो ‘तारा’ हुन् । खाडीमा उनले लक्ष्मीको मात्र आराधना गरेनन्, सरस्वतीको पनि बन्दना गरे । मलाई मेरा सन्तानले जस्तै मेरा चेलाचेलीहरुले सरह विश्वास गरे । मुहार पुस्तिकामा परिचय भएको भरमा कसैमाथि यति धेरै भरोसा गर्नु एउटा जोखिम हो ।
‘डर के आगे जीत है’ भनेझैँ यी भद्र युवकले ‘इनास’ मार्फत विदेशमा रहेर साहित्यिक अभियान्ताको काममात्र गरेनन्, आफू पनि सर्जक बने । ‘मुदिर’ पढेर सातो गएको हामीजस्ता नेपाली नागरिक जे. सागरजस्ता युवाको उज्यालो अनुहार हेरेर सन्तोषको सास लिने गर्दछौं । गजलकार मात्र होइनन् सागर, उनीभित्र पर्याप्त हाँस्य चेत पनि छ । उनका बेलामौकाका पोष्ट पढेर म एक्लै हाँसेको छु । यी होनहार युवकले यही जाँगर देखाउँदै गएमा यिनलाई युगले अझै मान्नेछ ।
के छ त यिनको गजलमा ? यो सोध्नुभन्दा के छैन र भने उत्तम । जीववनको हरेक रंग समेटिएको छ र छ सत्यम् शिवम् सुन्दरम । झूट बोल्न माहिर छोरी किन यस्ती भई भनेर अनुसन्धान गर्दा छिमेकमै सांसद्को घर अनि ? अरु पनि धेरै छन् । यो सानो टिप्पणी हो ।
यसर्थ जे. सागरको कलमको शक्ति थाहा पाउन एकपटक सुनगाभा बुक हाउस पुगेर रु. १२० तिर्न (२० प्रतिशत छुट) म आदरणीय पाठकहरु, गजलप्रेमीहरुलाई हार्दिक अनुरोध गर्दछु । बधाई, जे. सागर ! श्रीमन् नारायण ।