विप्लव काफ्ले/कायाकैरन
भरतपुर,३० वैशाख ।
वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको चुनाव हुँदैछ । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर)को दौडमा १४ जना र उपप्रमुख (उपमेयर) पदमा ११ जनाको नाम छ । तिनीहरुमध्ये एकजना मेयर र एकजना उपमेयर चुनाव जितेर आउने छन् ।
महानगरका २९ वडामा गरी कूल १ सय ५० जना जनप्रतिनिधि चयन हुँदैछन् । स्थानीय तहको चुनाव लगत्तै ७८ जनाको नगरसभाको गठन हुनेछ । सामान्य अवस्था भएमा चुनाव सकिएको करिब दुई दिनभित्रै जनप्रतिनिधिको टुंगो लाग्नेछ । त्यसलगत्तै मेयर र उपमेयरलाई स्वागत गर्न भरतपुर महानगरपालिका कार्यालय धमाधम सिंगारिदै छ ।
निर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्न महानगरको करिब तीन दशक पुरानो मुख्य भवनलाई चिटिक्क पारिदैछ । भित्री कोठामा रंगरोगन र सजावटका काम हुँदैछन् । भुइँमा मार्वल बिछ्याइएको छ । सामान्य र पुरानो सभाहल फुटाएर अत्याधुनिक बनाइदै छ । त्यसमा एसी हुनेछ । इमर्जेन्सी एक्जिटको व्यवस्था हुनेछ । प्रविधियुक्त हुनेछ ।
भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले विगतमा मेयर तथा उपमेयरका लागि छुट्टै कोठा नभएकाले व्यवस्थापन गरिएको बताए । उनका अनुसार भुइँतलाबाट १८ महिना पहिला पहिलो तलामा सारिएको कार्यकारी अधिकृतको कार्यकक्ष पुनः साविककै स्थानमा झारिदै छ । हाल रहेको कार्यकारी अधिकृतको एसीसहितको कार्यकक्ष मेयरका लागि तयार गरिएको छ । उपमेयरको कार्यकक्ष पहिलो तलामा रहेको मिटिङ हललाई निर्धारण गरिएको छ । “कार्यकक्ष व्यवस्थापन गर्नु नै थियो, हामीले गरेका हांै”, उनले भने, “कार्यालय भवन मर्मत, सभाहल निर्माण पुरानै योजना हुन्, नयाँ होइनन् ।” भुइँतलामा कार्यकारी अधिकृतको कक्ष लगिएपछि योजना तथा वातावरण शाखाका वरिष्ठ ईञ्जिनियरको कार्यकक्षलाई त्यसअघिको कोठामा सारिएको छ । आकर्षक सोफा, कार्पेटलगायत सामग्री मेयर तथा उपमेयरको कार्यकक्षमा राखिदै छन् ।
“नियमित प्रक्रियाकै रुपमा कार्यालयमा मर्मत गरिएको हो”, भरतपुर महानगरपालिकाका वरिष्ठ ईञ्जिनियर भरतकुमार आचार्यले भने, “आन्तरिक स्रोतबाट रंगरोगन तथा फ्लोरिङ(मार्बल) को काम गरिएको हो ।” कार्यकक्ष सजावट, रंगरोगन तथा मर्मतका लागि करिब १० लाख खर्च हुँदैछ । विगत ४ वर्षयता मर्मतका काम नभएकाले यसपालि मर्मतको काम भएको उनले बताए । भुइँतलामा रहेको सामान्य सोधपुछ कक्षलाई आकर्षकरुपमा बनाउने काम हुँदैछ । पहिलो तलामा रहेको पुरानो सभाहललाई स्तरोन्नतिको काम भइरहेको छ ।
“वातवरण अनुकूलको सभाहल बनाउने काम जारी छ”, उनले भने, “आकर्षक डिजाइनको सभाहल बन्दैछ, एसी, राम्रो साउण्ड सिष्टम, इमरजेन्सी ढोकासहितको सभाहल बन्दैछ ।” सभाहल बनाउन करिब २१ लाख लाग्ने अनुमान गरिएको छ । टेण्डर प्रक्रियामार्फत मर्मत तथा निर्माणको काम हुँदैछ ।
कार्यालयको विकल्प
कविलास गाविस, साविक चित्रवन नगररपालिका र नारायणी नगरपालिकासमेत मिसाएर महानगरपालिका कायम गरिएपछि मुख्य कार्यालय कहाँ बनाउने भन्ने चर्चा सुरु भएको छ । कविलासदेखि गोलाघाटसम्मका भूभागलाई केन्द्रभागमा हुने गरी महानगरको मुख्य कार्यालय स्थापना गर्नुपर्ने आवाज उठेको छ । यद्यपि महानगरको चुनावी मैदानमा होमिएका उम्मेद््वारले योबारे आफ्नो धारणा राखेका छैनन् । हालको मुख्य कार्यालय रहेको क्षेत्र जम्मा साढे दुई विघामा फैलिएको छ ।
तीन तले मुख्य कार्यालय भवन, कर तथा योजनाको काम हुने नयाँ भवन, वारुणयन्त्र शाखा भवन, कार्यकारी अधिकृतको क्वाटर, पुराना फाइल तथा नक्सा राख्ने भवन जस्ता संरचना छन् । तत्कालीन नगरपालिकाका संस्थापक वरिष्ठ लेखा अधिकृत ईश्वरीप्रसाद कँडेल हालको मुख्य कार्यालय भवन उचित ठाउँमा रहेपनि सबै वडाको केन्द्रमा पर्न नसक्ने तर्क गर्छन् ।
“टिनको छानोमुनिबाट नगरपालिकाको सेवा सुरु भएको थियो, केही वर्ष भाडाका घरमा बसेर पनि काम भए”, विगत स्मरण गर्दै उनले भने, “उच्च भागमा कार्यालय भवन छ, पर्याप्त जग्गा छैन, अब विकल्प सोच्नुपर्छ ।” तत्कालीन सिंचाई कार्यालयका ईञ्जिनियरको डिजाइनमा हालको मुख्य कार्यालय भवन बनेको थियो । बहुदल आएपछि नगरपालिकाको स्तरीय कार्यालय भवन बनेको उनी बताउँछन् । विकासमा धेरै पछि परेका क्षेत्रदेखि व्यापारिक केन्द्रका रुपमा स्थापित क्षेत्र महानगरमा छन् । “सबैलाई केन्द्रमा पार्ने गरी कार्यालय भवन राख्नुपर्छ”, उनले भने, “यहाँका दल, नागरिक समाज योबारे पक्कै बोल्नेछन् ।”
जिल्लामा क्रियाशील दलसँग महानगरपालिकाले मुख्य कार्यालय भवन स्थानान्तरणबारे चासो लिएको थियो । तर, दलहरुले जनप्रतिनिधि आएपछि नै टुंगो लगाउने प्रतिक्रिया दिएका थिए । महानगरको मध्य भागमा रहेको साविक चित्रवन नगरपालिका कार्यालय भवन बनिसकेको छ । साविक नारायणी नगरपालिकाले पनि कार्यालय भवन बनाउने योजना अघि सारेको थियो ।
२०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायत बनाइएको थियो । २०४८ मा भरतपुर नगरपालिका कायम भएको थियो । २०७१ मंसिरमा सरकारले तत्कालीन ५ गाविस समेटेर भरतपुर उप–महानगरपालिका बनाएको थियो । गत फागुनमा सरकारले साविक दुई नगरपालिका र कविलास समेटेर महानगरपालिका कायम गरेको हो । महानगरपालिकाका हालका केही वडा कार्यालय भवन जीर्ण छन् । गौरीगञ्ज, टाइगरचोक, भोजाड, मुनालचोकका वडा कार्यालय भवन तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् । वडातहबाटै विगतभन्दा धेरै सेवा वितरण तथा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ ।
नयाँ संविधानमा नै व्यवस्था भएर बनेको नयाँ राज्य संरचनाअनुसार स्थानीय तहको निर्वाचन भएपछि सिंहदरबार केन्द्रित कयौं अधिकार स्थानीय तहमै आउँदैछन् । महानगरपालिकाबाट कार्यान्वयन हुने कयौं काम पनि वडातहमै गरिनेछन् । सोहीअनुसारका काम गर्न पर्याप्त भौतिक पूर्वाधार बनाउनुपर्ने देखिन्छ ।